सलिको र डेल्क्रेडा नेपालबीच नेपालमा उधारो बिक्रि बिमा प्रवद्र्धनको समझदारी
काठमाडौं । नेपालमा निर्जीवन बीमा क्षेत्रको प्रतिष्ठित कम्पनि सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड ( सलिको) र उधारो बिक्रि व्यवस्थापन (ट्रेड क्रेडिट म्यानेजमेन्ट) तथा उधारो बिक्री बिमा सम्बन्धि विशेषज्ञता हासिल गरेको कम्पनी डेल्क्रेडा नेपालबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाली बजार अनुरुप उधारो बिक्री बीमाको सुभारम्भ तथा विकास गर्ने उद्देश्यले सहकार्य गर्ने समझदारी भएको छ, जसबाट व्यवसायीलगायत सरकारलाई पर्याप्त लाभहरू हुने देखिन्छ । समझदारी पत्रमा डेल्क्रेडा नेपालका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार पोखरेल र सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन् ।
यस सहकार्यको मुख्य लक्ष्य वित्तीय क्षेत्रमा स्थायित्व र पारदर्शिता सुनिश्चित गर्न संयुक्त रुपमा नेपाल बीमा प्राधिकरणलाई नेपालमा उधारो बिक्रि बिमाको लागि नियामक ढाँचा विकास गर्न सहयोग गर्नु हो । यस सहकार्यले तालिमका कार्यक्रमहरू आयोजना गरेर उधारो बिक्रि बिमाको फाइदाहरूका बारेमा व्यवसायहरूलाई सचेत र शिक्षित गर्ने पनि लक्ष्य राखेको छ । साथै डेल्क्रेडा नेपालले सलिको लाई उपयुक्त उधारो बिक्रि बिमा नीति विकास गर्न, प्राबिधिक समाधानहरू प्रदान गर्न र सुचारु सञ्चालनका लागि निरन्तररुपमा आवश्यक सेवा प्रदान गर्न मद्दत गर्नेछ । उधारो बिक्रि बिमाको सुरुवातले व्यवसाय, सरकार र बीमा उद्योगमा धेरै फाइदाहरू हुनेछ : व्यवसायलाई हुने फाइदाहरू कम्पनिको दाबी छ ।
जोखिम न्यूनीकरणः उधारो बिक्रि बीमाले व्यवसायहरूलाई तिनीहरूका ग्राहकहरूले भुक्तान नगर्ने जोखिमबाट जोगाउँदछ र तिनीहरूका नगद प्रवाहमा बाधा नपर्ने सुनिश्चित गर्दछ ।
क्रेडिट व्यवस्थापन :उधारो बिक्री बीमाबाट व्यवसायीहरूले आफ्ना ग्राहकहरूलाई प्रतिस्पर्धी क्रेडिट शर्तहरू बढाउन, व्यापार सम्बन्ध सुदृढ गर्न र आफ्नो बजार पहुँच विस्तार गर्न सहयोग पुर्याउँदछ ।
वित्तीय पहुँचः उधारो बिक्री बीमा गरिएको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरूले व्यवसायीहरुलाई अनुकूल शर्तमा सहजै ऋण प्रदान गर्ने देखिन्छ ।
स्थायित्व र वृद्धि : आफ्नो व्यवसायहरूलाई ऋण जोखिमहरूबाट जोगाएर, व्यवसायहरूले अझ बढी आत्मविश्वासका साथ दीर्घकालीन वृद्धि र स्थिरताको लागि योजना बनाउन सक्दछन् ।
यसबाट सरकारलाई समेत फाइदा पुग्दछ । सरकारले उधारो बिक्री बीमाको प्रयोगलाई बढावा दिएर, भुक्तानी नगरिएको बिजकहरूका कारण व्यवसाय विफलताको जोखिमलाई कम गर्दछ र अर्थतन्त्रको समग्र स्थिरतालाई बढाउँदछ । यसबाट कर राजस्वमा समेत बृद्धि हुन्छ । उधारो बिक्री बीमाको थप सुरक्षाको साथ व्यवसायहरू बढ्दै र फस्टाउन थालेपछि, उच्च व्यापार गतिविधि र कर राजस्वमा समेत वृद्धि हुनेछ ।
सुदृढ वित्तीय क्षेत्र र लगानी आकर्षणका लागि समेत मद्दत पुग्दछ । उधारो बिक्री बीमा बजारको विकासले नेपालको वित्तीय क्षेत्रको समग्र बल र लचिलोपनमा योगदान पुर्याउनेछ, थप लगानी आकर्षित गर्न र आर्थिक विकासलाई बढावा दिनेछ । सलिको र डेल्क्रेडा नेपालबीचको यो ऐतिहासिक समझदारी नेपालमा उधारो बिक्री बीमाको विकासमा अगाडि बढेको एउटा ठूलो खुड्किलो हो । आफ्नो विशेषज्ञता र स्रोतहरू संयोजन गरेर दुवै कम्पनीहरू सुरक्षित र गतिशील व्यापार वातावरण सिर्जना गर्न तयार छन्, जसले देशभर आर्थिक वृद्धि र स्थिरतालाई प्रोत्शाहन गर्छ ।
प्रकाशित समय १९:०६ बजे




















