1100×100 Nabil Advert

राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् उपाध्यक्षमा नेपाल निर्वाचित

काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्(इकोसक)को एसिया-प्रशान्त क्षेत्रको उपाध्यक्ष निर्वाचित भएको छ । राष्ट्रसङ्घका प्रमुख छ अङ्ग मध्येको एक निकाय इकोसकको उपाध्यक्षमा नेपाल चयन हुनु राष्ट्रका निम्ति गौरवको विषय भएको पूर्वराजदूत सुन्दरनाथ भट्टराईले बताउनुभयो । शान्ति स्थापना कार्यलगायत राष्ट्रसङ्घमा नेपालको रचनात्मक भूमिका तथा यो विश्व संस्थाको उद्देश्य र सिद्धान्तप्रतिको निष्ठाका कारण उक्त पदमा मुलुक निर्वाचित भएको उहाँले बताउनुभयो ।

चवन्न सदस्यीय इकोसकमा नेपालको नेतृत्व संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले गर्नुहुनेछ । आगामी वर्ष नेपाल एसिया-प्रशान्त क्षेत्रको अध्यक्ष हुनेछ । परिषद्मा नेपालसँगै पोल्याण्ड र कोष्टारिका पनि उपाध्यक्ष निर्वाचित भएका छन् । पूर्वी युरोपेली देशबाट पोल्याण्ड र ल्याटिन अमेरिकी एवं क्यारेबियन मुलुकहरूबाट कोष्टारिका चुनिएको संयुक्त राष्ट्रसङ्घीय सूचना केन्द्रले जनाएको छ । परिषद्को अध्यक्षमा क्यानडा निर्वाचित भएको छ । केन्द्रका अनुसार अफ्रिकी देशहरूबाट निकट भविष्यमा उपाध्यक्ष चयन गरिने छ ।

यसैबीच, राजदूत थापाले दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा परिषद्को कार्यादेशअनुसार सबै सदस्य राष्ट्रसँग निकट सम्पर्कमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अघिल्लो वर्षको जुनमा एसिया-प्रशान्त क्षेत्रबाट सर्वाधिक मत प्राप्त गरी सन् २०२४-२०२६ का लागि नेपाल परिषद्को सदस्य निर्वाचित भएको थियो । सामाजिक-आर्थिक विकासका माध्यमबाट समृद्धि हासिल गर्ने उद्देश्यले राष्टसङ्घको वडापत्रअनुसार सन् १९४५ मा परिषद् स्थापना भएको हो ।

प्रकाशित समय ०८:३१ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु