1100×100 Nabil Advert

समुदाय-गाउँ बनाउने हो भने बजेटचाहिं स्थानीय सरकारलाई नै पठाउनुपर्छ : अध्यक्ष बाँठामगर (अन्तर्वार्ता)

जबसम्म गाउँघरमा बस्ने मानिसहरुको जीवनस्तरमा उल्लेख्य परिवर्तन हुँदैन, तबसम्म मुलुकको विकास भयो भन्नु जायज होइन । स्थानीय तहहरु अहिले जनताको प्रत्यक्षरुपमा सेवा गर्ने सरकारको प्रतिनिधित्व गर्दछन् । उनीहरुले नै जनताका दैनिक जीवनमा आइपर्ने हरेक समस्यासँग पौंठेजोरी खेल्नुपर्ने, जस-अपजसको भागिदार बन्नुपर्ने हुन्छ । राम्रो काम गरे पनि, खराब काम गरे पनि ती सबैका लागि ताली वा गाली खाने भनेकै अहिले स्थानीय तहका जनप्रतिनिधिहरुले हो, स्थानीय सरकारले हो । भौगोलिक हिसाबले विविधतायुक्त नेपालका धेरैजति भूभाग पहाडी क्षेत्रमा पर्दछन् भने कतिपय हिमाली जिल्लामा पर्दछन् । कठिन भूगोल होस् या सुगम, सबै ठाउँका जनतालाई राज्यले कुनै पनि ढंगले भेदभाव गर्नु हुँदैन । समानुपातिक ढंगले मुलुकको विकास गर्न आवश्यक छ । संघीयता निर्माणपछि बनेका स्थानीय तहहरुलाई सर्वसाधारणले गाउँ–गाउँमा सिंहदरबार आएको भनेर बुझ्ने गरेका छन् । यस्तो बेलामा गाउँ–घरमै सेवा सुविधा प्राप्त गर्ने आशा र अपेक्षा बढ्नु स्वभाविकै हो । तर पनि स्थानीय तहका सरकार प्रमुखहरुले झेल्ने गरेको सबैभन्दा ठूलो समस्या भनेकै अपर्याप्त बजेटको हो । विगतका आर्थिक वर्षहरुमा भन्दा संघीय सरकारले बजेट बढाएर पठाउनुपर्नेमा क्रमशः घटाउँदै लगेको छ । त्यसबाट स्थानीय तहले राम्रोसँग काम गर्न सकिरहेका छैनन् । आगामी आर्थिक वर्षको बजेट निर्माण हुँदाचाहिं प्रत्यक्षरुपमा दिइने बजेट स्थानीय तहका लागि व्यापकरुपमा बृद्धि होस् भन्नुहुन्छ त्रिवेणी गाउँपालिकाका अध्यक्ष कर्णबहादुर बाँठामगर । अध्यक्ष बाँठामगरसँग त्रिवेणी गाउँपालिकाको विकास–निर्माणका कार्यहरु, उत्पादनसँग सम्बन्धित विषयवस्तु, स्वरोजगारको अवस्था, पर्यटकीय क्षेत्रको संरक्षण, प्रवद्र्धन र विस्तारको स्थितिलगायत विविधि विषयमा केन्द्रित रहेर क्रसचेकका सम्पादक टंक कार्कीले गरेको कुराकानीको सम्पादित अंश :

० त्रिवेणी गाउँपालिका प्रमुख भइसकेपछि के–के काम गर्नुभयो ?
शैक्षिक क्षेत्रतिर हामीले एनजीएमएल भन्ने यो बहुकक्षा बहुस्तर शुरु गरेका छौं । हामीले यो इण्डिकेटर बनाएर उनीहरूको गुणस्तर कायम गर्ने कुरा अगाडि बढाएका छौं शैक्षिकतिर । बिद्युततिर चाहिं हामीले पहिले जुन कार्यक्रम राखेका थियौं उज्यालो कार्यक्रम, हाम्रो संस्थापकज्युले गरेको कार्यक्रमलाई नै निरन्तरता गरेर अगाडि बढिरहेको छ । कृषि क्षेत्रमा यो पटक सबैबाट हाम्रो कारोबार हेर्दाखेरी लगभग ३५ करोड जति कारोबार भएको देखिन्छ आयआर्जनतिर स्थानीय उत्पादित वस्तुको बजार ।

० तपाईंहरूको क्षेत्रका विशेष उत्पादन के के हुन् ?
यस त्रिवेणी गाउँपालिका भित्र उत्पादन हुने खाद्यान्न बालीमा धान, गहुँ, मकै, तोरी, चना, मसुरो आदि छन् भने फलफुलहरूमा केरा, आँप, मेवा, चिल्ली, अम्बा र नासपाती आदि प्रमुख छन् । जसमध्ये अन्नबालीमा धान, गहुँ, मकै हुन् भने नगदेबालीमा तोरी, केराउ, उखु, चना, मास, मसुरो, खुर्सानी र बेसार हुन् । यस गाउँपालिकामा उत्पादन हुने तरकारी लौका, करेला, आलु, मुला, रायो, काउली, सागपात, भिण्डी, भेन्टा, बोडी, फर्सी, टमाटर, खुर्सानी, बन्दा, काक्रो, चिचिण्डो, सिमी, लसुन, प्याज आदि हुन् । साथै कृषि तथा पशु सेवाका लागि यस गाउँपालिकाको सबै वडामा एक–एक कृषि तथा पशु प्राविधिक उपलब्ध गराइएको छ । विभिन्न समयमा विभिन्न रुपमा कृषकलाई कृषि तथा पशु सेवाका अनुदान प्रदान गर्दै आएको यस गाउँपालिकाले आफ्ना कृषक जनतालाई फलफुल तथा तरकारी बिउ बितरण, आधुनिक कृषि प्रणाली तथा परम्परागत शैलीबारे ज्ञान पाठशाला प्रदान गरेको छ ।

० तपाईंको कार्यकालभित्र कतिजति मानिसलाई स्वरोजगार बनाउने लक्ष्य राख्नुभएको छ ?
यो साल चाहिं हामीले ६ सय जनाको टार्गेट अगाडि बढाइरहेका छौं । अर्को साल एक हजार पुर्‍याउने र लाष्टसम्म दुई हजारसम्म पुर्‍याएर एउटा जुन हामीले महिला स्वास्थ्य स्वयमसेविकाको भोलेन्टियरको रुपमा खटाएका छौं हामीले स्वास्थ्य क्षेत्रमा, यस्तै ढंगले अगाडि बढ्न सक्छ भन्ने कन्सेप्टले अगाडि बढिरहेका छौं ।

० पर्यटकीय क्षेत्रहरूको संरक्षण, प्रवद्र्धन र प्रचार–प्रसार कसरी गरिरहनुभएको छ ?
धानखानी गुफा, बौद्ध गुफा, भुवनेश्वरी मन्दिर, घोरढुङ्गा, शिवमन्दिर गुप्ति दह, शिवगुफा दार्शनिक केन्द्र, गामाकोट बराहक्षेत्र स्थल, वागपाइले, पोखरडाँडा, राधाकृष्ण मन्दिर र चुलिफिजे (३००० मि.), जय बाबा मन्दिर, भगवति कालिका मन्दिर, चिरेखोला शिव मन्दिर, बच्चा पाइला ओढार भालुदुला दुम्ला, ढोरेनी तिनताले अनन्त-ओढार, थुर्पा (२२२१) मिटर, गौरीमाता मन्दिर छन् । हामीले यहाँ प्यारालाइडिङ पनि सम्भावना छ भन्ने एउटा टेष्ट गरेका थियौं, त्यो पनि सफल भयो ।

० बसाइ सरेर जानेहरूको अवस्था कस्तो त्रिवेणी गाउँपालिकाबाट ?
बसाईसराई त रोग नै हो पहाडी क्षेत्रबाट तराई क्षेत्रमा जाने ।

० वैदेशिक रोजगारमा जाने, त्यो ठाउँ नै छोडेर लाखौं खर्च गरेर त्यतातिर अथवा अन्य देशतिर भासिने खालको त्यो पनि कतिको कस्तो छ ?
त्यो पनि छ । त्यो सबैमा त सम्भव छैन । पैसा कमाएका एकाध मानिसहरू अन्य देशतिर पनि जाने गरेका छन् । रोजगारीको सिलसिलामा जानेहरू त धेरै नै छन् ।

