V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

जुम्लामा जडिबुटी प्रशोधन गर्नका लागि उद्योगको आवश्यकता छ (अन्तर्वार्ता)

स्थानीय उत्पादनमा जोड नदिंदासम्म आम मानिसको जीवनस्तरमा परिवर्तन हँुदैन भन्नुहुन्छ उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरिचन्द्र देवकोटा । प्रकृतिले भरिपूर्ण जुम्ला जिल्लामा सबैभन्दा बढी जडिबुटी पाइन्छ । जडीबुटी, विभिन्न प्रकारका फलफूलहरूबाट प्रशस्त अर्थोपार्जनको सम्भावना भएको जुम्लाको स्याउ निकै चर्चित छ । यातायातको सहज सुविधा नहुँदा विगतका वर्षहरूमा जुम्लाको स्याउले खासै चर्चा र बजार पाउने गरेको थिएन, तर चालू आर्थिक वर्षमा भने जुम्लाको स्याउले देशभर नै बजार पायो । जुम्लालाई समृद्ध बनाउनका लागि स्थानीय वस्तुको बढी प्रयोग र व्यवसायिकीकरण गर्नुपर्छ भन्नुहुने अध्यक्ष देवकोटासँग क्रसचेकका प्रतिनिधिले गरेको कुराकानीको सम्पादित अंश :

० जुम्ला जिल्लामा उद्योग व्यवसायको अवस्था कस्तो छ ?

जिल्लामा उद्योगको कुरा गर्दा यहाँ कच्चा पदार्थ निकै प्रचुर मात्रामा पाइन्छ । त्यसमा पनि जडिबुटी मुख्य हो । यहाँ धेरै प्रकारका जडिबुटीहरू पाइन्छन् । जिल्लामा ७ सयभन्दा बढी प्रकारका जडिबुटीहरू पाइन्छन् । यो वन कार्यालयको तथ्यांक हो । यो धेरै हो । मुख्य जडिबुटी भनेको यार्सागुम्बा हो । जसले जुम्ला जिल्लाको मात्रै होइन, समग्र नेपालकै जीवनस्तर उकास्नमा सहयोग गर्न सक्छ । यार्सासँगै यहाँ वन लसुन, घोच्चे च्याउ लगायत प्रमुख हुन् । सरकारले जडिबुटी प्रशोधन केन्द्र निजी क्षेत्रसँग मिलेर स्थापना गरेको थियो । तर, अहिले सञ्चालनमा छैन । संरक्षण नभएका कारणले पनि समस्या भएको अवस्था छ । कच्चा पदार्थ प्रशोधन पनि भएको पाइँदैन । जिल्लाबाट जटामसी त लोप नै भइसकेको अवस्था छ । उद्योग स्थापना भए पनि सञ्चालनमा आउन नसक्नु बिडम्बना बन्यो । अर्को भनेको जडिबुटीबाट तेल निकाल्ने कुरा पनि गरिएको छैन । यसको मेसो नै पाइएको छैन । अर्कोतर्फ यहाँ उत्पादनमूलक उद्योग सञ्चालनका लागि पहिले विद्युतको समस्या रहेको थियो । तर, अहिले स्थानीयरुपमा र राष्ट्रिय प्रसारण लाइन पनि जोडिएको अवस्था छ । तर, उद्योगहरू स्थापना हुन सकेको अवस्था भने छैन । यहाँ कच्चा पदार्थ तथा विद्युतको समस्या अहिले छैन । घरेलु तथा साना उद्योग कार्यालय पनि रहेको छ । त्यसमा करिब ४ हजार जति उद्योगहरू दर्ता रहेका छन् । यहाँ अहिले एउटा पानी उद्योग, स्याउको ब्रान्डिङ, जुस र वाइन बनाउने उद्योग पनि रहेको छ । तर पानी उद्योग केही वर्षदेखि बन्द अवस्थामा छ । कच्चा पदार्थको सम्भावना धेरै भए पनि बजारीकरणमा पनि समस्या भइरहेको छ । पछिल्लो समय यहाँका रैथाने उत्पादनहरू मार्सी चामल, सिमी, चिनो, कागुनो, फापर लगायतका प्रशस्त माग भएका वस्तु उत्पादन हुने क्षेत्र हो । तर पछिल्लो सयम यहाँका स्थानीयले पनि यसको उत्पादन नगरेको अवस्था छ । स्थानीय उत्पादन हुन नसक्नुको मुख्य कारण जनशक्ति नहुनु हो भने अर्को प्रविधिले गर्दा पनि हो । उच्च प्रविधि नहुँदा मानिसले पुरानो तरिकाले गर्दा लागत बढी पर्ने कारणले पनि यतातर्फ आकर्षण कम भएको छ । जसले गर्दा खेतबारी बाँझो रहेको अवस्था छ । मार्केटिङसमेत गर्न नपर्ने मार्सी तथा सिमीहरूको उत्पादन किसानहरूले नगरेको अवस्था छ । आधुनिकीकरण गर्नका लागि उद्योग स्थापना गरेर जानुपर्ने हुन्छ । जसले गर्दा त्यहाँ प्रशोधन, लेबलिङ, प्याकेजिङको काम पनि हुन्छ । त्यसलाई बजारीकरण गर्न पनि सहयोग हुन्छ । धेरै ठाउँहरूमा जुम्लाको स्याउ, सीमी, चामल भनेर अरु नै चामल बिक्री पनि भइरहेको छ । वास्तविकरुपमा जुम्लाको सामान भने सबै ठाउँमा जान सकेको छैन । यसतर्फ सबै सरोकारवालाहरूले ध्यान दिनुपर्ने आवश्यकता छ ।

० विगतका वर्षमा स्याउ निर्यातमा समस्या भएको भन्ने सुनिथ्यो । यो वर्ष स्याउ निर्यातमा समस्या भएन भन्ने छ, अरु वस्तुमा पनि प्रयास गर्ने हो भने त सकिन्छ होला नि ?

पहिले सबैभन्दा ठूलो समस्याका रुपमा रहेको थियो । अहिले केही मात्रामा समाधान भएको हो । तर, कुनै पनि वस्तु उत्पादन गर्दा सबैभन्दा ठूलो समस्या नै बजारीकरण हो । मार्सी चामल त वर्षौंदेखि उत्पादन हुँदै आएको थियो । तर, पछिल्लो समय व्यवसायी दुर्गा प्रसाईँले हालका प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीलाई एकै ठाउँमा बसालेर जब मार्सीको भात खुवाउनुभयो, त्यसपछि माग बढ्न गयो । त्यो भनेको प्रचार हो । अहिले जुम्लाको स्याऊलाई सांसद ज्ञानेन्द्रबहादुर शाहीले पनि प्रचार–प्रसार र समस्यालाई समाधान गर्नका लागि पहल गरेकाले बजारसम्म पुर्‍याउनका लागि सहज पनि भयो । जुम्लाको स्याउ टोल टोलसम्म पुर्‍याउने काम भयो । तर, यहाँको स्याउलाई स्टोर गरेर आवश्यकताअनुसार बाहिर ल्याउन सकेको भए अझ धेरै फाइदा हुने थियो । अहिले असोजमा स्याउ पाक्छ । केही हप्तामा नै सबै स्याउ बजारमा पठाइसक्नु पर्छ । त्यो समयमा व्यवस्थापन गर्न सकिएन भने स्याउ कुहिएर जाने हुन्छ । उद्योगकै रुपमा स्याउ स्टोर त बनाएको छ । पहिला बत्ति नपुगेका कारणले सञ्चालनमा नआएको अवस्था छ । अब विद्युतको समस्या नरहेकाले यो वर्षदेखि सञ्चालनमा आउँछ कि भन्ने आशा छ । जुम्लामा स्थानीय उत्पादन र जडिबुटीहरूको निकै सम्भावना रहेको छ । तर व्यवसायिकरुपमा भने अहिलेसम्म कुनै पनि उद्योग सञ्चालन गर्न सकिएको छैन ।

० अन्य क्षेत्रको भन्दा जुम्लामा टारहरू पनि देखिन्छन् । यहाँ कुनै पनि अन्न बालि लगाइयो भने कति समयमा त्यो भित्र्याउन सकिन्छ ?

हाम्रोमा आलु बाहेक अरु सबै बाली वर्षमा एक बालीमात्रै हुने हो । आलु भने वर्षमा दुई पटकसम्म उत्पादन हुन्छ । उच्च हिमाली क्षेत्र भएकाले यहाँ उत्पादन भएको वस्तु निकै स्वादिलो पनि हुन्छ । स्वास्थ्यको लागि पनि यो निकै फाइदाजनक रहेको छ । जुम्लाको आलुको बजारीकरण हुन सकेको छैन । उद्योग बनाएर उत्पादन गरी बजारमा पठाउन सकियो भने धेरै फाइदा हुन सक्छ । पहिला विद्युतको समस्या रहेको थियो भने अहिले भने आर्थिक अभावले पनि उद्योग स्थापनामा समस्या भइरहेको जस्तो लाग्छ । सुलभरुपमा कर्जा प्रवाह हुन सकेको छैन । उद्योग स्थापना भए पनि सञ्चालनमा समस्या रहेको छ । यहाँको रैथाने बालीलाई प्रचार–प्रसार गरेर उत्पादन बढाउन सकेको खण्डमा यहाँको जीवनस्तर उकास्न मद्दत पुग्ने देखिन्छ । अहिले उन्नत स्याउको पनि खेती गरिरहेका छौं ।

० बैंक तथा वित्तीय संस्थाबाट लिने कर्जा कम भइरहेको छ । अहिले त ब्याज पनि घटिरहेको अवस्था छ । तर पनि कर्जा लिएर व्यवसाय गर्न नसक्नुको कारण के होला ?

बैंकहरूले अहिले कर्जा देलान् । आमसर्वसाधारणलाई कमै व्याजदरमा कर्जा पनि दिन्छन् । तर समस्या के हो भने कुनै पनि उद्योग स्थापना गरेर मार्केटिङ गरेर त्यसबाट फाइदा लिनका लागि ४–५ वर्ष लाग्छ नै । त्यतिञ्जेलसम्म बैंकले पनि समय नदिने हुन्छ । जसले गर्दा उद्योगीहरू कर्जा लिएर लगानी गर्नसक्ने अवस्थामा नै छैनन् । बैंकलाई किस्ता नदिएको भोलिपल्ट त सूचना निकालिहाल्छ । जुम्लाबाट बाहिर लगेर मार्केटिङ नगर्दासम्म यहाँ कुनै पनि वस्तु उत्पादन गरेर यहीं खपत हुनसक्ने अवस्था पनि छैन । त्यसले गर्दा लगानीकर्ताहरूले लगानी गर्न सकिरहेका छैनन् ।

० के गरियो भने आगामी दिनमा यो अवस्थाबाट पार पाउन सकिएला ?

यसका लागि सबैभन्दा पहिले स्थानीय उत्पादनमा विशेष जोड दिनुपर्ने हुन्छ । सरोकारवाला सबैले यसमा ध्यान दिन सकेको खण्डमा अहिलेको अवस्थाबाट पार पाउन सकिन्छ । स्थानीय बालीलाई बढावा दिनका लागि कृषि विकास कार्यालय लगायतका सरकारी कार्यालयहरूले ध्यान दिनुपर्छ । किसानलाई विउ, मल दिएर सबैलाई उत्पादनमा जोड्नुपर्छ । अहिले धेरै जग्गा बाँझो अवस्थामा पुगेको छ । ती जग्गालाई सदुपयोग गर्नका लागि पनि सरकारले युवालाई त्यसतर्फ आकर्षित गर्नुपर्ने हुन्छ । मुख्यतः मल र विउ पाएको खण्डमा यो क्षेत्रमा लाग्नेहरूको जीवनस्तर नै निकै फरक हुनेछ ।स्याउ, ओखर लगायतका वस्तुको उत्पादन गर्ने भनेको धेरै जग्गा भएकाहरूका लागि मात्रै भयो । तर थोरै जग्गा भएकाहरूका लागि त्यो उपयुक्त हुँदैन । चिनो कागुनो लगायतका उत्पादनहरू हामीहरूले कम क्षेत्रफलमा र कम जनशक्तिले पनि उत्पादन गर्नसक्ने हुन्छ । त्यसतर्फ राज्यले विशेष ध्यान दिनुपर्ने हुन्छ । यी चिजहरू ३०० रुपैयाँसम्म बिक्री हुने चिज हो । धेरै चिजको विउ नै हराइसकेको अवस्था छ । आधुनिक प्रविधि भित्र्याएर सरकारले नै अनुदान दिएको खण्डमा यहाँका मानिसहरूको जीवनस्तर उकास्नका लागि सहयोग पुग्ने थियो । अन्यथा अहिले ३ महिना जडिबुटी खोज्ने र बाँकी समय त्यसैबाट जीवनयापन गर्ने परिपाटी रहेको र त्यो रहिनै रहने छ । यसले दिगोपन पनि हुँदैन र लाभ पनि हुँदैन ।

० उद्योगी व्यवसायीका समस्याका विषयमा तीनै तहका सरकारहरूबाट कत्तिको चासो भएको पाउनु भएको छ ?

हामीले पछिल्लो समय यो विषयमा निरन्तररुपमा पहल गर्दै आएका छौं । कृषिमा आधारित व्याज अनुदानको ऋण ५ लाखदेखि १ करोडसम्म दिने नीति लिएको छ । तर बैंकहरू जरिवाना तिर्न तयार हुने तर त्यो अनुदान नदिने परिपाटी पनि रहेको छ । बरु १५ लाख रुपैयाँ जरिवाना तिर्ने तर कृषकलाई अनुदानको ऋण रकम उपलब्ध नगराउने काम बैंकहरूबाट पनि भइरहेको छ । यसलाई सरकारले नै अनिवार्यरुपमा अनुदानको रकम दिनैपर्ने व्यवस्था गर्नुपर्छ जस्तो लाग्छ । केही बैंकले नियम पालना गर्छन् । तर धेरै बैंकहरूले किसानलाई सहयोग गर्दैनन् । ऋण दिने काम नै गरेका छैनन् । यो विषयमा हामीहरूले निरन्तर खबरदारी गरिरहेका छौं । तर, बैंकहरूले ऋण रकम दिएपछिको जोखिमको ग्यारेन्टी सरकारले गरिदिनु पर्‍यो भन्ने गरेका छन् । ग्यारेन्टी नहुँदासम्म ऋण पाउनसक्ने अवस्था बन्दैन ।

प्रकाशित समय ०९:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010