नेपाल एसबिआई बैंकको वार्षिक साधारण सभाबाट ९ प्रतिशत लाभांश पारित
काठमाडौं । नेपाल एसबिआई बैंकका शेयरधनीहरुको ३२औं वार्षिक साधारण सभाले बैंकको आ.व. २०८१/८२ का लागि संचालक समितिको प्रतिवेदन एवं लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व. २०८१/८२ वार्षिक आर्थिक विवरण पारित गरेको छ । साधारण सभाले बैंकको सहायक कम्पनी ‘नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.’को आ.व. २०८१/८२ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत ग¥यो । सभाले बैंकका शेयरधनीहरुलाई ४ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी चुक्ता पुँजीमा जम्मा ९ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
उक्त सभाले सर्वसाधारण शेयरधनी समूहको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकमा श्री अप्सरा उप्रेतीलाई निर्विरोध निर्वाचित गरेको छ । उक्त सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने-गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने-गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने–गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न-गराउन सक्ने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ । उक्त सभाले सभा समक्ष पेश गरिएका अन्य प्रस्तावहरु समेत प्रस्ताव बमोजिम पारित-स्वीकृत गरेको छ ।
नेपाल एसबीआई बैंकले ३२औं वार्षिक साधारण सभाको अवसर पारी सबै प्रदेशहरूमा ३२ भन्दा बढी सामाजिक उत्तरदायित्व कार्यक्रम संचालन गरेको छ । सो महत्वपूर्ण उपलब्धीको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वको क्षेत्रहरूलाई समेट्ने गरी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरिएका थिए, जसमा गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्ने, जोखिममा परेका समुदायहरूलाई मानवीय सहायता र राहत प्रदान गर्ने र विभिन्न जनसंख्या समूहहरूमा वित्तीय साक्षरता प्रदान गर्ने कुरामा जोड दिइएको थियो ।
यी कार्यक्रमहरू कोशी प्रदेशको लिमचुङबुङ, बेलबारी, दुधे, भोजपुर र धरान, बागमती प्रदेशको बौद्ध, नारायणगढ र हेटौंडा, गण्डकी प्रदेशको गुल्मी, आबुखैरेनी, वालिङ, शिशुवा र कावासोती, सुनछहरी, कोहलपुर, दाङ, जितपुर, बुटवल, मणिग्राम, रामपुर बजार, गौमुखी, पाल्पा, भैरहवा, लमही, परासी, नेपालगञ्ज, चन्द्रौटा, सन्धिखर्क र लुम्बिनी प्रदेशको तुलसीपुर, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको अत्तरिया र गन्यापधुरा जस्ता विभिन्न स्थानहरूमा संचालन गरिएका थिए जसबाट ३५ सयभन्दा बढी व्यक्ति लाभान्वित भएका कम्पनी सचिव खगेश्वर भट्टले जनाएका छन् ।
प्रकाशित समय ०८:४४ बजे




















