1100×100 Nabil Advert

उद्यमी बन्न कृषि विज्ञान सङ्कायका ३१ विद्यार्थी छनोटमा

टीकापुर (कैलाली) । उद्यमशीलता विकास कार्यक्रमका लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्काय टीकापुरका ३१ विद्यार्थी छनोटमा परेका छन् । उद्यमशीलता विकासका लागि विश्वविद्यालयले मागेको प्रस्तावमा ३१ विद्यार्थीले आवदेन दिएपछि उनीहरुलाई ४५ घण्टाको तालिम दिइने भएको छ ।

तालिमपश्चात् कृषि विज्ञान सङ्कायले पाँच प्रस्तावना तयार गरी विश्वविद्यालय अनुदान आयोगमा पठाउन पाउनेछ । पठाएका प्रस्तावनामा छनोट भएका विद्यार्थी तथा युवा प्राध्यापकले रु ४० लाखसम्म सहयोग पाउनेछन् । सो रकम बिनाब्याजमा उद्यम विकासमा लगानी गर्न पाइनेछ । उद्यमशीलता विकासका लागि सुदूरपश्चिममा कृषि विज्ञान सङ्काय, टीकापुर बहुमुखी क्याम्पस गरी चार क्याम्पस छनोटमा परेका छन् । टीकापुर बहुमुखी क्याम्पसमा छनोटमा परेका विद्यार्थी यतिखेर तालिम लिइरहेका छन् ।

विश्वविद्यालयले उच्च शिक्षा अध्ययनपछि रोजगारीका लागि विद्यार्थी विदेश पलायन हुन थालेपछि स्वदेशमै उद्यमी तथा व्यापारी बनाउन यो कार्यक्रम ल्याएको हो । सिक्दै र कमाउँदै कार्यक्रमअन्तर्गत मागिएका प्रस्तावनामा यहाँका विद्यार्थीले नर्सरी, च्याउखेती, अचार गुन्दु्रक बनाउने, साग व्यवसाय, अदुवा, बेसारखेती, लसुन, खुर्सानीको अचार, दुग्ध प्रशोधन, अत्तर बनाउने, केराको रेशाबाट कपडा बनाउने, फोहर व्यवस्थापन, प्राङ्गारिक मल, बेतबाँसका सामग्री निर्माण तथा बजारीकरण गर्ने प्रस्तावमा उल्लेख गरेको कृषि विज्ञान सङ्कायका उपप्राध्यापक सन्तोष उपाध्यायले बताउनुभयो ।

“अब हाम्रा विद्यार्थी स्वदेशमै उद्यमतिर लागून् भन्ने उद्देश्य हो, विश्वविद्यालय अनुदान आयोगले विद्यार्थीलाई उद्यमी बनाउने सघाउने कार्यक्रम ल्याएको हो”, उहाँ भन्नुहुन्छ, “उद्यमी भएमा आफू पनि स्वरोजगार हुने र अरुलाई पनि रोजगारी दिनसक्ने भएकाले यो कार्यक्रम प्रभावकारी हुनेछ, यहाँ पहिलो वर्ष भएकाले ३१ विद्यार्थीले रुचि देखाउनुभएको छ ।”

कृषि विज्ञ तथा कृषि पर्यटन व्यवसायी कालु हमालले उद्यमी बन्न भोक र श्रद्धा चाहिने बताउनुभयो । उहाँले कृषि पर्यटनमा काम गरेमा नेपालमा भविष्य राम्रो रहेको बताउँदै बजारको हिसाब गरेर व्यवसाय गरेमा घाटा नहुनेमा जोड दिनुभयो । “विद्यार्थी पढेर विदेश जाने, स्वदेशमै बसेर जागिर नै खानुपर्छ भन्ने छैन”, उहाँले भन्नुभयो, “मैले उद्यमी भएर समाजलाई सन्देश दिन सकिन्छ र आत्मनिर्भर पनि भइन्छ भनेर देखाएको छु, उद्यमी बन्न इच्छाशक्ति र आफ्नो पेसामा श्रद्धा चाहिन्छ ।”

टीकापुर बहुमुखी क्याम्पसका प्रमुख ढविन्द्र रावलले उद्यमी बन्न इच्छाशक्ति ठूलो कुरा भएको जनाउँदै व्यवसायसँग सम्बन्धित विचार कोरल्न यो कार्यक्रम सहयोगी हुने बताउनुभयो । “यो ४५ घण्टाको तालिमले उहाँहरुलाई व्यवसायका लागि निखार्नेछ, यो कार्यक्रममा सफल उद्यमी र असफल उद्यमीका अनुभवसमेत सुन्नुहुनेछ”, उहाँले भन्नुभयो ।

टीकापुरस्थित करुणा नर्सरीका सञ्चालक लालबहादुर चौधरीले सफलता पाउन ज्ञान, सीप भएर मात्र नहुने जनाउँदै समय, श्रम र लगानी चाहिने बताउनुभयो । “सरकारले आर्थिक लगानी गरिदिनेछ”, उहाँले भन्नुभयो, “अब समय दिने र श्रम खर्चिने जिम्मा उहाँहरुको हो, यति गर्नसकेमा जुनसुकै क्षेत्रमा पनि सफलता पाउन सकिन्छ ।”

कृषि विज्ञान सङ्कायका प्रमुख डा विष्णुविलास अधिकारीले अनुदान आयोगमा छनोटमा नपरेका विद्यार्थीलाई उद्यमी बन्न आर्थिक स्रोतको समस्या नहुने बताउनुभयो ।

प्रकाशित समय १४:५० बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु