देशमा नै कमाउनु पर्छ भन्ने मानसिकताको विकास गर्नका लागि राज्यले ध्यान दिनुपर्छ (अन्तर्वार्ता)
राज्यले औद्योगिकीकरण गर्नुपर्छ भन्नुहुन्छ उद्योग वाणिज्य संघ रुकुम (पश्चिम)का अध्यक्ष पलबहादुर खड्का । उद्योगमा लगानी गर्ने तथा हाम्रो श्रमशक्तिलाई विदेश जानबाट रोक्नुपर्छ, देशमा नै कमाउनुपर्छ भन्ने मानसिकताको विकास गर्नका लागि राज्यले ध्यान दिनुपर्छ । वैदेशिक रोजगारीमा जाने र नजानेहरूका लागि राज्यले दिने सुविधा फरक हुन्छ भनेर स्वदेशमा नै काम गर्नेहरूलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता छ भन्ने धारणा राख्नुहुने अध्यक्ष पलबहादुर खड्कासँग क्रसचेकका सम्पादक टंक कार्कीले गरेको कुराकानीको सम्पादित अंश :
० उद्योग वाणिज्य संघ रुकुम पश्चिमको नेतृत्वमा आएपछि के कस्ता कामहरू गर्नु भयो ?
म नेतृत्वमा आउनु भन्दा पहिला संयोजकका रुपमा पनि काम गरें लामो समय । बाहिरबाट सहयोग गर्ने कुरा भए पनि संघभित्र गएर काम गर्ने अवसर पाइएको थिएन । म नेतृत्वमा आएपछि मैले गरेको अनुभवको कुरा गर्दा पहाडी जिल्लाहरूमा काम गर्नका लागि निकै गाह्रो छ । संस्थाहरू नवीकरण हुँदैनन् । सबैको आर्थिक अवस्था पनि कमजोर भएको छ । मानिसहरू तरंगित भइरहेका छन् । कोरोना पछिको समयमा व्यापार पनि सोचेजस्तो छैन । धेरै मानिसहरू विदेश गएका छन् । ठूला व्यवसायहरू पनि तल्लो बाटोबाट विदेश पलायन भएको अवस्था छ । जिल्लामा प्रत्येक घरबाट कम्तिमा एक जना वैदेशिक रोजगारीमा त गएको नै छ । व्यापारीका छोराछोरीदेखि व्यापारी नै विदेश गइसकेको अवस्था छ । लामो समयदेखि शिक्षण पेसामा रहेका तथा नायब सुब्बामा कार्यरत व्यक्तिहरू पनि विदेश गइरहेका छन् । उनीहरू तल्लो बाटो अमेरिका जाने क्रम शुरु भयो । त्यसले गर्दा यहाँ केही गर्न सकिंदैन रहेछ र विदेश जानैपर्ने रहेछ भन्ने मानसिकताको विकास भयो । समाजका प्रतिष्ठित र व्यवसायी नै जाँदा विदेश जानेहरूको संख्या जिल्लामा बढेको अवस्था छ । जिल्लाको बाफियाकोट गाउँपालिका एउटा साना गाउँका सबै मानिसहरू अमेरिका गएको अवस्था हो । त्यसले गर्दा सबैमा निराशा देखियो । आर्थिकरुपमा पनि समस्या भयो । यहाँबाट जाने भएपछि पैसा पनि बाहिर गयो । मानिसहरू पनि बाहिर गए । जसले गर्दा समस्या भयो । विदेश गएकाहरू आफ्ना आफ्न्तलाई पनि लैजाने क्रम भयो । गाउँमा केही गर्नुपर्छ र जिल्लामा नै हुन्छ भन्ने कुरामा विश्वास नै गर्न छोडे । विदेशमा मेरो श्रीमान्ले लाखौं कमाउँछ भन्नेमा यहाँ रहेका महिलाहरूले भन्ने गर्दछन् । जसले गर्दा समाजमा झगडा हुने अवस्था पनि उत्पन्न भयो । विदेश गएकाहरूले पैसा कमाएको विषय बनाएर श्रीमान्श्री-मती बीचमा झगडा पनि हुन थाल्यो । यो अवस्थामा व्यापार गर्नका लागि निकै समस्या भयो । यहाँबाट युवाहरू पनि विदेश गए । अझै अर्को कुरा त १४ वर्षका व्यक्तिहरू पनि विदेश गएको अवस्था छ । १४ देखि २० वर्षसम्मका व्यक्तिहरू पनि यहाँबाट विदेश गइसके । यसले गर्दा ठूलो तरंग ल्यायो । आर्थिक हलचल पनि भयो भने सामाजिक विकृति पनि बढ्यो । यसले गर्दा उद्योग वाणिज्य संघका सदस्यहरू पनि घटे । काम गर्नका लागि निकै समस्या भयो । व्यवसायीहरू पनि घटे । मेरो भिनाजु, सालो, जेठान गएको छ । ६ महिनापछि मलाई पनि उत्तै लैजान्छ भनेर पनि बस्नेहरू छन् । यो एक प्रकारको सपना देखेर बसेर खाने र काम नगर्ने अवस्था पनि देखियो । त्यहाँ गएपछि शुरुबाट काम गर्नुपर्छ भन्ने कुराको ज्ञान पनि भएन र पैसा कमाई हुन्छ वा हुँदैन भन्ने विषयमा पनि कुनै जानकारी छैन । तर जसरी भए पनि त्यहाँ जाने भन्ने मात्रै मानसिकता निर्माण भयो । विदेश गएकाहरूबाट लाखमा रकम आएको देखेर यो अवस्था सिर्जना भएको हो । राज्यले पनि रोक्न सकेन । राज्यका निकायमा बस्नेहरूले पनि स्वदेशमा बसेर काम गर्नका लागि राम्रो छ भन्ने वातावरण बनाउन सकेनन् ।
० रुकुम-रोल्पा भनेको त माओवादीको आधार इलाका नै हो । हिजोका दिनमा अवस्था परिवर्तन गर्नका लागि नै लागेका स्थानका मानिसहरूमा यस्तो अवस्था आउनु दुःखद् होला नि ?
रोल्पाको आर्थिक अवस्थाको विषयमा नबोलौं । त्यहाँ पनि त्यस्तै हो । तर रुकुम रोल्पामा माओवादीका नेताहरू भने धेरै नै भए । यहाँ जल्लाबल्दा नेताहरू धेरै भए । माओवादी नै माओवादीका रुपमा आउन सकेनन् । त्यो बेला बन्दुकको नालबाट सत्ता कब्जा गर्ने भनेका थिए । त्यो अनुसार काम पनि हुन सकेन । शान्ति प्रक्रियामा आए पनि माओवादी माओवादी रहेन । यहाँबाट गएका नेताहरू पटक पटक मन्त्री बने तर यहाँको अवस्थामा खासै परिवर्तन हुन सकेन । मन्त्री भएको समयमा बजेट धेरै हालेका हुन् । तर, त्यो बजेटमा भ्रष्टाचार पनि धेरै नै भयो । नेपाली कांग्रेसले ३५ वर्षमा गर्नेभन्दा धेरै भ्रष्टाचार माओवादीले १६ वर्षमा गर्यो । विकासको भन्दा पनि माओवादीहरू भ्रष्टाचारको प्रतिस्पर्धामा गएको देखिन्छ ।
० कमिशनका लागि प्रतिस्पर्धा भएको हो ?
कमिसन र भ्रष्टाचारमा नयाँ पुराना सबैमा देखिन्छ । पुरानाभन्दा नयाँमा यस्तो अझ बढी देखियो । कुनै व्यक्तिको रहनसहनले उसको अवस्था जानकारी हुन्छ । नेताहरूको आर्थिक अवस्थामा परिवर्तन भए पनि यहाँका जनतामा भने खासै परिवर्तन हुन सकेको छैन । पहिला सबै कांग्रेस भए । त्यसपछि सबै माओवादी भए । तर अहिले सबै बराबरको अवस्थामा छन् ।
० सूचना प्रविधि र महत्वाकांक्षाका कारणले पनि यो अवस्था आएको हो कि ?
हाम्रोमा जुन आशा गरिएको थियो, त्यो अनुसार सत्तामा जानेहरूले काम नगर्दाको परिणाम हो यो । अरुले गर्न सकेनन् भनेर माओवादीलाई पनि सत्तामा पठाइयो तर उनीहरूबाट पनि केही हुन सकेन । जसले गर्दा आम मानिसमा निराशा कायम भयो र त्यसको परिणाम अहिले हाम्रा युवाहरू विदेश जान बाध्य भएका छन् । राजनीतिक अस्थिरताका कारणले नै अहिलेको अवस्था आएको हो । राजनीतिक नेतृत्वमा नै विदेश गए पनि रेमिट्यान्स आउँछ भन्ने भावना देखियो । यही केही उत्पादन गरेर राम्रो गर्नुपर्छ भन्ने कसैमा पनि भएन । राजनीति गर्नेहरूले आफ्नो स्वार्थमात्रै हेरे । यहाँको श्रमशक्तिलाई यहीं प्रयोग गर्न सकिएन ।
० अहिले अवस्था जटिल बन्द गइरहेको छ । बैंकबाट ऋण पनि व्यवसायीहरूले लिएका छैनन् । अहिलेको अवस्थाबाट पार पाउनका लागि कसले गर्नु पर्ला ?
अहिलेको अवस्थाबाट पार पाउनका लागि राज्यले औद्योगिकीकरण गर्नुपर्छ र उद्योगमा लगानी गर्ने तथा हाम्रो श्रमशक्तिलाई विदेश जानबाट रोक्नुपर्छ । देशमा नै कमाउनु पर्छ भन्ने मानसिकताको विकास गर्नका लागि राज्यले ध्यान दिनुपर्छ । वैदेशिक रोजगारीमा जाने र नजानेहरूका लागि राज्यले दिने सुविधा फरक हुन्छ भनेर स्वदेशमा नै काम गर्नेहरूलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता देखिन्छ । जसले गर्दा आफ्नै देशमा काम गरेर रोजगारी सिर्जना गर्नेदेखि आम्दानी गर्नेसम्मको काम हुन्छ । यसले देशको विकास पनि हुन्छ । अर्थतन्त्रमा पनि टेवा पुग्छ । विदेश जानेहरूलाई निरुत्साहित गर्ने काम गर्न जरुरी छ । स्वदेशमा केही गर्नुपर्छ भन्नेलाई धेरै प्रोत्साहन गर्ने काम गर्नुपर्छ । यदि यसो गर्न सकिएन भने अहिलेको अवस्थामा कुनै पनि परिवर्तन हुन सक्दैन । दुःख भए पनि विदेशमा जाँदा धेरै पैसा कमाई हुन्छ । अहिले मान-प्रतिष्ठा भनेको नै पैसा भएको छ । यसले गर्दा समाजमा विकृति ल्याएको छ । विदेशमा श्रीमान हुन्दा यहाँ रहेको श्रीमती अर्कोसँग पोइला गइदिने क्रम पनि बढेको छ । अहिले हाम्रो समाज नै विकृत भइसकेको छ । यसको कारण वैदेशिक रोजगारी नै हो । विदेश जानैपर्ने भए पनि स्थानीय सरकारले नै उसलाई बाँझो रहने खेतबारीमा बहुवर्षीय विरुवा लगाएर जानका लागि आग्रह गर्नुपर्छ । त्यसो गर्दा विदेशबाट आएपछि पनि यहाँ उत्पादन भइरहेको हुन्छ र त्यसले विदेश गएर दुःख पाएपछि स्वदेशमा पनि गर्न सकिन्छ भन्ने महत्व बुझ्नलाई सहयोग पुग्छ । कृषि क्रान्ति नै हो देशको विकास र आम नेपालीको जीवनस्तरमा सुधार ल्याउने । हामी कृषि प्रधान देशका नागरिक भएकाले त्यसमा नै ध्यान दिनुपर्ने आवश्यकता हुन्छ । यसले गर्दा हामी सबैलाई सहज हुन्छ ।
प्रकाशित समय ११:२१ बजे




















