राष्ट्र बैंकको वित्तीय विवरण : आर्थिक अवस्थामा सुधार आएसँगै महंगी घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकको सार्वजनिक गरेको आर्थिक तथा वित्तीय विवरणले देशको आर्थिक स्थितिमा सुधार आए सँगै महंगी घटेको देखाएको छ । सोमवार राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ को रिपोर्टअनुसार, चालु आवको जेठ महिनामा वार्षिक उपभोक्ता मुद्रास्फीति १.७३ प्रतिशतले घटेको छ । यो मुद्र्रास्फीति दर गत वर्षको सोही अवधिको तुलनामा महंगी घटेको हो ।
जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.८३ प्रतिशत रहेकोमा अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.५६ प्रतिशत रहेको थियो । तथ्यांक अघिल्लो आवको तुलनामा १.७३ प्रतिशत कम हो । जसमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.७६ प्रतिशत रहेको छ ।
यस्तै, खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ३५.२९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.९८ प्रतिशत, रेष्टुरेण्ट तथा होटलको १४.३६ प्रतिशत, सुर्तीजन्य पदार्थको ८.४९ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको १३.०६ प्रतिशतले बढेको छ । तर,घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १६.६० प्रतिशतले घटेको छ । उक्त विवरणले समीक्षा महिनाको यो अवधिमा काठमाडौं उपत्यकामा ७.१९ प्रतिशत, तराईमा ६.९३, पहाडमा ६.२८ र हिमालमा ६.३९ प्रतिशत मुद्रास्फीति रहेको छ ।
प्रकाशित समय १५:१३ बजे