राष्ट्रियस्तरका विकास बैंक : कुनको लाभांश क्षमता कति ?
काठमाडौं । गत आर्थिक वर्षमा लाभांश क्षमताका हिसाबले कामना सेवा विकास बैंक सबैभन्दा अगाडि देखिएको छ । राष्ट्रिय स्तरका आठ वटा विकास बैंकहरुमध्ये २०८०–८१ का लागि सबैभन्दा राम्रो लाभांश क्षमता कामना विकास बैंकको, त्यसपछि गरिमा विकास बैंक, मुक्तिनाथ विकास बैंक रहेका छन् ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणका आधारमा सो क्षमता देखिएको हो । समीक्षा अवधिका लागि कामना सेवा विकास बैंकले आफ्ना सेयरधनीहरुलाई ११.९१ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको छ भने गरिमा विकास बैंकले १०.५२ प्रतिशत लाभांश वितरण गर्नसक्ने देखिन्छ ।
गरिमा विकास बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ, खूद नाफा ११३ करोड रुपैयाँ र खराब कर्जा अनुपात २.८९ प्रतिशत रहेको छ । विकास बैंकमध्ये गरिमा र मुक्तिनाथ विकास बैंकले मात्र १ अर्ब बढी नाफा कमाएका छन् । मुक्तिनाथले १२७ करोड नाफा कमाउँदा इपीएस भने १८.१५ रुपैयाँ रहेको छ । त्यसैगरी मुक्तिनाथको लाभांश क्षमता भने ४.७१ प्रतिशत रहेको छ । त्यसैगरी साइन रेसुंगा डेभलपमेन्ट बैंकले ६९.७४ करोड खूद नाफा कमाएको छ । यो बैंकको इपीएस १४.७३ रुपैयाँ रहेको छ भने खराब कर्जा अनुपात ३.४३ प्रतिशत छ । लाभांश क्षमता भने ८.१२ प्रतिशत रहेको छ । लाभांश क्षमताको हिसाबले राष्ट्रियस्तरका विकास बैंकमा साइन तेश्रो नम्बरमा देखिएको छ ।
महालक्ष्मी विकास बैंकले समीक्षा अवधिमा ४७ करोड बढी नाफा कमाएको छ भने इपीएस ११.२७ रुपैयाँ, एनपीएल ४.५८ प्रतिशत र लाभांश क्षमता ४.२५ प्रतिशत रहेको छ । सांग्रिला डेभलपमेन्ट बैंकले ५२ करोड नाफा कमाउँदा इपीएस १५.१७ रुपैयाँ रहेको छ । खराब कर्जा अनुपात ४.०८ प्रतिशत रहेको यो बैंकको लाभांश क्षमता ५.१८ प्रतिशत रहेको छ । ज्योति विकास बैंकको नाफा २४.६५ करोड, इपीएस ५.६१ रुपैयाँ रहेको छ । लुम्बिनी विकास बैंकले नाफा ६० करोड कमाएको छ भने यसको इपीएस १७.१६ रुपैयाँ, खराब कर्जा अनुपात ३.२९ प्रतिशत रहेको छ । यो बैंकको लाभांश क्षमता ७.४० प्रतिशत रहेको छ ।
प्रकाशित समय १२:०० बजे




















