बाजुरामा नुन अभाव छैनः साल्ट ट्रेडिङ
बाजुरा । साल्ट ट्रेडिङ कर्पोरेशनको बाजुरास्थित डिपो कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै सेवाग्राहीलाई भीड नलाग्न आग्रह गरेको छ । नुन अभावको हल्लाले कार्यालयमा नुन लिन आउने सेवाग्राहीको भीड लागेपछि कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै नआत्तिन आग्रह गरेको हो । कार्यालय प्रमुख टेकबहादुर बुढाले जिल्लाका तीन वटै क्षेत्रमा नुनको आवश्यक मौज्दात यथावत रहेको बताउनुभयो । उहाँले वर्षायाममा नुन ढुवानीमा समस्या हुने गरेकाले आइतबार मात्रै बिक्री गर्ने गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार मार्तडीमा दुई सय ७३ क्विन्टल, कोल्टीमा तीन सय ८७ क्विन्टल र मौरेमा ७५ क्विन्टल नुन मौज्दात छ । ‘वर्षाको समयमा ढुवानी गर्दा समस्या हुने देखेर आइतबार मात्रै नुन बिक्री गन थालेपछि नुन अभावको हल्ला फैलिएको हुनसक्छ’, उहाँले भन्नुभयो, ‘हल्ला फैलिएपछि एकै घरका चारजनासम्म नुन लिन आएको पाइएको छ ।’
स्थानीय गोरख धामीले नुनको अभावको कुरा सुनेपछि आफू लाइन बस्न आएको बताउनुभयो । ‘नुनको कोटा काटिएको र नुन ढुवानी नहुने खबर सुनेपछि हामीहरु कार्यालय आएका हौँ, तर यहाँ नुनको मौज्दात पर्याप्त रहेको जानकारी पाइयो’, उहाँले भन्नुभयो । बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले पनि नुनको अभाव नभएको भन्दै भीड नगर्न आग्रह गर्नुभयो । उहाँका अनुसार प्रशासनले नुन र खाद्यान्नको मौज्दातको अवस्थाबारे निरन्तर अनुगमन गरिरहेको छ ।
प्रकाशित समय १३:१२ बजे




















