1100×100 Nabil Advert

प्रविधिमैत्री शिक्षणलाई प्रवर्द्धन गर्ने उद्देश्यले समता स्कुललाई कम्प्युटर हस्तान्तरण

भोजपुर । प्रविधिमैत्री शिक्षणलाई प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुर नगरपालिका-७ मा रहेको समता विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको छ । भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले विद्यालयलाई चार थान कम्प्युटर हस्तान्तरण गर्नुभएको हो ।

 

विद्यालयका बालबालिकालाई पठनपाठनमा थप सहजता प्रदान गर्दै प्रविधिमैत्री कम्प्युटर शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ कम्प्युटर वितरण गरिएको उपप्रमुख शेर्पाले बताउनुभयो । विद्यार्थीहरू निवेदनसहित आफ्नै कार्यकक्षमा आएर कम्प्युटरको माग गरेको जानकारी दिँदै उहाँले शिक्षा क्षेत्रलाई गुणस्तरीय र समयसापेक्ष बनाउन स्थानीय सरकारले विशेष ध्यान दिइरहेको उल्लेख गर्नुभयो ।

 

‘मैले यसअघि पनि विभिन्न विद्यालयमा आवश्यकताका आधारमा सहयोग गर्दै आएकी छु’, उपप्रमुख शेर्पाले भन्नुभयो, ‘स्थानीय सरकारले शिक्षालाई आधुनिक, गुणस्तरीय र प्रविधिमैत्री बनाउन निरन्तर प्रयास गरिरहेको छ ।’ कम्प्युटर प्राप्त भएपछि विद्यालयको पठनपाठन अझ प्रभावकारी हुने विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुमन प्रधानले बताउनुभयो । उहाँका अनुसार विद्यार्थीलाई समय व्यवस्थापन गरेर नियमितरूपमा कम्प्युटर शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।

 

‘विद्यालयले कम्प्युटर प्राप्त गरेको छ’, अध्यक्ष प्रधानले भन्नुभयो, ‘यसले कम्प्युटर शिक्षा सञ्चालन गर्न सहजता थप्ने हाम्रो अपेक्षा छ । विद्यालयले विद्यार्थीलाई प्रविधिमैत्री र समयानुकूल शिक्षा दिन निरन्तर ध्यान दिँदै आएको छ ।’ वि.सं. २०७५ सालदेखि सञ्चालनमा आएको समता विद्यालयमा हाल कक्षा ८ सम्म अध्ययन गर्ने ३४३ विद्यार्थी छन् । विद्यालयका प्रधानाध्यापक मुना पाण्डेका अनुसार विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको छ ।

प्रकाशित समय ०९:०६ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु