अतिक्रमणको चपेटा : बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित गडविजुला ताल दुई स्थानीय तहबीचको खिचातानी र संरक्षणको अभावमा अस्तित्व संकटमा परेको छ । वर्षौँदेखि चलिआएको सीमा विवादका कारण तालको संरक्षण हुन नसक्दा यो प्राकृतिक सम्पदा अतिक्रमणको चपेटामा परेको हो ।
कुनै समय २२ बिगाहा क्षेत्रफलमा फैलिएको यो विशाल ताल अहिले करिब पाँच बिगाहामा मात्र सीमित भएको छ । संरक्षणको अभावमा तालको ठूलो हिस्सा पुरिँदै गएको छ भने बाँकी भागमा मानवीय अतिक्रमण तीव्र बनेको छ । स्थानीय लालसिंह बोहराका अनुसार ताल कुन पालिकाको भूगोलमा पर्छ भन्ने प्राविधिक टुङ्गो नलाग्दा ताल संरक्षणमा अबरोध सृजना भएको छ ।
‘ताल कृष्णपुर नगरपालिका-२ मा पर्छ कि लालझाडी गाउँपालिका-५ मा भन्नेमा दुवै पालिकाको आ–आफ्नै दाबी छ,’ बोहराले भन्नुभयो, ‘स्वामित्वका लागि छिनाझपटी गर्ने तर संरक्षणमा सिन्को नभाँच्ने प्रवृत्तिका कारण तालको अस्तित्व नै मेटिन लागेको छ ।’
तालको पूर्वतर्फको जग्गामा ५० भन्दा बढी परिवार बसोबास गरिरहेका छन् । अतिक्रमण गरिएको तालको जग्गामा खेतीपातीको कार्य गरिदै आएको छ । विसं २०५४ साल पछि ताल वरिपरि बस्ती बाक्लिँदै जाँदा अतिक्रमणको श्रृङखला सुरु भएको स्थानीयको भनाइ छ । स्थानीय गोपालसिंह महराका अनुसार तालको जग्गा मिचेर खेती गर्ने क्रम बढेपछि ताल पुरिने कार्य तीव्र भएको छ । ‘पहिले यो ताल निकै गहिरो र सफा थियो, अहिले त खेतजस्तै देखिन थालेको छ’, महराले दुःख व्यक्त गर्नुभयो । तालको क्षेत्रफल घट्दै जाँदा यसले आसपासको भूमिगत जलस्तरमा समेत नकारात्मक प्रभाव पारेको छ ।
प्राकृतिक तालको विनाशसँगै यहाँको जैविक विविधता पनि लोप हुने अवस्थामा पुगेको छ । सिमसार क्षेत्रमा आश्रित जलपक्षी र अन्य जीवजन्तुको बासस्थान संकटमा परेको छ । स्थानीय भजनी रानाका अनुसार केही वर्ष अघिसम्म हिउँदको समयमा तालमा देखिने गरेका विभिन्न प्रजातिका चराचुरुङ्गीहरू अहिले बस्तीका कारण देखिन छाडेका छन् । पानीको स्रोत सुक्दै जाँदा ताल वरपरको पारिस्थितिक प्रणाली नै खल्बलिन पुगेको छ ।
देश संघीय संरचनामा जानुअघि तत्कालीन जिल्ला विकास समिति कञ्चनपुरले यो ताललाई ठेक्कामा लगाएर आम्दानी गर्दै आएको थियो । प्राकृतिक स्रोतहरू स्थानीय तहको मातहतमा आएपछि दुवै पालिकाले यसलाई आफ्नो आयस्रोत को माध्यम बनाउन खोजे पनि जिम्मेवारी लिन भने आनाकानी गरिरहेका छन् । सीमा विवाद सुल्झाउन जिल्ला समन्वय समिति कञ्चनपुरले पटक-पटक पहल गरे पनि ठोस उपलब्धि हुन सकेको छैन । जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराका अनुसार दुवै पालिकाका जनप्रतिनिधिहरूसँग पटक-पटक बैठक बसे पनि कार्यान्वयनको पक्ष फितलो देखिएको छ ।
‘दुवै कार्यपालिकाबाट प्रतिनिधि तोकेर जग्गा नापजाँच गर्ने र विवाद टुङ्ग्याउने सहमति गराएका थियौँ,’ प्रमुख बोहराले भन्नुभयो, ‘तर सहमतिमा हस्ताक्षर गर्ने तर कार्यान्वयन नगर्ने परिपाटीले गडविजुला ताल सङ्कटमा परेको छ ।’ कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले गाउँ विकास समिति हुदा देखिनै गडविजुला ताल क्षेत्र नगरपालिकाको स्वामित्वमा रहँदै आएको बताउनुभयो ।
‘पहिले त्यस क्षेत्रमा वन क्षेत्र थियो, मानविय बसोवास थिएन,’ उहाँले भन्नुभयो, ‘आरक्ष विस्थापीतको बस्ती ताल वरपर बसेपछि लालझाडी गाउँपालिकाले आधा ताल हाम्रो हो भनेर दावी गर्न थालेपछि विवाद देखिएको छ ।’ तालमा दुवै पालिकाले दावी रहेपछि नापी विभागबाट नापी टोली बोलाएर सीमा यकिन गरि समस्या समाधान गर्ने सहमती भएको उहाँले बताउनुभयो ।
क्षेत्रफलका हिसाबले ठूलो र प्राकृतिक रूपमा सुन्दर गडविजुला ताललाई संरक्षण गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके दुवै पालिकाका लागि यो ठूलो आम्दानीको स्रोत बन्न सक्थ्यो । ताललाई पुनर्जीवन दिन सके कञ्चनपुरको पर्यटनमा नयाँ आयाम थपिने स्थानीयको विश्वास छ । वर्तमान अवस्थामा यो ताल केवल दुई पालिकाको सीमा विवादको शिकार बनेको छ । यदि समयमै प्राविधिक टोलीमार्फत सीमाना रेखाङ्कन गरी अतिक्रमण नहटाउने हो भने केही वर्षभित्रै गडविजुला ताल केवल नक्सामा मात्र सीमित हुने देखिएको छ ।
प्रकाशित समय १०:०८ बजे





















