1100×100 Nabil Advert

गभर्नर अधिकारीले बुझाए अर्थमन्त्रीसमक्ष राष्ट्र बैंकको रिपोर्ट

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई समष्टिगत आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन हस्तान्तरण गरेका छन् । गभर्नर अधिकारीले अर्थमन्त्री पौडेललाई आजै सो प्रतिवेदन हस्तान्तरण गरेका हुन् । प्रतिवेदनमा विश्वको आर्थिक बृद्धिदरदेखि नेपालको आर्थिक बृद्धिदर, मुद्रास्फीतिको स्थिति, कर्जा तथा निक्षेपको स्थिति, बैंक तथा वित्तीय संस्थाहरुको स्थितिलगायत विविध विषयवस्तुलाई समेटेको छ । अर्थमन्त्री पौडेलसमक्ष बुझाइएको प्रतिवेदनको मुख्य बुँदा यस्ता छन् :

विश्व आर्थिक वृद्धिदर सन् २०२४ र २०२५ मा ३.२ प्रतिशत रहने प्रक्षेपण छ । अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा २०२४ अक्टोबरमा प्रकाशित ‘वल्र्ड इकोनोमिक आउटलुक’ अनुसार सन् २०२२ मा विश्वको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहेकोमा सन् २०२३ मा ३.३ प्रतिशत रहेको छ । सन् २०२४ मा विकसित देशहरूमा उपभोक्ता मुद्रास्फीति २.६ प्रतिशत र उदीयमान तथा विकासोन्मुख देशहरूमा ७.९ प्रतिशत रहने अनुमान छ । सन् २०२३ मा उपभोक्ता मुद्रास्फीति विकसित देशहरूमा ४.६ प्रतिशत र उदीयमान तथा विकासोन्मुख देशहरूमा ८.१ प्रतिशत रहेको थियो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक वर्ष २०८०-८१ मा नेपालको कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ३.५४ प्रतिशतले बढेको प्रारम्भिक अनुमान छ । समीक्षा वर्षमा आधारभूत मूल्यमा कृषि क्षेत्रको उत्पादन ३.०५ प्रतिशतले र गैर-कृषि क्षेत्रको उत्पादन ३.७५ प्रतिशतले बढेको अनुमान छ । आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीति २०८० साउन ७ गते सार्वजनिक गरिएको थियो । वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.५ प्रतिशतभित्र कायम राख्ने मौद्रिक नीतिको लक्ष्य रहेको थियो । साथै न्यूनतम ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेको थियो ।

आर्थिक वर्ष २०८०-८१ मा औसत उपभोक्ता मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष वार्षिक औसत मुद्रास्फीति ७.७४ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८०-८१ मा कुल वस्तु निर्यातमा ३.० प्रतिशतले कमी आई रु.१५२ अर्ब ३८ करोड र कुल वस्तु आयातमा १.२ प्रतिशतले कमी आई रु.१५९२ अर्ब ९९ करोड रहेको छ । समीक्षा वर्षमा कुल वस्तु व्यापार घाटा १.० प्रतिशतले घटेर रु.१४४० अर्ब ६० करोड रहेको छ । यो कुल गार्हस्थ्य उत्पादनको २५.३ प्रतिशत हो । आर्थिक वर्ष २०८०÷८१ मा चालु खाता रु.२२१ अर्ब ३४ करोडले र शोधनान्तर स्थिति रु.५०२ अर्ब ४९ करोडले बचतमा रहेको छ । २०८१ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति रु.२०४१ अर्ब १० करोड बराबर कायम भएको छ । अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड रहेको छ । २०८१ असार मसान्तमा कायम रहेको विदेशी विनिमय सञ्चितिले १५.६ महिनाको वस्तु आयात र १३.० महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ । आर्थिक वर्ष २०८०-८१ मा नेपाल सरकारको अन्य प्राप्ति समेत गरी रु.१० खर्ब ८२ अर्ब ७५ करोड राजस्व संकलन भएको छ । कुल सरकारी खर्च रु.१४ खर्ब ८ अर्ब २ करोड रहेको छ । आर्थिक वर्ष २०८०-८१ मा विस्तृत मुद्राप्रदाय १३.० प्रतिशतले बढेको र संकुचित मुद्राप्रदाय १.३ प्रतिशतले घटेको छ । त्यसैगरी, कुल आन्तरिक कर्जा ६.१ प्रतिशतले तथा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.१ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १३.० प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.८ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०८०-८१ मा खुला बजार कारोबारका विभिन्न उपकरणहरूमार्पmत कुल रु.४६ खर्ब ७३ अर्ब ६० करोड तरलता प्रशोचन गरिएको छ भने कुल रु.८ खर्ब ४ अर्ब ७६ करोड तरलता प्रवाह गरिएको छ । समीक्षा वर्षमा रु.१ अर्ब २० करोड स्थायी तरलता सुविधा उपयोग भएको छ । आर्थिक वर्ष २०८०-८१ मा बैंक तथा वित्तीय संस्थाहरूको भारित औसत अन्तरबैंक दर ३.६२ प्रतिशत रहेको छ । यस बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको संख्या २०८१ असारमा १०७ रहेको छ । यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त संस्था र १ पूर्वाधार विकास बैंक रहेका छन् । २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको शाखा संख्या ११,५३० रहेको छ ।

