हिमाली याकचौंरीका पाठापाठी हुर्काउन समस्या
मुस्ताङ । मुस्ताङको थासाङ-२ घट्टेखोलास्थित हिमालयन याक नाकपालन उपसमितिका सदस्य एवं वडासदस्य भीमप्रसाद थकालीलाई पछिल्लो समय याकचौंरीका पाठापाठी हुर्काउन समस्या छ ।
उहाँको करिव ७० वटा याकचौंरी छन् । पुर्ख्यौली पेशा अङ्गाल्दै आउनुभएका थकालीले पछिल्लो समय याकचौंरीपालन व्यवसाय जोगाउनै गाह्रो परेको बताउनुभयो । सरकारले हिमाली क्षेत्रका याकचौंरीपालन व्यवसायलाई संरक्षण गर्न अनुकूलनका कार्यक्रम ल्याउन आवश्यक रहेको उहाँको भनाइ छ । ‘सरकारले हिमाली याकचौंरीपालन संरक्षणका लागि अहिलेसम्म ठोस कार्यक्रम ल्याउन सकिरहेको छैन,’ उहाँले भन्नुभयो, ‘हिमालमा चरनक्षेत्रमा घाँस नहुने, वन्यजन्तुको जोखिम र सुख्खा खडेरीले पानीको अभाव हुँदा यो व्यवसायनै लोप हुने अवस्थामा पुगेको छ ।’
जिल्लाका पाँच वटै स्थानीय तहमा करिब चार हजार ७०० बढी सङ्ख्यामा याकचौंरी छन् । याकचौंरीपालनको व्यावसायिक हकहित र उत्थानका लागि २०७६ सालमा हिमालयन याकचौंरी पालन तथा संरक्षण व्यवस्थापन समिति गठन भएको थियो । त्यसकै उपशाखा अन्तर्गत थासाङ-२ घट्टे खोलामा हिमालयन याक नाक पालन उपसमिति छ ।
थकाली जस्तै थासाङ-२ मा २२ घरधुरीले २२ वटा गोठ खडा गरी करिव ७०० बढी सङ्ख्यामा याक नाक पालन गर्दै आइरहेका छन् । पुर्ख्यौली व्यवसाय याकचौंरीपालनबाट राम्रो आम्दानी हुने गरेको उनीहरुको भनाइ छ । याक नाकको दुधबाट घ्यू, छुर्पी र मासु उत्पादन हुने गर्छ । यसका अतिरिक्त याक नाकका रगत निकालेर सर्वसाधारणलाई बिक्री गरी बैकल्पिक आम्दानी लिने गरेका छन् ।
थासाङमा हिउँद र बर्खायाममा अलगअलग गोठ स्थान्तरण गरेर याकचौंरीको व्यवस्थापन गर्ने गरिएको छ । बर्खायामको चिसो मौसममा मुलीखर्क, मार्चे र बतासे डाँडा लगेर गोठ सारिन्छ । त्यसपछि बिस्तारै हिउँदयाम लागेपछि बस्ती नजिकको पट्के खर्क, छिप्लुङ खर्क, सेकुङ खर्क, खैक्यु खर्क र लुप्साङ खर्कलगायतका स्थानमा याकचौंरीको गोठ स्थान्तरण गरिने याकचाँैरी पालक गौतम शेरचनले जानकारी दिनुभयो । याकचौंरीपालन गर्दा गोठालालाई वार्षिक रु दुई लाख र खाने, बस्ने र लत्ताकपडाको व्यवस्थापन गरिदिने चलन छ ।
पछिल्लो समय हिमाली क्षेत्रमा याकचौंरीपालन सङ्कटमा पर्दै गएको हो । जलवायु परिवर्तनका कारण वातावरणीय क्षेत्रमा परेको असरले याकचौंरीपालन व्यवसाय समस्यामा परेको स्थानीयवासीको अनुमान छ । हिमाली क्षेत्रमा समयमा हिउँ नपर्ने, बेमौसममा हिमपात हुने र कुनै वर्ष हिउँ पर्दै नपर्नेजस्ता प्राकृतिक विपद्ले हिमाली याकचौंरीका लागि आवश्यक चरन क्षेत्रमा घाँस पाइन छाडेको हो ।
हिमालयन याक नाक उपसमितिका याकचौंरीपालक किसानले याक नाकको रगत सर्वसाधारणलाई बिक्री गरेर बैकल्पिक आम्दानी गर्ने गरेका छन् । याकचौंरीको आलो रगत निकालेर बिक्री गर्ने हिमाली क्षेत्रको सदिँयौदेखिको सांस्कृतिक प्रचलन हो । प्राकृतिक उपचारका लागि याकचौँरीको आलो रगत सेवन गर्नाले दीर्घरोगीलाई उपचारमा उपयोगी हुने जनविश्वास छ । विशेषगरी ग्याष्ट्रिक, गानोगोला, हाडजोर्नी दुख्ने तथा पेटसम्वन्धी समस्या भएका बिरामीलाई याकचौंरीको आलो रगतले फाइदा पुग्ने बताइन्छ ।
एक वयस्क याकचौंरीबाट २५ गिलासदेखि ४२ गिलाससम्म याकचौंरीको आलो रगत निकाल्न सकिने हिमालयन याक नाक पालन उपसमितिले जनाएको छ । याकचौंरीको रगत सेवन गर्न आउने सर्वसाधारणलाई प्रतिगिलास रु ३०० को दरमा बिक्री वितरण गरिन्छ ।
प्रकाशित समय ०८:५७ बजे




















