लगानी बोर्डको कार्यप्रगतिबारे सिईओ भट्टद्वारा प्रधानमन्त्रीसमक्ष जानकारी प्रदान
काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष हालसम्म भएको कार्यप्रगतिबारे जानकारी गराएका छन् । लगानी बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज लगानी बोर्डको कार्यालयमा भएको अन्तर्क्रियामा सिईओ भट्टले सहजीकरण भइरहेका सार्वजनिक निजी साझेदारी तथा निजी लगानीका परियोजनाहरूको प्रगति तथा सम्पादित कार्यहरूको सम्बन्धमा जानकारी दिए । प्रधानमन्त्री दाहालले उक्त परियोजनाका विकासकर्ताहरूसँग समेत भेटघाट र अन्तर्क्रिया गरे ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५ तथा रणनीतिक योजनाले निर्दिष्ट गरेअनुरूप परियोजना विकास तथा व्यवस्थापन, लगानी प्रवर्धन, संस्थागत विकास र समन्वय, सहकार्य र साझेदारीका सम्बन्धमा प्रधानमन्त्रीसमक्ष जानकारी गराएका थिए ।

अन्तर्क्रियाका क्रममा अरुण तेश्रो तथा तल्लो अरुण जलविद्युत परियोजना, होंसी तथा हुवासिन सिमेन्ट नारायणी परियोजना, माथिल्लो कर्णाली जलविद्युत परियोजना, माथिल्लो मस्र्याङ्दी–२ अर्धजलाशययुक्त जलविद्युत परियोजना, पश्चिम सेती जलाशययुक्त र सेती नदी–६ अर्धजलाशययुक्त जलविद्युत परियोजना, माथिल्लो त्रिशुली–१ जलविद्युत परियोजना, डाबर नेपाल, चीन-नेपाल मैत्री औद्योगिक पार्क परियोजना, मुक्तिनाथ केवलकार परियोजनाका विकासकर्ताले परियोजनाका प्रगति, कार्यान्वयन तथा प्रमुख चुनौतीका बारेमा संक्षिप्त जानकारी गराएका थिए ।
कार्यक्रममा प्रधानमन्त्रीले परियोजना निर्माण कार्य निरन्तर अगाडि बढाउन र तोकिएकै समयमा सम्पन्न गर्न लगानी बोर्ड तथा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग तथा समन्वय हुने कुरामा सबै विकासकर्तालाई आश्वस्त हुन र लगानी बोर्डको भावी कार्यसम्पादनका सम्बन्धमा कार्यालयलाई विशेष निर्देशन दिए ।
प्रकाशित समय १९:१४ बजे




















