नेपाल टेलिकमको प्रिपेड रोमिङ सेवा अब ६२ देशमा
काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको प्रिपेड रोमिङ सुविधा अब ६२ देशमा प्रयोग गर्न सकिने भएको छ । यसका लागि ती देशका ८९ सेवा प्रदायकसँग नेपाल टेलिकमले सम्झौता गरेको छ । चालु आर्थिक वर्षको साउन महिना पश्चात लाटभिया, स्लोभेनिया, टर्की, ताइवान–आरओसी, घाना, रोमानिया र लाओसका विभिन्न सेवाप्रदायकसँग र पाकिस्तान, बेलारुस र श्रीलंकाका थप सेवाप्रदायकसँग यसका लागि सम्झौता भएको छ ।
नेपाल टेलिकमले पहिलेदेखि नै अन्य विभिन्न देशहरुमा यो सुविधा उपलब्ध गराइरहेको छ । अष्ट्रेलिया, अष्ट्रिया, बहराइन, बंगलादेश, बेल्जियम, बेलारुस, बुल्गेरिया, क्यानडा, चीन, क्रोएसिया, साइप्रस, डेनमार्क, इजिप्ट, जर्मनी, घाना, ग्रीस, हङकङ, हंगेरी, आइसल्यान्ड, भारत, इन्डोनेसिया, आयरल्यान्ड, इजरायल, इटाली, जापान, कजाकस्तान, कुवेत, लाटभिया, लिच्टेन्सटाइन र लक्जेम्बर्गमा रोमिङ सेवा प्रयोग गर्न सकिन्छ । त्यसैगरी मलेसिया, मकाउ, माल्टा, मौरिसस, मेक्सिको, म्यानमार, नेदरल्यान्ड, न्युजिल्यान्ड, नर्वे, ओमान, पाकिस्तान, फिलिपिन्स, पोर्चुगल, कतार, रोमानिया, रसिया, साउदी अरेबिया, सिंगापुर, स्लोभेनिया, दक्षिण कोरिया, श्रीलंका, स्विडेन, स्विजरल्यान्ड, ताइवान-आरओसी, थाइल्यान्ड, टर्की, युएई, युके, युएसए, उज्वेकिस्तान, भियतनाम र लाओसमा समेत रोमिङ सेवा सेवा प्रयोग गर्न सकिन्छ । रोमिङ सेवा अन्तर्गत भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सकिन्छ । आगामी दिनमा क्रमशः अन्य देशहरुमा समेत यो सेवा उपलब्ध हुनेछ ।
नेपाल टेलिकमले विदेशमा जाने वा बस्ने नेपालीहरुलाई लक्षित गरी उपलब्ध गराएका विभिन्न सेवा मध्ये रोमिङ सेवा निकै नै उपयोगी छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि नेपाल टेलिकमले भारत बाहेक माथि उल्लिखित अन्य देशमा रोमिङ सेवा स्वतः सुचारु हुने सुविधा उपलब्ध गराएको छ । भारतका लागि चाहिं आफ्नो मोबाइलबाट *1415*7# डायल गरी मेनुमा गएर ‘रोमिङ’ विकल्प छान्नुपर्ने हुन्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताको हकमा सेवा सुचारु गर्न मोबाइलमा कम्तिमा पाँच हजार रुपैंया ब्यालेन्स रहेको हुनुपर्छ । प्रयोगकर्ता नेपालमा भएको अवस्थामा आफ्नो मोबाइलबाट *1415*7# डायल गरी सेवा सुचारु गर्न सकिन्छ ।
नेपालमा भएको समयमा रोमिङ सेवा एक्टिभ नगरी विदेश गएमा त्यहीबाट पनि यो सेवा एक्टिभ गर्नको लागि इमेल मार्फत अनुरोध गर्न सकिन्छ । यसका लागि सबैभन्दा पहिले नेपाल टेलिकमको वेबसाइटमा रहेको डाउनलोड लिंक (https://www.ntc.net.np/downloads) अन्तर्गत ‘इन्टरनेशनल रोमिङ’मा क्लिक गरी प्रिपेड रोमिङ रजिष्ट्रेशन फर्म डाउनलोड गरी रीतपूर्वक फारम भरिसके पछि आफ्नो नागरिकता वा पासपोर्टको प्रतिलिपि र भरिएको फारमलाई roamimg.support@ntc.net.np मा इमेल गर्नुपर्छ । यसरी इमेल मार्फत प्राप्त भएको सेवा एक्टिभेसन अनुरोधलाई नेपाल टेलिकमको रोमिङ सपोर्ट टिमले प्रमाणिकरण गरी (अनुरोधकर्ताको नाम, ठेगाना लगायत अन्य विवरण कम्पनीको सिस्टममा उपलब्ध विवरणसँग मेल खाने-नखाने यकिन गरी) नियमपूर्वक अनुरोध प्राप्त प्रिपेड मोबाइलमा रोमिङ सेवा उपलब्ध गराइन्छ ।
सामान्यतया, रोमिङ सेवा सक्रिय भइसकेपछि ग्राहकको मोबाइल स्वचालित रूपमा विदेशी नेटवर्कमा ‘ल्याच’ हुन्छ । भारत बाहेक अन्य देशहरूमा सोही देशको मोबाइल नेटवर्कमा स्वतः रूपमा कनेक्ट हुन्छ । भारतमा भने प्रिपेड तथा पोष्टपेड दुवै मोबाइल प्रयोगकर्ताले म्यानुअल रूपमा नै नेटवर्क चयन गर्नुपर्ने हुन्छ । अन्य देशमा पनि यदि स्वतः रूपमा कनेक्ट भएन भने, मोबाइल सेटको सेटिङमा गएर ‘मोबाइल नेटवक्स’ मा ‘सर्च नेटवक्स-सेलेक्ट करियर’ गरी आफूले नै नेटवर्क छान्न सकिने नेपाल टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले उल्लेख गरेका छन् ।
प्रकाशित समय १४:१८ बजे




