आर्थिक वर्ष २०८०-८१ मा वाणिज्य बैंकहरूको कुल सम्पत्ति-दायित्व १२.९ प्रतिशतले वृद्धि भई रु.७२ खर्ब २७ अर्ब ६० करोड, विकास बैंकहरूको ७.९ प्रतिशतले वृद्धि भई रु.७ खर्ब १७ अर्ब र वित्त कम्पनीहरूको ११.२ प्रतिशतले वृद्धि भई रु.१ खर्ब ६९ अर्ब ७२ करोड कायम भएको छ । त्यसैगरी, लघुवित्त वित्तीय संस्थाहरूको कुल सम्पत्ति-दायित्व १.३ प्रतिशतले घटेर रु.५ खर्ब ५३ अर्ब ७३ करोड कायम भएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोषले २०८१ असार मसान्तसम्म रु.२ खर्ब ५७ अर्ब ७२ करोड कर्जा र रु.१४ खर्ब ३० अर्ब ४६ करोड निक्षेप सुरक्षण गरेको छ ।

कर्जा सूचना केन्द्रबाट आर्थिक वर्ष २०८०-८१ मा २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी र ५७ लघुवित्त वित्तीय संस्थाले जम्मा ५८ लाख १५ हजार ८ सय ३५ कर्जाको सूचना माग गरेका थिए । उक्त केन्द्रमा कालो सूचीमा सूचीकृत ऋणीहरूको संख्या ९४ हजार ४ सय ७७ रहेको छ । २०८१ असार मसान्तमा नेप्से सूचकाङ्क २२४०.४ विन्दु रहेको छ । बजार पुँजीकरण रु.३५ खर्ब ५३ अर्ब ६८ करोड कायम भएको छ । बजार पुँजीकरणको कुल गार्हस्थ्य उत्पादनसंँगको अनुपात ६२.२९ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीतिमा उल्लिखित सम्पत्ति शुद्धीकरण निवारणसँग सम्बन्धित व्यवस्था, लघुवित्त वित्तीय संस्थाहरूको मर्जर र प्राप्तिलाई प्रोत्साहनसम्बन्धी व्यवस्था, राष्ट्रिय स्तरका विकास बैंकहरूले ‘क्यापिट एडिक्वेशी फ्रेमवर्क, २०१५’ अनुसार पुँजीकोष कायम गर्नुपर्ने व्यवस्था, बैंक तथा वित्तीय संस्थाबाट हुने लगानीसम्बन्धी व्यवस्था, तोकिएका क्षेत्रमा कर्जा लगानी गर्नुपर्ने सम्बन्धी व्यवस्था र बैंक तथा वित्तीय संस्थाबाट निश्चित सीमाभन्दा बढी कर्जा-सुविधा उपयोग गर्ने ऋणीहरूले अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था कार्यान्वयनमा आएका छन् ।
यस बैंक र वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूको वासलातको आधारमा मौद्रिक सर्वेक्षण तयार गरी प्रकाशन गरिंदै आएकोमा आर्थिक वर्ष २०८०-८१ बाट बीमा कम्पनीहरू, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, लघुवित्त वित्तीय संस्था, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र नेपाल पूर्वाधार बैंकसमेतलाई समेटी ‘वित्तीय क्षेत्र सर्वेक्षण’ प्रकाशन गर्न शुरु गरिएको छ ।

