नबिल बैंकद्वारा एकसाथ तीन दर्जनभन्दा बढी शाखाको उद्घाटन
काठमाडौं । नबिल बैंक लिमिटेडले एक साथ ३८ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको ३८ वर्ष पार गरेको बैंकले बिहीबार केन्द्रीय स्तरमा एक विशेष कार्यक्रम गरी देशैभरका ३८ नयाँ शाखाको उद्घाटन गरिएको हो । ‘नबिल बैंक अब तपाईसँग अझै नजिक’ भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा एकैसाथ ३८ नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।
३८ नयाँ शाखामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्चालनमा ल्याइएको छ । त्यस्तै कोशी प्रदेशमा एक, मधेश प्रदेशमा आठ, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा दश, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा दुई वटा नयाँ शाखा सञ्चालनको लागि उद्घाटन गरिएको हो । नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले आठ वटा र बैंकका सञ्चालक निर्वाण चौधरीले आठ वटा शाखाहरु उद्घाटन गरेका हुन् । त्यस्तैगरी बैंकका सञ्चालक आशा राणा अधिकारीले थप आठ वटा र बैंक सञ्चालक अनन्त पौड्याल र प्रविन टिबडेवालाले थप सात–सात वटा शाखाको उद्घाटन गरे ।
डिजिटल उद्घाटन कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरू, बैंकका उच्चपदस्थ अधिकारीहरू र बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो । ३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको संख्या २५५ पुगेको छ । उद्घाटन गरिएका शाखा कार्यालयहरूबाट सेवाग्राही तथा ग्राहकहरूले आफूलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क गरी नबिल बैंकको सरल र सवल सुविधा लिनसमेत बैंकले आग्रह गरेको छ ।
एकसाथ उद्घाटन गरिएका शाखाहरुमा कोशी प्रदेशअन्तर्गत खोटाङको दिक्तेलमा, मधेश प्रदेशअन्तर्गत पर्साको वीरगञ्ज बाइपास, रौतहटको गरुडा, बाराको कलैया, महोत्तरीको गौशाला, सर्लाहीको बरथहवा र लालबन्दीमा, सप्तरीको कञ्चनपुर, महोत्तरी जलेश्वर रहेको छन् । त्यस्तै बागमती प्रदेशअन्तर्गत ललितपुर जिल्लाको प्रयाग पोखरी र चापागाउँ, काठमाडौंको नरेफाँट, भेडासिंह, लाजिम्पाट, बनस्थली, मच्छेगाउँ, फर्पिङ, बल्खु, नैकाप र बौद्ध रामहिटी, धादिङ जिल्लाको धादिङवेशी र भक्तपुर जिल्लाको ठिमीमा समेत शाखा खोलिएको छ ।
त्यस्तै गण्डकी प्रदेशअन्तर्गत बाग्लुङ जिल्लाको गल्कोट, तनहुँ जिल्लाको आबु खैरेनी, कास्की जिल्लाको अर्चलबोटमा समेत नबिल बैंकका शाखाहरु उद्घाटन गरिएको छ । त्यसैगरी लुम्बिनी प्रदेशअन्तर्गत रुपन्देहीको लुम्बिनी, कपिलवस्तुको तौलिहवा, नवलपरासी पश्चिमको रामग्राम, बर्दियाको गुलरिया, रुपन्देहीको फर्साटिकर, कपिलवस्तुको बाणगंगा, गुल्मीको तम्घास, रुपन्देहीको सुखानगर, बाँकेको भानुभक्त चोक न्युरोड र दाङको नारायणपुर रहेका छन् ।
उता कर्णाली प्रदेशअन्तर्गत जुम्ला जिल्लाको चन्दननाथमा शाखा उद्घाटन गरिएको छ भने सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलाली जिल्लाको बोराडाँडी र डडेललधुरा जिल्लाको अमरगढी गरी जम्मा ३८ वटा शाखाहरुको उद्घाटन गरिको हो । विगत ३८ वर्षदेखि ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको नबिल बैंकको नयाँ शाखाहरूले ग्राहकहरूलाई पूर्ण रूपमा अत्याधुनिक बैंकिङ सेवाहरू प्रदान गर्ने अपेक्षा राखिएको छ । मुलुककै अग्रणी बैंक मध्येको एक नबिल बैंकले समाज र विभिन्न वर्गका बैंकिङ आवश्यकताहरू पूरा गर्नका निम्ति देशका विभिन्न क्षेत्रहरूमा आफ्नो शाखाहरू निरन्तर विस्तार गरेको बैंकले जनाएको छ ।
प्रकाशित समय २१:३० बजे



















