1100×100 Nabil Advert

जनताले वित्तीय संघीयताको अनुभूति गर्न पाउनुपर्छ (अन्तर्वार्ता)

देश संघीयतामा गएर त्यसको कार्यान्वयनमा अगाडि बढिरहेको भए पनि जनताले वित्तीय संघीयताको अनुभूति गर्न पाइरहेका छैनन् भन्नुहुन्छ नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगाना । देशभरका नगरपालिकाहरुको छाता संगठन नेपाल नगरपालिका संघले संघीयता कार्यान्वयनका सवालमा आइपर्ने विभिन्न विषयहरुमा काम गर्दै आइरहेको समयमा नेपाल नगरपालिका संघले गरिरहेका कार्य, यसले उठाउने आवाज, संघ र प्रदेश सरकारसँग गर्ने समन्वयकारी भूमिका, स्थानीय तहको बजेट कार्यान्वयनलगायतका विविध समसामयिक विषयमा केन्द्रित रहेर नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानासँग क्रसचेकका सम्पादक टंक कार्कीले गरेको कुराकानी :

० नेपाल नगरपालिका संघको स्थापना किन गरिएको हो ?

नेपाल नगरपालिका संघको मुख्य काम भनेको स्थानीय सरकारको हक अधिकारको वकालत गर्नेदेखि लिएर संविधानले दिएको अधिकारको संरक्षण गर्ने हो । २०५० सालमा तत्कालीन नगर प्रमुख बेखारत्न शाक्यको अध्यक्षतामा गठन भएको हो । नगरपालिका संघ, गाउँपालिका संघ र जिविस महासंघ स्थापना नभएको भए अहिले स्थानीय सरकारको रुपमा आउन सक्ने अवस्था थिएन । त्यतिखेर स्वायत्त शासन ऐन, २०५५ ल्याउने बेला संसद् घेर्ने, सिंहदरबार घेर्नेदेखि सडक आन्दोलनसम्म भयो । त्यो अवस्थामा हाम्रा साथीहरु हिरासतमा समेत बस्नु परेको थियो ।

० संघले स्थानीय तहका एकल अधिकारमा हस्तक्षेप गरेको भनिन्छ, के हो वास्तविकता ?

२०७२ को संविधानमा हामीले खोजेअनुसारको २२ वटा एकल अधिकार र स्थानीय निकायको रुपमा हिजो थियौं भने अहिले सरकारको रुपमा रहेका छौं । अहिलेको हाम्रो मुख्य काम भनेको अनुसूची ८ अनुसारका २२ वटा अधिकारको संरक्षण गर्नु हो । त्यस्तै अनुसूची ९ मा रहेका १५ वटा साझा अधिकारहरुको सूची अन्तर्गत रहेको छ, त्यसलाई सातवटै प्रदेश, मुख्यमन्त्री र स्थानीय सरकारको बीचमा हेटौंडामा कार्यक्रम राखेर त्यो विषयमा के गर्ने भनेर छलफल पनि गरेका छौं । त्यहाँ साझा अधिकारमा कसले कति चलाउने भन्ने विषयमा भागवण्डा पनि गरिसकिएको छ । राष्ट्रिय गाउँपालिका महासंघको अध्यक्ष र नेपाल नगरपालिका संघको अध्यक्षले प्रधानमन्त्री अध्यक्ष रहेको समन्वय परिषद्को सदस्य जो २०८० असार १६ मा बैठक बसेर शुरुवात गरेका छौं । त्यसमा ५ वटा ग्रुपमा छलफल र कार्यविस्तृतीकरण पनि तयार पारेका थियौं । तत्कालीन प्रधानमन्त्रीले चैत महिनाभित्रमा कार्यविस्तृतीकरण टुंग्याउने पनि भन्नुभएको थियो । हामीले माघ महिनामा नै कार्यविस्तृतीकरणको साझा अधिकारको विषयमा प्रतिवेदन पनि दिइसकेको अवस्था हो ।

० साझा अधिकार कसरी प्रयोग भइरहेको छ ?

अहिले हामीलाई साझा अधिकारको विषयले गर्दा समस्या भइरहेको छ । दोस्रो कुरा हामीलाई जुन २२ वटा एकल अधिकार दिइएको छ, ती अधिकारमा पनि हस्तक्षेप भएको अवस्था छ । जसले गर्दा हामीले त्यसलाई कार्यान्वयन गर्न पाएका छैनौं । हामीले देशभर के सर्कुलर गरेका छौं भने २२ वटा अधिकारको विषयमा ऐन नबनाएर एकल अधिकारको विषयमा कुनै पनि कार्यविधि र नियमावली नबनाउनु भनेका छौं । त्यो ऐन बन्न अलमल हुन्छ भनेर नेपाल नगरपालिका संघले ऐनको मस्यौदा बनाएर सबै पालिकामा पठाइसकेको अवस्था पनि छ ।

० संघीयता बलियो बनाउन के-के काम गर्नुपर्ला ?

संघीयता बलियो बनाउनका लागि सबैभन्दा ठूलो स्थानीय सरकार हो । स्थानीय सरकार संघीयताको जग हो । जबसम्म स्थानीय सरकार बलियो हुँदैन तबसम्म संघीयता पनि बलियो बन्न सक्दैन । मुख्यरुपमा तीन वटा विषय छन्, जसमा राजनीतिक संघीयता, वित्तीय संघीयता र प्रशासनिक संघीयता । यी तीन वटा कुरा मुख्यगरी स्थानीय सरकारलाई पूर्णरुपमा दिन सकियो भने संघीयताले सार्थकता पाउँछ । हिजो सिंहदरबारको अधिकार गाउँ-गाउँमा भनेर गरिएका नेताका भाषणले पनि सार्थकता पाउँछ । यसो गरियो भने राजनीतिक दलका घोषणामा लेखिएका जनताका अधिकार घरदैलोमा भन्ने कुराले पनि सार्थकता पाउँछ । अहिले यो कुराको अनुभूति हामीले गर्न पाएको अवस्था छैन । जनताले मुख्यगरी राजनीतिक संघीयताको मात्र महसुस गर्न पाएका छन् । हामीले विश्वलाई नै सिकाउन पनि सकेका छौं । त्यो के हो भने एकल अधिकार २२ वटा भएको संघीयता अन्य मुलुकमा कतै पनि छैन । अर्को कुरा भनेको समावेशीता । समावेशीतालाई हेर्ने हो भने एउटा वडामा एक जना महिला र अर्को दलित महिला हुनुपर्ने व्यवस्था रहेको छ । जसले गर्दा प्रत्येक वडामा दुई जना महिलाको सहभागिता हुने कुरा संविधानमा नै लेखिएको छ । यस्तो विषय पनि विश्वका अन्य मुलुकमा छैन । यी विषयमा विदेशीहरुले नेपालबाट सिक्नुपर्ने हुन्छ ।

० तपाईंको आशय प्रशासनिक संघीयता पाइएन भन्ने हो ?

यत्रो राजनीतिक सहभागिता गराउन सफल भए पनि अहिले पनि हाम्रोमा प्रशासनिक संघीयताको महशुस गर्न सकिएको छैन । किनभने प्रमुख प्रशासकीय अधिकृतहरु संघअन्तर्गत रहेका छन् । कर्मचारीहरु पनि ‘ओभरलोडेड’ भएर संघमा नै बसिरहेको अवस्था छ । स्थानीय सरकारले कर्मचारीको संघीयताको विषयमा कुनै पनि चासो दिएको देखिंदैन । अहिले पनि कर्मचारीका लागि निजामति कर्मचारी ऐन, २०२८ नै चलाइरहेको अवस्था छ । अहिलेसम्म ऐन पनि नयाँ बन्न सकेको छैन ।

० वित्तीय संघीयताचाहिं कार्यान्वयन भएको छ त ?

स्थानीय सरकारले वित्तीय संघीयताको कुनै महशुस गर्न सकेको अवस्था छैन । अघिल्लो आर्थिक वर्षको अन्तिम किस्ताको रकम काटिएर आएपछि सिंहदरबार घेर्नु परेको थियो । आर्थिक वर्ष २०८०-८१ मा पनि करिब–करिब २६ प्रतिशत (२५.८९ प्रतिशत) बजेट काटिएको अवस्था थियो । हामीले गत जेठ २० गतेबाट अर्थमन्त्रालय घेराऊ गर्ने काम पनि गर्‍यौं । असार २ गते बसेर यदि १० गतेभित्र संघीय सरकारले हाम्रो वित्तीय समानीकरणको पैसा दिएन भने १३ गतेबाट सिंहदरबार घेराऊ कार्यक्रम राख्ने, ७५३ वटै पालिकाहरु, ६ हजार ७४३ वटै वडाहरुबाट सबै जनप्रतिनिधिहरु आएर आन्दोलन गर्ने भनिसकेपछि असार ११ गते कटौती भएकोमध्ये ९३ प्रतिशत रकम भुक्तानी भएको अवस्था छ । अझै पनि ७ प्रतिशत रकम रोकिएको छ । त्यो ७ प्रतिशत रकम कटौती नै भयो, आएको छैन । निर्वाचनमा एउटा साधारण दलित, सीमान्तकृत मानिसलाई लगेर उठाइएको हुन्छ । निर्वाचन सकिएपछि त्यसको हिसाव–किताब बुझाउन निर्वाचन आयोगले कानूनीरुपमा व्यवस्था गरेको थियो । तर एक जना वडा सदस्यले पनि हिसाव नबुझाएको कारण डेढ लाखदेखि महानगरको मेयरलाई साढे ७ लाख रुपैयाँसम्म दण्ड र जरिवानाको परिस्थिति सिर्जना गरियो । यसमा पनि नेपाल नगरपालिका संघकै नेतृत्वमा राष्ट्रपतिसम्म पुगेर मिनाहा गराएका छौं ।