आर्थिक वर्ष २०८०-८१ मा रु.७३ अर्ब ९९ करोड ९० लाख बराबरका विभिन्न दरका ३५ करोड ३७ लाख ५० हजार थान नयाँ नोटहरू चलनचल्तीको लागि निष्काशन गरिएका थिए । २०८१ असार मसान्तसम्ममा कुल रु.६ खर्ब ९० अर्ब १५ करोड बराबरका विभिन्न दरका नोटहरू चलनचल्तीमा रहेका छन् । २०८१ असार मसान्तमा बैंकमा प्रशासनतर्फ १०७६ र प्राविधिकतर्फ ६२ गरी कुल ११३८ जना कर्मचारीहरू कार्यरत रहेका छन् । कार्यरत कुल मानव संसाधनमध्ये तहगत रुपमा हेर्दा अधिकृततर्फ ६३१, सहायकतर्फ ४३८ र श्रेणीविहीन कार्यालय सहयोगीतर्फ ६९ जना रहेका छन् ।
यस बैंकको भौतिक पूर्वाधार निर्माण गर्ने सन्दर्भमा निर्माण व्यवसायी सीआईसीओ-समानान्तर जेभीसँग भएको सम्झौता बमोजिम बालुवाटारस्थित केन्द्रीय कार्यालय भवन निर्माण भई २०८१ असार २८ मा हस्तान्तरण भइसकेको छ । यसैगरी, निर्माण व्यवसायी बीआईएलआईएल-कन्टेक जेभी नक्साल काठमाडौंसँग भएको सम्झौताअनुसार निर्माण भइरहेको थापाथलीस्थित भवनको समेत निर्माण कार्य सम्पन्न भई २०८१ असोज ५ मा हस्तान्तरण भइसकेको छ ।

आर्थिक वर्ष २०८०-८१ मा आरटिजीएस सिष्टमबाट कुल ८,२८,९७८ कारोबारमार्फत रु.३८३ खर्ब ६३ अर्ब ९५ करोड बराबरको नेपाली मुद्रा कारोबारको फछ्र्यौट तथा राफसाफ भएको छ । आर्थिक वर्ष २०८०÷८१ मा रु.१० अर्ब २९ करोड बराबरको विदेशी लगानी र रु.५८ अर्ब ९६ करोड बराबरको विदेशी ऋणको लेखाङ्कन भएको छ । वाणिज्य बैंकहरूबाट सुपरभाइजरी इन्फर्मेशन सिस्टम (एसआईएस) मार्फत प्राप्त हुने तथ्याङ्क तथा विवरणहरूको अनुगमन गर्ने गरिएको तथा एसआईएसको ‘अनसाइट इन्स्पेक्सन मोड्युल’ लागू गरी समानान्तररुपमा निरीक्षण प्रतिवेदन एसआईएसमार्फत नै गर्नुपर्ने व्यवस्था गरिएको छ । २०८१ असार मसान्तको वित्तीय अवस्थाको विवरणअनुसार यस बैंकको सम्पत्ति तथा दायित्व २०८० असार मसान्तको तुलनामा ३०.१५ प्रतिशतले वृद्वि भई रु.२० खर्ब ६७ अर्ब २ करोड ४३ लाख ७८ हजार कायम भएको छ ।

आर्थिक वर्ष २०८०-८१ को विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्याङ्कन लाभहानी समायोजन अघिको खुद आय अघिल्लो वर्षको तुलनामा २१.९६ प्रतिशतले वृद्धि भई रु.७३ अर्ब ७६ करोड २३ लाख २१ हजार कायम भएको छ । मिति २०८१ कात्तिक २९ गते बैंकको सञ्चालक समितिको बैठकले बैंकको खुद मुनाफाबाट विभिन्न आवश्यक कोषहरूमा छुट्ट्याउनु पर्ने रकम विनियोजन गरी बाँकी बचत रकम रु.३७ अर्ब २२ करोड ३८ लाख २१ हजार नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रकाशित समय १७:२२ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु