आर्थिकरुपमा सक्षम बन्नका लागि आफ्नो उत्पादनमा जोड दिनुपर्ने हुन्छ : अध्यक्ष आचार्य (अन्तर्वार्ता)
आर्थिकरुपमा सक्षम बन्नका लागि आफ्नो उत्पादनमा जोड दिनुपर्ने हुन्छ । उत्पादन गर्ने भन्दा जग्गा बाँझो राखेर विदेश जाने क्रम बढेको छ । यो अवस्था निकै दुःखद हो । हामीले अहिले पनि जिल्ला बाहिरबाट सामान ल्याएर बिक्री वितरण गर्ने गरेका छौं । तर जिल्लाबाट बाहिर निकासीको कुरा गर्दा शून्यप्रायः छ । हामीले पनि जिल्ला बाहिर निकासी गर्न सक्नेगरी काम गर्न सकेको खण्डमा यहाँका जनताको जीवनस्तर र यहाँको आर्थिक अवस्थामा पनि सुधार हुने थियो । यसतर्फ स्थानीय सरकारको पनि ध्यान जान आवश्यक देखिन्छ भन्नुहुन्छ रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष केशवकुमार आचार्य । राष्ट्रिय समस्या जे जे छन्, ती सबैको प्रभाव रोल्पामा समेत परेको बताउनुहुन्छ अध्यक्ष आचार्य । आचार्यसँग रोल्पाको वर्तमान परिस्थिति, व्यवसायिक अवस्थालगायत विविध कुराहरु समेटेर क्रसचेकका सम्पादक टंक कार्कीले गरेको कुराकानीको सम्पादित अंश ।
० रोल्पाका उद्योग व्यवसायको अवस्था के छ ?
रोल्पा जिल्लाको उद्योग व्यवसायको कुरा गर्दा अन्य जिल्ला वा राष्ट्रियरुपमा जुन समस्या छ, त्यो समस्या यहाँ पनि रहेको छ । अन्य क्षेत्रमा ठूला उद्योग कलकारखाना भएकाले बढी प्रभाव परेको होला । तर हाम्रो जिल्लाको कुरा गर्दा धेरै ठूला उद्योगहरू पनि छैनन् । भएका उद्योगहरूको अवस्था पनि निकै नाजुक रहेको अवस्था छ । रोल्पा जिल्लाको कुरा गर्दा हाम्रोमा ठूलो उद्योग भनेको एउटा मात्रै छ । त्यो हो रोल्पा सिमेन्ट उद्योग । त्यसको अवस्था पनि अहिले निकै दयनीय रहेको छ । साना तथा मझौला उद्योगको अवस्था पनि त्यस्तै हो । हाम्रोमा साबुन उद्योगहरू खुल्छन् र बन्द भइहाल्ने अवस्था छ । केही महिला दिदी-बहिनीहरूले स्वरोजगार हुने गरी कामहरू गरिरहेका छन् । हाम्रोमा आफ्नो उत्पादन भन्दा पनि बाहिरबाट आयात गरेर ल्याएको सामान बिक्री गर्ने व्यवसायीहरू नै धेरै रहेका छन् । केही मात्रामा कृषि उत्पादनहरू पनि हुन्छ । विशेष गरेर बाहिरबाट ल्याएको सामान नै बिक्री वितरण हुने गरेको छ हाम्रोमा ।
० बैंकको ब्याजदरका कारण व्यवसायीहरूले समस्या भोगेको सुनिन्छ । रोल्पाको अवस्था के छ ?
हाम्रोमा बजार केन्द्रहरू ७-८ वटा रहेका छन् । यी केन्द्रहरूमा बैंकबाट ‘लोन’ लिएर व्यापार गरिएका छन् । अहिले भने धेरै सटरहरू बन्द भएको अवस्था छ । घरजग्गाहरू लिलाम हुने क्रम पनि बढेको नै छ । बढेको ब्याजदर र व्यापार नहुँदा व्यवसायीहरू मारमा परेका छन् ।
० तपाईंहरूको क्षेत्रबाट युवा जनशक्ति कत्तिको बैदेशिक रोजगारमा गएका छन् ? त्यसबाट गाउँघरमा कस्तो प्रभाव परेको छ ?
हाम्रोमा केही व्यक्तिहरू लोकसेवामा लागेको अवस्था छ । तर धेरै भन्दा धेरै युवाहरूको रोजाई विदेश नै भएको देखिन्छ । निकै ठूलो रकम खर्च गरेर विदेश गइरहेको अवस्था छ । ८०–८५ लाख खर्च गरेर अमेरिका लगायतका देशमा जानेक्रम पनि बढेको छ । यहाँ व्यापार गर्नका लागि ऋण लिनसक्ने अवस्था छैन । केही समय अघि पनि सुन्नुभयो होला रुकुमको एउटा गाउँका सबैजसो मानिस अमेरिका गएको कुरा । हाम्रोबाट भने त्यस्तो अवस्था छैन । तर विदेश जानेको संख्या निकै बढेको छ ।
० मुलुकमा राजनीतिक परिवर्तनको नेतृत्वकर्ता जन्माएको ठाउँ रोल्पा, त्यही पार्टीको नेतृत्व तीन पटक सरकारको नेतृत्व गर्न पुगेको छ, त्यसले रोल्पाको विकास निर्माणका कत्तिको भूमिका खेलेको छ ?
अहिले सडकहरू पुगेका छन् । बजेट पनि राम्रै आइरहेको हुन्छ । तर समितिहरू बनाएर काम गर्दा काम भएको देखिएको छैन । तल्लो स्तरका जनताको अवस्था जहाँको त्यहीं छ । राजनीति गर्ने नेताहरूको जीवनस्तरमा भने परिवर्तन भएको देखिन्छ । पहिला दुःख पाएका जनयुद्धमा होमिएका जनताको अवस्थामा अहिले पनि कुनै सुधार देखिंदैन । राजनीति गर्ने व्यक्तिहरूको कुरा गर्दा मसँगै पढेका र राजनीतिमा लागेकाहरूको जीवनमा निकै फरक आइसकेको छ । म व्यवसाय गरेर जहाँ पुगेको छु राजनीति गर्नेहरू त्यहाँभन्दा माथिल्लो तहमा पुगिसकेका अवस्था सबैका सामू घामझै छर्लङ्ग छ । राजनीति भनेको हामीले बुझेसम्म निस्वार्थरुपमा समाजको सेवा गर्ने हो । राजनीति गरेर पैसा कमाउने भन्ने त नहुनुपर्ने हो । तर हाम्रो देशको हालत यस्तै छ । रोल्पाको कुरा गर्दा पनि त्यस्तै हो । व्यापारीभन्दा नेता धनी भएको अवस्था छ । एउटा गाउँपालिका अध्यक्ष भएको व्यक्ति व्यवसायीभन्दा धनी बनेको स्पष्ट देखिएको छ । यो कसैसँग लुकाउनु पर्ने अवस्था छैन ।
० आर्थिक परिवर्तन किन हुन नसकेको होला ?
देशमा आर्थिक परिवर्तन गर्नका लागि अहिलेका नेताहरूबाट सम्भवै देखिंदैन । उनीहरू सबै विदेशीको इशारामा चलेका छन् । आफ्नो देश बनाउनका लागि त सबै पार्टीहरू मिल्नुपर्ने हो । देश र जनताको लागि काम गर्नुपर्ने हो । तर त्यसो हुन सकेको देखिंदैन । देश बनाउनलाई त सबै मिलेर काम गर्नुपर्ने हो । तर गठबन्धन भनेर भागबण्डाको राजनीति भएको छ । यस्तो अवस्थामा कसरी देशको विकास हुन सक्ला र ? सबै पार्टीमा सबै नराम्रा भन्ने पनि होइन । राम्राहरू अघि आउन नसकेको अवस्था छ ।
० आर्थिकरुपमा देशलाइ सम्पन्न बनाउनका लागि के गर्नु पर्ला ?
आर्थिकरुपमा सक्षम बन्नका लागि आफ्नो उत्पादनमा जोड दिनुपर्ने हुन्छ । उत्पादन गर्ने भन्दा जग्गा बाँझो राखेर विदेश जाने क्रम बढेको छ । यो अवस्था निकै दुःखद हो । हामीले अहिले पनि जिल्ला बाहिरबाट सामान ल्याएर बिक्री वितरण गर्ने गरेका छौं । तर जिल्लाबाट बाहिर निकासीको कुरा गर्दा शून्यप्रायः छ । हामीले पनि जिल्ला बाहिर निकासी गर्न सक्नेगरी काम गर्न सकेको खण्डमा यहाँका जनताको जीवनस्तर र यहाँको आर्थिक अवस्थामा पनि सुधार हुने थियो । यसतर्फ स्थानीय सरकारको पनि ध्यान जान आवश्यक देखिन्छ ।
प्रकाशित समय १३:१४ बजे




