० विपत व्यवस्थापनसँग जुध्ने तयारी कस्तो छ ?
त्यो चाहिं हाम्रो मिटिङ बसिरहेका छौं बेला बेलामा । त्यसको लागि पूर्व तयारीको लागि कोषहरू पनि खडा छ । पूर्व तयारीस्वरुप विभिन्न ‘मूभमेन्ट’हरू चलाइरहेको छ ।

० संघीय सरकारको बजेट निर्माणको पूर्व तयारी भइरहँदा संघीय सरकारबाट, प्रदेश सरकारबाट छुट्टिने बजेटमा तपाईंहरू सन्तुष्ट हुनुहुन्छ कि हुनुहुन्न ? कतिपयले के भन्छन् भने संघीय सरकारको कूल बजेटमध्ये ५० प्रतिशत रकम सिधै स्थानीय तहलाई छुट्याउनुपर्छ भन्ने कुरा उठेको छ, तपाईंको धारणाचाहिं के छ ?
समुदाय गाउँ बनाउने हो भने बजेटचाहिं स्थानीय सरकारलाई नै पठाउनुपर्छ । अरुले माग गरेको जस्तो हाम्रो पनि साझा कुरा त्यही नै हो ।

० तपाईंहरूकोमा यदि कलकारखानाहरू खोल्नुपर्‍यो भने कच्चा पदार्थहरू कुन–कुन चीजको उपलब्ध हुनसक्ला, कस्तो खालको स्थिति छ ?
स्थानीय खालका खास कच्चा पदार्थहरू छैन । यहाँका स्थानीयको उत्पादन भने मकै, आलुका परिकारहरू बनाउने गर्नुपर्छ भन्ने लागेर यो सालचाहिं काम अघि बढाएका छौं । जस्तो कृषकका लागि कोल्डस्टोरहरू निर्माण गरेका छौं ।

० प्रदेश सरकारको भूमिकाप्रति तपाईंको धारणा के छ ?
संघीय संरचना बनाइसकेपछि कार्यान्वयन गर्ने आफ्नो ठाउँमा रह्यो । तर यो नेपाल जस्तो देशमा यो प्रक्रिया ‘लेन्दी’ भयो भन्ने कुरा हो । संघीय सरकारबाट पनि स्थानीय सरकारमा त्यती सहजरुपमा आउन सक्दैन ।

० अन्त्यमा जस्तो रोल्पा रुकुम भनेको त माओवादीको उद्गम स्थल नै हो । माओवादीले अहिलेसम्म तीन पटक नेतृत्व गरेको छ । नेतृत्व नै तीन पटक गर्‍यो सहभागिता भएको त धेरै पटक पनि भयो । जस्तो तपाईंहरूलाई त्यो माओवादी नेतृत्व गरिरहँदा खेरी थप हौसला हुने अथवा सरसहयोग हुनेखालको त्यस्तो केही अहिलेसम्म पाउनुभयो कि त्यस्तो फरक केही पाउनुभएको छैन ?
अलिक फरक गर्ने यो ठाउँबाट केही नमूना पनि अगाडि बढाऔं भन्ने खालको कुरा त हो । तर, यसो हेर्दाखेरी के पनि देखिन्छ भने त्यस्तो खालको हिजो द्वन्द्वको क्रममा अथवा द्वन्द्वपश्चात जे अपेक्षा गरिएको थियो, त्यो खालको चाहिं रोल्पाले पाएन । द्वन्द्वकालकै बेलामा एउटा शहीदमार्ग भनेर नामकरण गरियो, अहिले त्यसको स्तर हेर्ने हो भने त्यस्तै बिजोक छ । त्योदेखि लिएर हरेक विकास निर्माणका कुराहरूमा पनि जुन राज्यले दिनुपर्ने हिजोको जुन संरचनाले गर्नुपर्ने कुरामा त्यति ध्यान पुगेन अथवा ‘सपोर्ट’ पुगेन भने पनि हुन्छ ।

प्रकाशित समय ०८:५७ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु