नेपालको परराष्ट्र मामिला क्षेत्र : विषयविज्ञ र दक्ष जनशक्ति
हामी दुई वटा ठूला छिमेकीको बीचमा रहेका छौं । उनीहरूको आर्थिक वृद्धिदर, जनसंख्या लगायतका विषयमा निकै ठूला देशहरूको बीचमा रहेको हामीहरूले त्यहीअनुसार गर्न नसक्नुको कारण हाम्रो राजनीतिक चेतको अभावले हो । राजनीतिक दलका नेताहरूमा भएको मानसिकता, उनीहरूको आत्मविश्वासको कमी र ज्ञानलाई गरिएको उपेक्षा, मानवीय स्रोत र उनीहरूको क्षमतालाई चिन्न नसक्नु, संस्थागत विकासलाई ध्यान नदिनु, व्यक्तिगत सोचका आधारमा राज्य चलाउन खोज्नु र ‘सिस्टमेटिक’ संरचनाको विकास गर्न तत्पर नहुनु लगायत थुप्रै कारणहरूले नेपाल चीन र भारतको दाँजोमा विकास हुन नसकेको अवस्था हो । मुख्यगरी आत्मविश्वास र भिजनको कमी भएका राजनीतिक नेतृत्वका कारणले नेपाल छिमेकी देशहरूभन्दा निकै पछि छोडिएको छ ।
दुई छिमेकीको तीव्र प्रगति
हाम्रा दुवै छिमेकीहरू केही समय अघिसम्म आर्थिकरुपमा कमजोर अवस्थामै रहेका थिए । उनीहरूलाई नेपालले सामान निर्यात गर्ने गरेको थियो, विशेषगरी लिच्छवी र मल्ल कालमा नेपालको दुवै छिमेकीहरूसँग व्यापार राम्रो थियो । तर अहिले नेपालको आयात उच्च र निर्यात दयनीय अवस्थामा छ । चीन र भारतले राजनीतिक र आर्थिक दुवै क्षेत्रमा निकै अघि बढेर शक्तिशाली देश बनिरहेका छन् । हामीहरूले त्यसको फाइदा लिन नसकेको र नेपाल किन पछि प¥यो भन्ने विषयमा यहाँ चर्चा गर्नु आवश्यक छ । चीन अहिले अवस्थामा ‘प्रचेजिङ पावर प्यारिटी’का हिसावले विश्वको पहिलो देश हो । चीनले अमेरिकालाई उछिनिसकेको अवस्था हो । समग्रमा पनि चीन विश्वको दोस्रो आर्थिक शक्ति राष्ट्र हो । यता भारत पनि आर्थिकरुपमा सम्पन्न देशमा पुगिसकेको अवस्था छ । कुनै वर्ष ५औं र कुनै वर्ष छैठौं स्थानमा रहने गरेको छ । यो भनेको भारत पनि आर्थिक शक्ति राष्ट्रमा अघि बढेको छ । यसको पछाडिको प्रमुख कारण जनसंख्या नै हो । जनसंख्या धेरै भएको देशमा आर्थिक चलायमान उच्च हुन्छ । त्यसैले गर्दा भारत र चीन छोटो समयमा आर्थिक रुपमा अघि बढेको अवस्था छ । जनसंख्या धेरै हुँदा अधिक उत्पादन देखि खपतसम्मको कुरा पनि हुन्छ । उत्पादन मुख्य कुरा हो विकासका लागि । त्यसका लागि जनसंख्या मुख्य आधार हो । नेपालको जनसंख्या निकै कम हो उनिहरूको तुलनामा । ३ करोड जनसंख्या छ नेपालमा । यसमध्ये खास उत्पादन गर्न सक्ने जनसंख्या कति छ भन्ने हो । मानौ ३० प्रतिशतले उत्पादन गर्छन भने ३ करोडको ३० प्रतिशत भनेको करिव ९० लाख । त्यतिले मात्रै उत्पादन गरेको अर्थतन्त्रले ३ करोड जनसंख्यालाई पुर्याउनुपर्ने हुन्छ । यो त उदाहरण मात्रै हो । ३० प्रतिशतमध्ये विदेश गएको जनसंख्या कति छ ? हाम्रो उत्पादन गर्न सक्ने जनसंख्याको धेरै त विदेशमा नै रहेको अवस्था छ । उत्पादन गर्ने जनशक्ति नै कम भएको अवस्थामा कसरी अर्थतन्त्र अघि बढ्न सक्ला ? चीनको जनसंख्यामध्ये धेरै जनसंख्या उत्पादनमा जोडिएको छ । जसले गर्दा देशको विकासमा सहयोग पुगेको हो ।
स्वदेशमै बस्ने अर्को वातावरण भनेको राजनीतिक प्रणाली हो । राजनीतिक प्रणालीले आफ्ना नागरिकहरूलाई स्वदेशमा नै बसेर उत्पादन गर्ने वातावरण बनाउनु पर्छ । भारत र चीनमा त्यहाँका जनतालाई यहि उत्पादन गर्नु पर्छ भनेर राष्ट्रिय भावना जगाउनमा त्यहाँको राजनीति नेतृत्व सफल भएको छ । यसले पनि देशको विकासमा टेवा पुगेको हो । उनीहरूका नागरिकले आफ्नो देशको बारेमा सोचिरहेका हुन्छन् । हाम्रा नेपालीहरूले नेपालको बारेमा सोच्ने अवस्था सृजन गर्न राज्यले सकिरहेको छनै ।
नेतृत्वको इच्छा शक्ति पनि देश विकासको महत्वपूर्ण कुरा हो । देशको नेतृत्वको इच्छाशक्ति दृढ हुनुपर्दछ । चीनले सन् २०५० सम्ममा हरेक क्षेत्रमा अमेरिकालाई उछिन्ने लक्ष्य राखेको छ । भारतले पनि त्यस्तै लक्ष्य निर्धारण गरी अघि बढेको छ । तर नेपालको सन्दर्भमा यस्तो हुन सकेको छैन । जसले गर्दा हामी विकासमा पछि परेका हौँ । त्यसैले हाम्रो सन् २०५० को लक्ष्य के हो भन्ने कुरामा स्पष्ट हुन आवश्यक छ । सन् २०५० को मात्र होइन, हामीसँग त अर्को ५ बर्षको अनुसन्धानमा आधारित योजना पनि छैन । अबको एक वर्ष पछि के गर्ने भन्ने भिजन हाम्रो राजनीतिक नेतृत्वसँग छैन । हामीसँग क्षमता, सम्भावना, जनशक्ति भए पनि त्यसलाई प्रयोग गर्ने राजनीतिक नेतृत्व र इच्छाशक्ति नहुँदा अहिलेको अवस्था सृजना भएको हो ।
विना योजना अघि बढ्दा विकास हुन सकेन । कुन क्षेत्रको जनशक्तिलाई कहाँ परिचालन गर्ने भन्ने कुरा पनि महत्वपूर्ण हो । त्यो भिजन पनि हाम्रो नेतृत्वसँग छैन । यसको संकट छ अहिले । जति क्षेत्र वा मन्त्रालय हुन्छन् त्यो क्षेत्रसँग सम्बन्धित नागरिकलाई कसरी परिचालन गर्ने भन्ने योजना पनि छैन । राजनीतिक नेतृत्वसँग यो विषयको चासो पनि छैन । नागरिकको क्षमता पहिचान गरेर परिचालन गर्ने ’सिस्टम’ र अभ्यास पनि छैन र राजनीति नेतृत्वसँग त्यसको चेत पनि छैन । यही कारणले हामी पछि परेको अवस्था हो ।
कूटनीतिक क्षेत्रका जनशक्ति पलायन
अधिक मात्रामा भइरहेको छ । यो विषयले गर्दा हामी अन्तर्राष्ट्रिय रुपमा पनि कमजोर अवस्था छौँ । यो विषयलाई गम्भिर रुपमा लिनुपर्छ । कुटनितिक क्षेत्रमा पनि राम्रा मानिसहरू पलायन भएको अवस्था छ । अन्तराष्ट्रि सम्बन्धका विज्ञ तथा जानकारहरूलाई त्यो क्षेत्रमा प्रयोग गर्न सकिएको छैन । यो क्षेत्रमा विद्यावारिधि गर्ने भन्दा पनि राजनीति रुपमा पहुँचका आधारमा नियुक्त गर्ने अवस्था छ । अर्को क्षेत्रमा अध्ययन गरेका अर्कै क्षेत्रमा आएर विज्ञ भन्दै प्रचार–प्रसार गरिरहेको अवस्था छ । बन सम्बन्धि पढेकाले विदेश नीतिका विषयमा बोलिरहेको छ । माइक्रो बायलोजो अध्ययन गरेकाहरूले आइआरको विषयमा अन्तरर्वार्ता दिएको छ । नेतासँगको सम्बन्धका आधारमा उनीहरू विज्ञ भइरहेका छन् । अंग्रेजी, इतिहास पढेकाहरू, इन्जिनियर पढेकाहरू पनि अन्तराष्ट्रि विज्ञ भएको अवस्था छ । केही समाचारहरू पढेर नेताहरूसँग सम्बन्ध राख्नेहरूले विदेश नीतिका विषयमा बोलेको अवस्था छ । उनीहरू नै विज्ञका रुपमा स्थापित हुने अवस्था छ नेपालमा । यसले नेपालको कुटनीतिक क्षेत्रको विकास हुनै सक्दैन वा सकेन । हामी भारत र चीनको भन्दा कुटनीति क्षेत्रमा यति पछि परेको कारण अन्तराष्ट्रिय सम्बन्धका विज्ञको खोजि गरेर उनीहरूलाई अवसर नदिनु नै हो । अरु क्षेत्रका जानकारहरूलाई त्यो क्षेत्रको विज्ञको रुपमा पठाउँदा अवस्था कमजोर भएको हो । सम्बन्धित विषयमा अध्ययन नै नगरेकाहरूलाई त्यो विषयका कैयौं कुराहरू जानकारी नै हुदैन । यो सबै क्षेत्रमा लागू हुन्छ ।
नेपालको अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञहरू पलायन भएको अवस्था छ । त्यो क्षेत्रलाई अरु क्षेत्रका मानिसहरूले कब्जा गरेको अवस्था छ । विज्ञहरूलाई विस्तावित गरिएको अवस्था छ । अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरूलाई मात्र सोही क्षेत्रमा परिचालन गर्नुपर्छ भन्ने मुद्धाको उठान गर्न नेपालमा धेरै ढिला भैससेको छ । त्यसैले नेपालमा पहिलो पटक सो मुद्धाको पहिचान र उठान गर्नका लागि एउटा बहसको सुरुवात गरिएको सुधार अवस्था छ । संयोगले त्रिभुवन विश्वविद्यायलबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गर्ने पहिलो व्यक्ति हुने सौभाग्य पाएकोले पनि यस्ता खालका मुद्धाको उठानमा मलाई जिम्मेवारी थपेको महसुस भएको छ । सन् २०१४ देखि मैले अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा अविच्छिन्न रुपमा अध्ययन गर्दै आएको छु । यो अवधिमा यो क्षेत्रका विषयमा भएका राम्रा-नराम्रा अभ्यासका विषयमा अध्ययन गरेको छु ।
नेपालको परराष्ट्र मामिला मजबुत बनाउनको लागि अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति अध्ययन गरेका व्यक्तिहरूलाई नै अघि बढाउनुको कुनै बिकल्प छैन । अहिले अन्तर्राष्ट्रिय क्षेत्रमा विद्यावारिधि, महाविद्यावारिधि गरेका, एमफिल गरेका, स्तातकोत्तर गरेका, परराष्ट्र सेवामा लामो समय काम गरेर राजदूत भएका व्यक्तिहरूको सर्वेक्षण गरेर तथ्यांक निकाल्ने बारे छलफल भइरहेको छ । तथ्यांक नहुँदा अन्तर्राष्ट्रिय क्षेत्रको विज्ञ को भन्ने विषयमा जानकारी लिनका लागि निकै समस्या भएको अवस्था छ । यो तथ्यांकले राज्यलाई पनि यो क्षेत्रका विज्ञहरूको पहिचान गर्नका लागि सहयोग पुग्छ । यस्तो तथ्यांक नहुँदा राज्य र राजनीतिक नेतृत्वलाई यस विषयमा जानकारी नै भएन । यस्तो तथ्यांक तयार पारेर राज्य र विदेशी कूटनीतिक नियोगहरूमा समेत उपलब्ध गराउन सकिनेछ । अनि विश्वविद्यालय लगायत अन्य क्षेत्रमा पनि यस विषयमा जानकारी दिने काम हामीले गर्छौं । मिडिया हाउस, कर्पोरेट क्षेत्रमा पनि यो तथ्यांक हामीले उपलब्ध गराउँछौं ।
कूटनीतिक सम्बन्ध रहेका देशहरूसँग सरकारले त्यो अनुसारको सम्बन्ध बनाउन सकेको छैन । कूटनीतिक सम्बन्ध भएका देशहरूमा जाने कुटनीतिज्ञहरू कस्ता छन् ? राजदूतहरू कुन क्षेत्रका छन् । उनीहरू कूटनीतिक क्षेत्रमा जानकार छन् वा छैनन् । त्यस्तै अन्तर्राष्ट्रिय सम्बन्धका सामान्य सिद्धान्तहरू आउँदैन उनिहरूलाई । ति सिद्धान्तहरूलाई कसरी प्रयोग गरिएको छ ? राजीतिक दलहरूले त्यसलाई कसरी प्रयोग गररिरहेका छन् ? सत्ताले कसरी प्रयोग गरिरहेको छ भन्ने विषयमा कुनै ज्ञान नै हुँदैन । कूटनीतिक नियोगहरूमा यस्तो क्षेत्रबाट नियुक्त गरिन्छ कि यो क्षेत्रको विषयमा जानकारी नै नराख्नेहरू पनि हुन्छन् । कोही ’मेनपावर’ व्यवसायी छन् । कोही राजनीतिज्ञको चाकडीका आधारमा नियुक्त हुन्छन् । स्नातक पनि नपढेकाहरू कूटनीतिज्ञ बनाएर पठाइन्छ । विज्ञान पढेका, व्यवस्थापन पढेकाहरूलाई राजदूत बनाएर पठाइन्छ । जसले गर्दा उनीहरूले विदेशमा गएर नेपालको उचाइ बढाउने खालको काम गर्नै सक्दैनन् । किनभने उनीहरूसँग त्यो सम्बन्धी कुनै ज्ञान र सिप नै हुँदैन । विदेशमा गएर ४ वर्ष बस्ने, तलब खाने र नेटवर्क बनाउनेबाहेक उनीहरूले केही पनि गर्न सक्दैनन् ।
अन्त्यमा, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिमा हामी निकै पछि छौं । अन्तर्राष्ट्रिय मञ्चमा हामी निकै कमजोर छौं । हामी विकासशील राष्ट्रमा स्तरोन्नती हुन जाँदैछौं । तर अति कम विकसित राष्ट्रहरूको भन्दा पनि हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धमा निकै पछि रहेको छ । विकसित राष्ट्रको जाँदोमा पुग्ने त परकै कुरा हो । कतिपय अति कम विकसित राष्ट्रको दाँजोमा हाम्रो विदेश नीति स्थापित गर्नुपर्ने हुन्छ । हाम्रो नेपालीको अन्तर्राष्ट्रिय सम्बन्धको मोडल के हो भन्ने विषयमा पहिले यकीन गर्नुपर्ने आवश्यकता छ । हामीले अमेरिकाको मोडलको नक्कल गरेर वा भारतको नक्कल गरेर कूटनीतिलाई बलियो बनाउन सक्दैनौं । कूटनीति बलियो बनाउनका लागि ज्ञानले भरिपूर्ण व्यक्तिहरूलाई स्थान दिनुपर्छ । अध्ययन अनुसन्धानका लागि राज्यले ध्यान दिने र बजेट पनि विनियोजन गर्ने काम गर्नुपर्छ । विश्वविद्यालयसँग समन्वय गरेर सरकारले कुन क्षेत्रमा कति जनशक्ती उत्पादन गर्ने भन्ने एकिन खाका हुनुपर्दछ ।
दीर्घकालीन नीतिको खाँचो
हाम्रो छिमेकी भारत र चीनले १०० वर्षको योजना बनाइरहेको अवस्था छ । तर हामीहरू भने ५ वर्ष पछिको नीति कस्तो हुने भन्ने विषयमा कुनै योजना छैन । सबै मन्त्रालयमा भएको जनशक्तिको यकीन तथ्यांक निकालेर सो जनशक्तिको क्षमता र योग्यताको पहिचान गरेर उनीहरूलाई उनीहरूको क्षेत्रमा जिम्मेवारी दिन सकेको खण्डमा विकासशील राष्ट्रले अपनाउने कूटनीतिक तहसम्म पुग्न सकिन्छ ।
(डा. चन्द नीति अनुसन्धान प्रतिष्ठानका अनुसन्धानकर्ता हुनुहुन्छ)
प्रकाशित समय ११:४९ बजे



















