मध्यपूर्वमा रहेका नेपालीलाई शतर्क रहन मियाँको आग्रह
दोहा । इरानमाथि इजरायल र अमेरिकाले संयुक्तरुपमा आक्रमण गरेपछि इरानले समेत अमेरिकी बेसहरु रहेका देशलाई निशाना बनाएर प्रत्याक्रमण गरेको छ । त्यसरी प्रत्याक्रमण गर्दा कतारमा समेत आक्रमण गरेको कतारस्थित अन्तर्राष्ट्रिय मानवअधिकार संगठन कतार च्याप्टरका अध्यक्ष प्रोफेसर मोहम्मद रमजान अली मियाँले जानकारी दिंदै सुरक्षित, संयमित र सचेत रहन विशेष अनुरोध गर्नुभएको छ ।
मियाँले भन्नुभएको छ- ‘हाल मध्यपूर्वमा सुरक्षा अवस्था संवेदनशील छ । हामी सबैले उच्च शतर्कता अपनाउनु अत्यन्त जरुरी छ । धैर्य, संयम र आत्मविश्वास कायम राख्नुहोस् । कतारको कानून र सरकारी निर्देशनहरू पालना गर्नुहोस् । अफवाह फैलाउने वा तनाव बढाउने सामग्री शेयर नगर्नुहोस् । अनावश्यकरूपमा घरबाहिर ननिस्कनुहोस् । आफ्नो राजदूतावास, जिल्लावासी र सामाजिक संघ-संस्थासँग सम्पर्कमा रहनुहोस् । परिवारजनसँग नियमित सम्पर्कमा रही आफ्नो अवस्थाबारे जानकारी गराइ रहनुहोस् ।’
कतार भिसाका बारेमा जानकारी दिंदै मियाँले भन्नुभएको छ- ‘गृह मन्त्रालयले सबै प्रवेश भिसाहरूको अवधि फेब्रुअरी २८ देखि एक महिनाका लागि विस्तार गरेको छ । यो इलेक्ट्रोनिकरूपमा निःशुल्क हुनेछ, नयाँ आवेदन आवश्यक छैन । फेब्रुअरी २८ अघि भएको उल्लंघन (ओभरस्टे) को जरिवाना तिर्नै पर्नेछ ।’
कतार एयरवेजको बारेमा जानकारी दिंदै मियाँले भन्नुभएको छ- ‘२८ फेब्रुअरीदेखि १० मार्च २०२६ बीच पक्का बुकिङ भएका यात्रुहरू मिति परिवर्तन १४ दिनभित्र निःशुल्क गर्न वा प्रयोग नगरिएको टिकट फिर्ता माग्न सक्नेछन् । ४८ घण्टाभित्र यात्रा गर्ने यात्रुहरू एयरलाइन्ससँग सम्पर्क गर्नुहोस्, अन्यले अनलाइन व्यवस्थापन गर्न सक्नेछन् ।’ ‘कठिन समय सधैं स्थायी हुँदैन । हामी सजग, संयमित र एकताबद्ध भएर सुरक्षित रहौं, सकारात्मक सोच राखौं र परिवार तथा साथीहरूलाई जानकारी गराइ रहौं’ मियाँले भन्नुभएको छ ।
आक्रमणको चौतर्फी निन्दा
हाल मध्यपूर्वीय क्षेत्रमा सुरक्षा अवस्था संवेदनशील रहेको छ । यसबीच कतारमाथि गरिएको बिनाकारण प्रहार र आक्रमणको हामी स्पष्ट शब्दमा निन्दा गर्दछौं । कुनै पनि सार्वभौम राष्ट्रमाथि गरिने आक्रमण केवल भौतिक संरचनामा मात्र नभई त्यस देशका लाखौँ निर्दोष नागरिकको जीवनमाथि पनि जोखिम ल्याउँछ । यद्यपि यस्तो परिस्थितिमा पनि कतार सरकारले आप्रवासीहरूको जिउ-ज्यानको सुरक्षा सुनिश्चित गर्न उच्च शतर्कता अपनाएको छ । सुरक्षाका आवश्यक प्रबन्ध मिलाइएका छन्, नियमित आधिकारिक सन्देश प्रवाह भइरहेको छ र नागरिकलाई सुरक्षित राख्न कुनै कसर बाँकी छैन । हामीले पनि अनुभव गरेका छौं । कतार सरकारले आप्रवासीहरूको सुरक्षामा कुनै कमी गर्न दिएको छैन ।
नागरिकका रूपमा हाम्रो दायित्व पनि छ । कतार सरकारले जारी गरेका निर्देशन, नियम र कानूनहरूको पूर्ण पालना गर्नु जरुरी छ । सुरक्षित र शतर्क रहँदै आफ्नो कर्मभूमिप्रति जिम्मेवार व्यवहार देखाउनु आवश्यक छ । अनावश्यक हल्ला, अपुष्ट समाचार, भ्रामक तस्वीर वा भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्नु, आधिकारिक स्रोतबाट मात्र सूचना लिनुपर्छ ।
सकेसम्म घरभित्रै सुरक्षित रहनु पर्छ । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनू । शंकास्पद वस्तु देखिएमा तुरुन्त सुरक्षा निकाय वा आपतकालीन नम्बर ९९९ मा जानकारी दिनु । अनावश्यक भीडभाड तथा जमघट नगर्नु, आक्रमणका दृश्यहरूको भिडियो खिचेर सामाजिक सञ्जालमा नराख्नु, खाद्यान्न र दैनिक उपभोग्य सामग्री भण्डारण नगर्नु, कुनै पनि प्रकारको सभा, सम्मेलन वा इफ्तार पार्टी नगर्नु नै उत्तम हो । यी सबै उपायहरू हाम्रो आफ्नै सुरक्षाका लागि हुन् । संयमता नै सबैभन्दा ठूलो शक्ति हो ।
मध्यपूर्वमा हालको अवस्था
क्षेत्र उच्च शतर्कताको अवस्थामा छ, विशेष गरी इरान र इजरायलबीच बढ्दो तनावको स्थिति छ । मिसाइल र ड्रोन आक्रमण प्रयास भए पनि अधिकांश प्रतिरक्षा प्रणालीमार्फत निष्क्रिय बनाइएका छन् । खाडी राष्ट्रहरू (कतार, साउदी, यूएई) सुरक्षा संयन्त्र सक्रिय राखेका छन् । आक्रमणहरू मुख्यतः रणनीतिक-सैन्य लक्ष्यमा केन्द्रित, मानवीय क्षति सीमित छ । आर्थिक क्षेत्रमा तेल बजारमा उतार-चढाव र अन्तर्राष्ट्रिय उडानमा सावधानी अपनाइएको छ । कूटनीतिक तहमा तनाव कम गर्ने प्रयास जारी छ । स्थिति पूर्ण युद्धमा रूपान्तरण भएको छैन, तर संवेदनशील र अनिश्चित चरणमा छ ।
नेपाली समुदायका लागि सूचना
नेपाली राजदूतावास कतार र गैरआवासीय नेपाली संघ कतारले समय-समयमा आधिकारिक सूचना र सम्पर्क नम्बरहरू उपलब्ध गराइरहेका छन् । सम्पर्क विवरण सुरक्षित राख्न र आवश्यकता पर्दा प्रयोग गर्न अनुरोध अनुरोध गरिएको छ । केही अप्ठ्यारो परेमा अथवा आपतकालीन अवस्था परेमा सम्पर्क गर्न सकिनेसमेत मियाँले जानकारी दिनुभएको छ ।
प्रकाशित समय १७:३६ बजे


