० स्थानीय तहलाई दिइने बजेटबारे तपाईंको धारणा के छ ?

संघीय सरकारबाट हामीलाई चारवटा शीर्षकमा बजेट आउँछ । जसमा एउटा समपुरक शीर्षक छ । यसमा आधा पैसा संघको हुन्छ, आधा पैसा स्थानीय सरकारको हुन्छ । स्थानीय सरकारले सिफारिश गरेअनुसारको योजना नै तोकेर आएको हुन्छ । अर्को विशेष अनुदानमा आएको हुन्छ । खानेपानीदेखि लिएर ओरेन्टेशनसम्म, आयआर्जनसम्मका कामका लागि आउँछ । यो सबै संघीय सरकारको नै हो, स्थानीय सरकारले त्यसमा कुनै रकम हाल्नु पर्दैन । अर्को भनेको वित्तीय समानीकरण अन्तर्गतको बजेट आउँछ । यो भनेको हामीले निर्णय गरेर आफ्नो आवश्यकताअनुसार खर्च गर्न पाउने व्यवस्था छ । यो हाम्रो मुख्य स्रोत हो । अर्को हुन्छ सशर्त अनुदान, जुन संघीय सरकारले नै तोकेर दिएको हुन्छ । १० हजार, ५ हजार पनि संघबाट नै तोकेर आएको हुन्छ । पहिले क्याविनेटले नै निर्णय गरेको थियो, ३ करोडभन्दा तलका योजना संघीय सरकारले नगर्ने भनेको थियो । तर अहिले २ लाख, ४ लाखका योजना पनि आएको छ । जसले गर्दा संघीयताको उपहास भएको जस्तो आभास पनि भइरहेको छ । मैले व्यक्तिगतरुपमा बुझेको संघीयता के हो भने ८५ प्रतिशत काम स्थानीय सरकारले गर्नुपर्छ । स्थानीय सरकारले गर्न नसकेको काम प्रदेश सरकारले गर्ने र प्रदेशले पनि गर्न नसकेको काममात्रै संघीय सरकारले गर्नुपर्छ भन्ने हो । प्रदेश सरकारको काम भनेको स्थानीय सरकार र संघीय सरकारको बीचमा पुलको काम गर्ने हो ।
संविधानले नै संघीय सरकारलाई ३५ वटा एकल अधिकार दिएको छ । प्रदेश सरकारलाई २१ वटा अधिकार दिइएको छ । मुख्यरुपमा संघीय सरकारले सुरक्षाका कुरा, परराष्ट्रका कुरा, सीमाना, आर्थिक कुरा (मुद्रण), ठूला–ठूला जलविद्युत आयोजनाहरु, जस्तै- बुढीगण्डकी, अरुण जस्ता आयोजना निर्माण गर्ने हो । प्रदेश सरकारले पुलका काम गरेर समन्वय गरेपछि बाँकी रहेका सबै कामको जिम्मेवारी त स्थानीय सरकारलाई आउनु पर्ने होइन र ? अर्को कुरा सांसदहरुले २ लाख, ४ लाखका योजना मागेर हिंड्ने होइन । मैले बुझेसम्म उहाँहरुले गर्ने काम के हो भने नियम, ऐन, कानून बनाउने हो । अहिलेसम्म शिक्षा ऐन, २०२८ नै चलिरहेको छ । यो भन्दा लाजमर्दो कुरा के हुन्छ । त्यतातिर ध्यान दिनुपर्ने हुन्छ । खाली २ लाख, ४ लाखका योजना मागेर हिंड्दा हाम्रा माननीय सांसदहरुको इज्जत भयो कि बेइज्जत भयो ? यो विषयलाई जनताले हेर्ने दृष्टिकोण के हुन्छ ? अहिले पनि १ लाख, डेढ लाखमा तोक लगाउन पाएकोमा नै खुसी भइराखेको अवस्था छ सांसदहरुलाई । यो संघीयता विरोधी र संघीयताको उपहास हो ।

० अहिले भइरहेका कामले संघीयतालाई बलियो बनाउन सम्भव छ ?

अहिले जुनरुपमा कामहरु भइरहेका छन् सबै संघीयता विरोधी भनौं या विपरित जे भने पनि त्यही भइरहेको छ । यसले संघीयता विरोधीलाई नै बल पुगिरहेको अवस्था छ । सबै स्थानीय तह स्वतन्त्र भएकाले आफ्नो क्षेत्रको आवश्यकता अनुसार काम गर्नुपर्छ । यसमा कसैलाई निर्देशन दिने कुरा पनि हुँदैन । भूगोल फरक भएकाले एउटै नीति बनाएर दिने कुरा पनि भएन । कसैको निर्देशन कसैले मान्नुपर्छ भन्ने अवस्था पनि छैन । सहमति, सहकार्य र समन्वयमा अघि बढ्ने हो । यसोभन्दा संघको, प्रदेशको कानून मान्दैनौं भनेको होइन । हामीले धारामा सफा पानी खोजेका छौं । तर मूल भने फोहोर छ । मूल सफा गर्ने हो भने धारामा स्वतः सङ्लो पानी आउँछ । हामीले हाम्रो निलकण्ठ नगरपालिकामा ‘मेरो उद्यमशील’ कार्यक्रम भनेको छु । तालिम लिइसकेपछि उसको इच्छा अनुसार १५ लाख रुपैयाँमा ४ वर्षका लागि काम गर्न पाउँछ । त्यसमा महिलाका लागि ६ प्रतिशत र पुरुषहरुका लागि ५ प्रतिशत ब्याजमा अनुदान पनि दिन्छौं । यो सबै पालिकाले आफ्नो अनुसार गर्न सक्ने कुरा भयो ।

० समग्रमा भन्नुपर्दा संघले कति बजेट एकमुष्ठ स्थानीय तहलाई देओस् भन्न चाहनुहुन्छ ?

यसोभन्दा संघीय सरकार र प्रदेश सरकारले के गरेका छन् भन्ने प्रश्न उठ्छ ? एउटा कार्यक्रम छ प्रधानमन्त्री स्वरोजगार, एउटा वडामा २ लाख, ३ लाख रुपैयाँ दिएर नाम लिस्ट तयार पारेर वर्षको सय दिन काम दिने भनिएको छ । ३६५ दिनमध्ये १०० दिन त्यो पनि दैनिक ७-८ सय रुपैयाँमा । त्यसले झार उखेल्ने र चौतारो बनाउनेबाहेक केही काम पनि हुँदैन । प्रधानमन्त्रीको नाममा त्यस्तो कार्यक्रम जोडेर उपहास गर्ने काम भएको छ । त्यसैले संघीय सरकारले जम्मा बजेटको ४०-५० प्रतिशत रकम एकमुष्ठरुपमा स्थानीय सरकारलाई दिनुपर्छ । सशर्तलाई बढाउने होइन समानीकरणको बजेट बढाउनुपर्छ । सशर्त अनुदानमा केही बजेट आएको छ भने पनि स्थानीय सरकारले आवश्यकताको आधारमा निर्णय गर्न पाउनुपर्छ । रेड बुक हेर्दा अर्ब नाघेको हुन्छ । अनि शिक्षकको तलब पनि त्यहीं हालिदिएको हुन्छ । स्वास्थ्यको २ हजार रुपैयाँको कार्यक्रम पनि तोकेर पठाइदिएको हुन्छ । यो त केन्द्रीकृत शासन व्यवस्थाभन्दा के फरक छ र ?

० संघ र प्रदेश सरकारका कामप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

संघीय सरकार र प्रदेश सरकारले सन्तुष्टि हुने खालको कुनै पनि काम गर्न सकेका छैनन् । कुनै काम गरेको भए पो काम गरेका छन् भन्न सकिन्छ । स्थानीय सरकारका अधिकारहरु स्थानीय सरकारले निर्वाधरुपमा प्रयोग गर्न पाउनु पर्‍यो । कुल बजेटको ५० प्रतिशत रकम स्थानीय तहमा पठाएको खण्डमा मात्र देशको विकास हुन्छ ।

प्रकाशित समय ०९:०१ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु