जेठोबुढो धानमा गभारो लागेपछि कृषक चिन्तित
गण्डकी । जेठोबुढो धानको ‘पकेट’ क्षेत्रका रुपमा परिचित पोखराको फेवाफाँटका किसान बालीमा गभारो लागेकाले चिन्तित छन् । बालमा अन्न लागेको छैन । पराल पनि पशुले नखानेगरी बिग्रिएको छ । गभारोका कारण यहाँको एक हजार रोपनी क्षेत्रफलमा लगाएको जेठोबुढो खेर गएको तथा अरोगका कारण पराल पनि उपयोग नहुने स्थानीय किसान देविललाल लामिछानेले दुखेसो गर्नुभयो । गभारोले यस अघि बाली सखाप नपारेको अनुभव उहाँले सुनाउनुभयो । रोगबारे आफूहरू अनभिज्ञ रहेको पीडत किसानले बताएका छन् ।
यसैबीच, पोखरा महानगरपालिका कृषि महाशाखाको एक टोलीले फेवाफाँट पुगेर बाली निरीक्षण गरेको छ । ‘फेवाफाँटमा गभारोको प्रकोप रहेछ । समयमा नै जानकारी पाएको भए क्षति घटाउन सकिन्थ्यो अब ढिलो भइसकेछ’, महाशाखा प्रमुख मनोहर कडरियाले भन्नुभयो । साथै उहाँले पीडित किसानलाई कृषि सम्बद्ध संस्थाहरूबाट सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।
प्रकाशित समय १०:४४ बजे


















