1100×100 Nabil Advert

ढोरपाटनमा १० नाउर र सात झारलको शिकार

बागलुङ । वैधानिकरुपमा शिकार खेल्न पाइने नेपालकै एकमात्र सिकार आरक्ष ढोरपानटन सिकार आरक्षमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार भएको छ । दोस्रो शिकार याममा ढोरपाटन आरक्षले सिकार ब्लकमा वन्यजन्तु विभागको अनुमतिमा ११ नाउर, सात झारल र चार बनेलको शिकार गर्न अनुमति दिएको थियो । अनुमति पाएका तीन बनेलको शिकार गर्न नसकेको र एक नाउर र एक बनेलको सिकारका लागि अनुमति प्राप्त गरी राजश्व बुझाएका रसियन शिकारी शिकार खेल्नै नआएको ढोरपाटन सिकार आरक्ष कार्यालयका सूचना अधिकारी पशुपति अधिकारीले जानकारी दिनुभयो ।

सूचना अधिकारी अधिकारीका अनुसार विदेशी शिकारीले नाउर शिकारका लागि प्रतिस्पर्धाका आधारमा २१ लाख राजस्व बुझाएको र एक झारला लागि अधिकतम १८ लाख राजस्व बुझाएका थिए । उहाँले भन्नुभयो ‘दोस्रो वर्ष आरक्षमा सूचीकृत कम्पनीमध्ये पाँच कम्पनीमार्फत अमेरिका, रसिया, स्पेन, उज्बेकिस्तान, मेक्सिको र बुल्गेरियाका सिकारीले अनुमति पाएका थिए ।’

यसवर्ष स्पेनका तीन, अमेरिकाका दुई, बुल्गेरियाका दुई, रसियाका दुई, मेक्सिकोका एक र उज्बेकिस्तानका एक शिकारी छनोट भएका थिए । शिकारीहरु बन्दोबस्तीका सामग्रीसहित गत फागुन १८ गतेदेखि शिकार खेल्न शुरु गरेका थिए । शिकार खेल्ने क्रममा नेपाली सहयोगीसहित आरक्षका कर्मचारी पनि विदेशी सिकारीसँग खटिनुभएको आरक्षका प्रमुख वीरेन्द्र कँडेलले जानकारी दिनुभयो । विभागले हरेक वर्ष नाउर र झारलको सिकारका लागि कोटा निर्धारण गर्छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार वर्षको पहिलो शिकार याम असोज-मंसिरमा आठ नाउर, चार झारल र आठ बनेलको सिकार गरिएको थियो । सिकारका आरक्षको क्षेत्रलाई सेङ्ग, बार्से, दोगाडी, घुस्तुङ, सुर्तिवाङ, सुनदह र फागुने सात ब्लकमा विभाजन गरिएको छ । ढोरपाटन क्षेत्रमा बर्सेनि (असोज-मङ्सिर) पहिलो याम र (फागुन-वैशाख) मा दोस्रो याम गरी दुई चरणमा सिकार हुँदै आएको छ ।

आरक्षमा यसपटक नेपाल वाइल्डलाइफ एड्भेन्चर, हिमालय सफारिज, ग्लोबल सफारिज, नेपाल ट्राभल एक्पेडिसन र ओपन नेपाल वाइल्ड लाइफ सफारिजमार्फत शिकारी शिकार खेल्न अनुमति पाएका थिए । यसपटकको सबैभन्दा बढी शिकार घुस्तुङ, दोगाडी र सेङ्ग ब्लकमा शिकार भएको जनाइएको छ । विदेशी शिकारीसहितको समूहले १५ दिनभित्र तोकिएको ब्लकमा सिकार खेलिसक्नुपर्ने हुन्छ । जङ्गलमै बास बस्ने सिकारीले आरक्ष प्रवेश गरेपछि निर्धारित समयमा मात्रै शिकार खेल्न पाउँछन् । साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक शिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर शिकारको कोटा र राजस्व दर निर्धारण गर्छ । नाउर र झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकोप्टर सबै बन्दोबस्तीको सामग्री तयार गर्दा एक जना शिकारीले करिब ३० देखि ३५ लाखसम्म खर्च गर्ने गरेको आरक्ष कार्यालयले जनाएको छ । वि.सं. २०४४ सालमा स्थापना भएको शिकार आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको भए पनि आरक्षको मुख्य कार्यालय भने बागलुङको ढोरपाटन उपत्यकामा पर्छ । शिकार आरक्षको सुरक्षाका लागि २०७३ सालदेखि नेपाली सेनाले गर्दै आएको छ ।

प्रकाशित समय १४:०७ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु