MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

‘पहिला सुन अनि थुन’ हुनुपर्नेमा ‘पहिले थुन अनि सुन’को प्रक्रियाले बढावा पाएकोमा बैंकरहरु चिन्तित

काठमाडौं । कमशल धितोमा ठूलो ऋण रकम प्रवाह गरेको आरोपमा एकैसाथ करिब एक दर्जन बैंकरहरुलाई सिआइबीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएपछि चिन्तित बनेका बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा संघहरुले सामूहिक विरोध गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले एक संयुक्त विज्ञप्ति जारी गर्दै बैंकिङ्ग कसूरसँग सम्बन्धित अनुसन्धान प्रक्रियामा ‘पहिला सुन अनि थुन’ हुनुपर्नेमा ‘पहिले थुन अनि सुन’ले बढावा पाएको भन्दै चिन्तासहित विरोध गरेका छन् ।

धितो मूल्यांकनको तुलनामा बढी कर्जा प्रवाह गरेको भन्दै तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका दुई प्रमुख कार्यकारी अधिकृतहरु तुल्सीराम गौतम र मनोज न्यौपानेसहित १० जना बैंकरलाई पक्राउ गरेर अनुसन्धानमा राखिएपछि बैंकहरुका प्रमुखहरुले समेत असन्तुष्टि जनाएका छन् ।

चार संस्थाले संयुक्त रुपमा जारी गरेको विज्ञप्ति जस्ताको तस्तै :

नेपालका बैंक तथा वित्तीय संस्थाहरुले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, नेपाल राष्ट्र बैंकबाट जारी हुने निर्देशनहरु तथा अन्य प्रचलित ऐन, नियमका साथै बैंकिङ्ग क्षेत्रका मान्य सिद्धान्तहरु समेतको पालना गरी पारदर्शी तरिकाले बैंकिङ्ग कारोवार गर्दै आइरहेको व्यहोरा सबैमा अवगत नै छ ।

नेपाल राष्ट्र बैंकबाट बैंकिङ्ग कारोवार गर्नका लागि इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरुको अधिनमा रही संस्थाहरुको आ-आफ्नै नीति तथा कार्यविधि बमोजिम आ-आफ्नो अधिकार क्षेत्र भित्र रहि निक्षेप संकलन तथा कर्जा लगानी गर्दै आएका छन् । बैंक तथा वित्तीय संस्थाहरुमा कुनै पनि लगानी सम्बन्धी कार्य गर्दा सोमा संलग्न हुने सबै कर्मचारी तथा संचालक समितिले विधिको पालना गरी असल मनसायबाट कार्य गर्दै आएको र कथंकदाचित कसैले गलत मनसाय वा नियतले काम गरेको अवस्थामा सोमा संलग्न व्यक्तिहरुलाई प्रचलित कानून बमोजिम कारवाही हिजोका दिनमा पनि भएको र अब पनि हुनुपर्नेमा हामीमा द्विविधा रहेको छैन । यसका लागि सम्बन्धित निकायलाई आवश्यक परेको खण्डमा बैंकका कर्मचारी, सम्बन्धित बैंक र नेपाल बैंकर्स संघ सहयोग र समन्वयको लागि सधैं तत्पर रहेको अवगत गराउन चाहन्छौं ।

प्रचलित कानून, नियमनकारी निकायबाट जारी निर्देशनहरु तथा बैंकिङ्ग क्षेत्रको मान्य सिद्धान्तहरुको अधिनमा रही काम गरिरहेका बैंक तथा वित्तीय संस्थाका कुनै पनि घटनामा प्रत्यक्ष संलग्न नभएका व्यक्तिहरुलाई समेत पदीय ओहोदा वा कागजातमा हस्ताक्षर गरेको कारण निजहरुले असल नियतबाट गरेको कामलाई वेवास्ता गर्दै अनाहकमा कारवाहीको भागिदार बनाइनु हुन्न भन्ने हाम्रो धारणा रहेको छ । अपराधी उम्किन नहुने तथा निर्दोषले सजाय पाउन नहुने भन्ने न्यायका सिद्धान्तमा हामी प्रतिवद्ध रहेका छौं । साथै, बैंकिङ्ग कसूरसँग सम्बन्धित अनुसन्धान प्रक्रिया “पहिला सुन अनि थुन” हुनु पर्नेमा “पहिले थुन अनि सुनको” प्रक्रियाले बढावा पाएको छ । यसले बैंकरहरुको मानसिक तथा सामाजिक अवस्थामा गम्भीर असर पुर्‍याएको, यसबाट यस क्षेत्रमा काम गर्ने कर्मचारीहरुको मनोवल खस्कन गई कर्जा विस्तारमा समेत प्रभाव पर्ने जाने र समग्र अर्थतन्त्रको विकासमा समेत यसले असर पुग्न जाने कुरा सम्बन्धीत सबैलाई अवगत गराउन चाहन्छौं ।

बैंक तथा वित्तीय संस्थाहरुले चल-अचल सम्पत्ति बाहेक परियोजना, व्यापार, नगद प्रवाह लगायत थुप्रै आधारहरु हेरेर नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरुको अधिनमा रही कर्जा प्रवाह गर्ने गर्दछन् । समस्त ग्राहकहरुको हक-हितलाई मुख्य प्राथमिकतामा राखी निक्षेपकर्ताहरुको बचतलाई सुरक्षित गर्दै, ऋणीहरुलाई कर्जा प्रवाह गरी देशमा आवश्यक पुँजी निर्माणमा यस क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यसरी पारदर्शी रुपमा नियामक निकायबाट निर्देशित सिद्घान्तलाई अक्षरस पालना गर्दै अगाडि बढिरहेको संवेदनशील वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरु भयरहित रुपमा काम गर्ने वातावरणको सुनिश्चितताको प्रत्याभूति गराउन सम्बन्धित निकायसँग हामी माग गर्दछौं ।

अतः बैंकिङ्ग क्षेत्र जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भइरहेको धरपकड एवं पक्राउबारे समस्त बैंकिङ्ग क्षेत्र नै चिन्तित र आतंकित बनेको, यसबाट यस क्षेत्रका कर्मचारीहरुको मनोवल समेत खस्कन गएका हुँदा राज्यका सम्बन्धित निकायहरु यस विषयमा गम्भीर भइदिन हामी आग्रह गर्दछौं । कर्जा लगानीका सम्बन्धमा नियामकीय निर्देशनको परिधिभित्र रहि आ-आफ्नो कर्जा नीति तथा कार्यविधिभित्र बसी बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले गरेको काम-कारवाहीलाई नै आधारमानी हुने धडपकड नरोकिएमा यस क्षेत्रमा ठूलो चुनौती आउनसक्ने भएकाले तत्कालै यसतर्फ गम्भीर भईदिन समेत हामी सम्बन्धित सबैलाई आग्रह गर्दछौं ।

प्रकाशित समय २१:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु