1100×100 Nabil Advert

मौद्रिक नीतिमार्फत् लगानीलाई प्रोत्साहन गर्ने नीति आउनुपर्ने हाम्रो माग हो : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीतिमार्फत् लगानीलाई प्रोत्साहन गर्ने नीति आउनुपर्ने बताउनुभएको छ । आर्थिक वर्ष २०८१/२०८२ को मौद्रिक नीति आउनुपूर्व उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष ढकालले भन्नुभयो- हामी विगत दुई वर्षयता निक्कै जटिल समस्यासंग जुधिरहेका छौ । अर्थतन्त्रमा संकुचन छ भने सर्वसाधारणमा निराशा व्याप्त छ । मुद्रास्फीति ४.४० प्रतिशत छ । यो कम हुँदै गएको छ । तर अघिल्ला तीन बर्षमा करिब ७ प्रतिशत माथिको मुल्यवृद्धि भएको थियो । समग्रमा कोभिडपछि बजार भाउ निक्कै बढेको छ । तर सर्वसाधारणको क्रयशक्ति सोही अनुसार बढन सकेको छैन । उद्यम व्यवसाय चल्न नसकेका कारण आम्दानी घटेको छ । नयाँ लगानी हुन नसक्दा रोजगारीका नयाँ अवसर पनि खुल्न सकेका छैनन् ।

विप्रेषण आप्रवाह १० महिनामै झण्डै १२ खर्ब पुगेको छ । जुन हालसम्मकै उच्च छ । यसरी आएको रकम बैंक, वित्तीय संस्थामा जम्मा भएको छ । यसले नयाँ माग सिर्जना गर्न नसक्नु हामीले सोच्नुपर्ने विषय हो । कोभिड अघि मासिक औसत १ खर्ब ६० अर्बको आयात भएकोमा अहिले एक खर्ब ३० अर्ब हाराहारी छ । आयात घटनु विदेशी विनिमय संचितिका लागि सुखद भएपनि यसले बजार चलायमान हुन नसकेको देखाएको छ ।

औद्योगिक कच्चा पदार्थ र मध्यस्थ वस्तुहरुको आयात पनि उत्साहजनक छैन । यसको अर्थ हो औद्योगिक गतिविधि संकुचित भइरहेका छन् । उत्पादनमूलक उद्योगहरु ३० देखि ४० प्रतिशत क्षमतामा चलिरहेका छन् । पर्यटन आगमन बढेको छ । तर विदेशिने विद्यार्थी र घुम्न जानेहरुबाट रकम पनि वाहिरिएको छ । तथापी विदेशी विनिमय संचिति साढे १९ खर्ब हाराहारी छ । यसले हरेक महिना रेकर्ड बनाइरहेको छ । साढे १२ महिनाको वस्तु तथा सेवा आयात गर्न यो रकम पर्याप्त छ । जबकि यस बर्षको मौद्रिक नीतिको लक्ष्य ७ महिना थियो । सोधनान्तर स्थितिमात्र नभई चालु खाता पनि धनात्मक छ ।

सञ्चिति सबल हुनु राम्रो हो तर अत्यधिक सञ्चिति हुनुले पनि आर्थिक गतिविधि सुस्ताएको संकेत गर्दछ । यस परिप्रेक्षमा हामीले बजेटमा पनि सुझाव दियौं । हाम्रा केही माग सम्बोधन भए पनि बजार चलायमान बनाउने नीति आउन सकेनन् । यसपछिको हाम्रो अपेक्षा मौद्रिक नीतिमा हो । यसैले हामी आज भेला भएका छौं । माथिका केही तथ्यांकले मैले उदाहरणमात्रै दिन खोजेको हुँ । हामी सबै अर्थतन्त्रबारे जानकार नै छौ । अब भने धेरै ढिला भैसक्यो सुधारका उपाय अवलम्बन गरेनौ भने निराशा थप बढने छ ।

यस्तो अवस्थामा के गर्ने त ? यो प्रश्न स्वभाविक हो । यसबारे केन्द्रीय बैंक जानकार छ । तर पनि हामी केही सुझाव यहाँ पेश गर्न चाहन्छौं । पहिलो उत्पादनमूलक उद्योगको क्षमता बढाउनुपर्छ । ब्याजदर अन्यभन्दा कम गर्ने विषय पहिले पनि आएको थियो । यसको कार्यान्वयनका बारेमा नीतिले बोल्नुपर्छ ।

मागमा आएको संकुचनका कारण उद्योगहरुको ऋण तिर्ने क्षमता कम भएको छ भने त्यसलाई सम्बोधन गरिनुपर्छ । लगानीलाई प्रोत्साहन गर्ने नीति आउनुपर्ने हाम्रो माग हो । पर्यटन तत्काल प्रतिफल दिने क्षेत्र हो । पर्यटन पुर्वाधार र व्यवसायलाई प्रवर्द्धन गर्ने बिषयमा मौद्रिक नीतिले केही सोच्नुपर्छ । यसमा कर्जा प्रवाह सहज र सुलभ गरिनु उपयुक्त हुन्छ । गत वर्षभन्दा कर्जाको व्याजदर घटे तापनि निक्षेपको तुलनामा कर्जा प्रवाह आधामात्रै बढेको छ । नगद प्रवाहमा भएको समस्या, न्यून उत्पादन, निजी क्षेत्रको गिर्दो मनोबलका कारण नयाँ लगानीका योजनासमेत स्थगन भइरहेका छन् । पुराना लगानीकर्ताले लगानी बढाउने र नयाँ व्यवसायी नयाँ लगानी गर्न सकेका छैनन् ।

बजारमा माग सिर्जना गर्न गाउँ र साना सहरहरुमा सानो कर्जा सुविधा विस्तार गर्न बैंक वित्तीय संस्थाहरुलाई प्रोत्साहन गरिनुपर्छ । सहकारी र लघुवित्तमा आएको समस्याले अहिले रकम प्रवाह हुन सकेको छैन । यो बिषयलाई पनि नीतिले समेटनुपर्छ । अहिलेको अवस्थामा उद्योग व्यवसाय वन्द गर्नुपरेमा साँवा ब्याजको किस्ता तिर्ने प्रतिवद्धता भएका उद्योगहरु बन्द गर्न पाउने व्यवस्था गरी सहज कर्जा राफसाफको व्यवस्था गर्नुपर्छ । यसैगरी कर्जा चुक्ता गरिसकेपछि पनि ऋणीलाई लामो समयसम्म कालो सूचिमा राख्ने व्यवस्थाले पनि व्यवसायीलाई निरुत्साहित गरेको छ । यसतर्फ पनि म गभर्नरज्यूको ध्यानाकर्षण गराउन चाहन्छु ।

यसैगरी सेयर घरजग्गा, गर गहना कारोबारलाई सहज बनाउनेतर्फ पनि सोच्नुपर्ने हुन्छ । यसले बजार चलायमान बनाउन मद्दत पुग्छ । बैंक र व्यवसायी एउटै समस्यामा छौं । बैंक वित्तीय संस्थामा पनि समस्या देखिने हो कि भन्ने चर्चा हुन थालेको छ । खराब कर्जा अनुपात बढिरहेको छ । वित्तीय क्षेत्रलाई जोगाउनुपर्ने मात्र हैन अगाडि बढ्न पनि दिइनुपर्छ ।

सबै व्यवसायीको नियत खराब होइन । परिस्थितिका कारण समस्यामा पर्ने धेरै छन् । नीति–निर्माता पनि सुधारमै लागिरहनुभएको छ । तर नतिजा आउन सकेको छैन । हामी सबै एकै डुंगामा छौं । अब हामीले समीक्षा गर्नुपर्ने बेला भइसकेको छ । विगतमा फरक परिस्थितिमा ल्याइएका नीतिहरु अहिलेको अवस्थामा सान्दर्भिक भए-नभएको मूल्यांकन गरिनुपर्छ । आयात निरुत्साहित गर्ने, कर्जा नियन्त्रण गर्ने नीतिले असर अहिलेसम्म कायम छ भने सुधार गर्नुपर्छ । चालु पुँजी कर्जासम्बन्धि व्यवस्था अहिलेको परिस्थितिमा के कति र कति मात्रामा आवश्यक छ यसबारे पनि खुला छलफल हुनु आवश्यक छ । यही हाम्रो आग्रह छ ।

प्रकाशित समय २१:२४ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु