अन्नपूर्ण गाउँपालिका-७ टिकोटमा रासायनिक मल भित्रिएको छैन
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ टिकोटका वुद्धीवीर पुनले तरकारी खेतीबाट वार्षिक सात लाखसम्म आम्दानी गर्नुहुन्छ । पन्ध्र रोपनीमा बन्दा, साग, आलु लगायत ताजा तरकारी र पाँच रोपनीमा किवी खेती गरेका ४६ वर्षीय पुन तरकारी र फलफुल खेतीबाट स्वरोजगारसँगै आत्मनिर्भर बन्नुभएको हो । १६ वर्षअघि तरकारी खेती गर्नुअघि पुनले रोजगारीका लागि पाँच वर्ष कतारमा श्रम र पसिना बगाउनुभएको थियो । ‘कृषिमा परिश्रम गरे राम्रो आम्दानी लिन सकिने मेरो अनुभव छ,’ उहाँले भन्नुभयो, ‘ताजा तरकारी विक्री गरेर वार्षिक रुपमा रु. पाँच देखि सात लाख सम्म आम्दानी हुन्छ ।’ साँझ बिहान तरकारी र किबीको फार्मको स्याहार सुसारमा व्यस्त वडा सदस्य समेत रहेका पुनले दिउँसोको समय सामाजिक काममा दिनुहुन्छ ।
टिकोटको छिमेकी वस्ति घराम्दीका बासिन्दा रहेका अन्नपूर्ण गाउँपालिका-७ का पुर्व वडा अध्यक्ष गमप्रसाद फगामी पनि कार्यकाल सकिएपछि ब्यवसायिक तरकारी खेतीमा सक्रिय हुनुहुन्छ । फगामीले पाँच रोपनी जग्गामा काँक्रो, बोडी, सिमी, गोलभेडा, बन्दा, काउली र साग खेती गर्नुभएको छ । गोलभेडा खेतीका लागि उहाँले तीन वटा पलास्टिक टनेल बनाउनुभएको छ । फगामीका छिमेकी बाहालवाला वडा सदस्य गेमबहादुर पुनले ताजा र बेमौसमी तरकारीका साथै व्यवसायिक रुपमा आलु खेती गर्दै आउनुभएको छ । घराम्दी र टिकोटका कृषकले उत्पादन भएको तरकारी र आलु सदरमुकाम बेनी र प्रदेशको राजधानी पोखरामा बिक्री हुने गरेको छ ।
यहाँ ५० जना भन्दा बढी व्यवसायिक किसान छन् । गाडीले तरकारी बोकेर बजार लैजाने गरेको छ । यहाँबाट वार्षिक रु. दुई करोड भन्दा बढी मूल्यको आलु र रु. एक करोड बराबरको बन्दा बिक्री हुने गरेको वडा सदस्य वुद्धिविर पुनले बताउनुभयो । टिकोट र घराम्दी समुन्द्रि सतहदेखि दुई हजार तीन सय मिटर उचाईमा रहेको छ । चिसो हावापानीमा जैविक विधिबाट उत्पादन भएको तरकारी स्वस्थकर र स्वादिलो हुने भएकाले उपभोक्ताको रोजाईमा परेको छ । अन्नपूर्ण गाउँपालिकाले टिकोटमा तरकारी पकेट कार्यक्रम सञ्चालन गरेको कृषि अधिकृत श्याम शरण कुर्मीले बताउनुभयो । कार्यक्रम मार्फत कृषकहरुलाई तरकारी खेतीका लागि आवश्यक विउ, टनेल, सिचाई सामग्री उपलब्ध गराएको उहाँले बताउनुभयो ।
खर्चिलो र मानव स्वास्थ्यका लागि प्रतिकुल मानिएको रासायनिक विषादी र मलको विकल्पमा जैविक बिधीबाट तरकारी खेती गरेका छन् । टिकोटका किसान टिका तिलिजा पुनले तरकारीमा रोगकिरा लाग्न नदिन र नियन्त्रण गर्नका लागि गाईभैसीको मलमुत्र प्रयोग गरेको बताउनुभयो । ‘पलास्टिकको वोत्तलमा संकलन गरेर राखेको गाईभैसीको मुत्रलाई आवश्यक पर्दा बिरुवाको जरा, जरामा हाल्छौ,’ उहाँले भन्नुभयो, ‘टिकोटमा रासायनिक मल पनि अहिलेसम्म भित्रिएको छैन् ।’ यहाँका किसानको प्रत्येक गोठमा गाईभैसीको मुत्र संकलन गरेर राखेका छन् ।
प्रकाशित समय ११:०९ बजे




















