पर्यटन बोर्ड सञ्चालक समितिका नवनियुक्त सदस्यहरुद्वारा नीतिगत सुधार तथा पर्यटन प्रवर्द्धनमा जोड
काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटन बोर्ड कार्यकारी समितिका नवनियुक्त सदस्यहरुलाई आइतवार औपचारिकरुपमा स्वागत गरेको छ । गत चैत्र १५ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल पर्यटन बोर्डको रिक्त तीन सदस्य पदमा पर्यटन व्यवसायीहरु ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई नियुक्त गरेको थियो । बोर्ड सदस्यको नियुक्तिसँगै माघ २२ देखि रिक्त रहेको बोर्डले पूर्णता पाएको छ । नवनियुक्त तीनै जना बोर्ड सदस्य लामो समयदेखि पर्यटन व्यवसायमा सक्रिय व्यवसायी हुनुहुन्छ । निजी क्षेत्रबाट मदन आचार्य र मिलन देवकोटा सदस्यका रुपमा हुनुहुन्छ ।
स्वागत कार्यक्रममा बोल्दै नवनियुक्त बोर्ड सदस्यहरुले पर्यटन बोर्डलाई चलायमान बनाउन आफूहरु नीतिगत सुधार, पर्यटन प्रवर्द्धनमा जोड दिने बताउनुभयो । उहाँहरुले निजी क्षेत्र, बोर्ड सदस्य तथा बोर्डका कर्मचारीहरुमा हुने सकारात्मक चिन्तन र कार्यलेमात्र पर्यटन बोर्डको गरिमालाई माथि उठाउन सकिने धारणा समेत राख्नुभयो । बोर्ड सदस्य ऋषिराम भण्डारीले पर्यटन प्रर्वद्धनका लागि नीतिगत तथा अन्य समस्याहरु समाधान गर्दै सबैलाई समेटेर अगाडी जान आफहरुले प्रयास गर्ने बताउनु भयो । यस्तै अर्का सदस्य राजेन्द्रबहादुर लामाले नेपालको पर्यटन विस्तारै लयमा फर्किदै गएको अवस्थामा यसलाई थप प्रभावकारी बनाउन अब ब्रेक थ्रु हुनेगरि काम गर्नुपर्नेमा जोड दिनु भयो । रामप्रसाद सापकोटाले आफूहरुको एकमात्र उद्देश्य नेपालको पर्यटन प्रर्वद्धन गर्नु रहेको उल्लेख गर्दै त्यसको लागि निजी क्षेत्र र बोर्डका कर्मचारीहरुको सुझावका आधारमा आफूहरु अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा नवनियुक्त बोर्ड सदस्हरुलाई स्वागत गर्दै बोर्डका निमित्त कार्यकारी प्रमुख नन्दिनी लाहे थापाले नयाँ सदस्यहरुको नियुक्तिसँगै बोर्डले पूर्णता पाएको उल्लेख गर्दै नयाँ सदस्यहरुका अनुभवहरुले नेपालको पर्यटन प्रवर्द्धन गर्न तथा बोर्डलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गर्नु भयो । सो अवसरमा निर्देशक मणीराज लामिछानेले पर्यटन बोर्डको समग्र अवस्था, भावी कार्ययोजना र चुनौतीका बारेमा प्रस्तुतीकरण दिनुभएको थियो । यस्तै निमित्त बजार निर्देशक लक्ष्मण गौतमले बोर्डले झेलिरहेका नीतिगत समस्या र समाधानका लागि भइरहेको प्रयास र बोर्डले गर्नुपर्ने थप पहलका बारेमा जानकारी गराउनु भएको थियो ।
प्रकाशित समय १९:२० बजे




















