V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

जेलबाट छुटेपछि रेशमले भने– यस्तो दूर्भाग्यपूर्ण घटना नहोस्

काठमाडौं । कैलालीको टीकापुर घटनाको दोषी भनेर अदालतले समेत दोषी ठहर्‍याएर जेल जीवन बिताइरहेका रेशम चौधरीलाई राष्ट्रपतिले आममाफी दिएपछि उनी आजै गणतन्त्र दिवसका दिन छुटेका छन् । उनी जेलबाट छुटेपछि भने– यस्तो दूर्भाग्यपूर्ण घटना नहोस् । चौधरीले रिहाईपछि खुशी हुँदै भने– टिकापुर घटनाको सन्दर्भमा कानूनको परिभाषा जान्ने विज्ञहरुले व्याख्या गर्लान् । तर, निर्दोष मान्छेलाई वर्षौं जेलमा सढाई राख्नु कानूनी परिभाषाको पूर्ण परिचय हुन्छ कि हुँदैन ? त्यो पनि विद्वान साथीहरुलाई सोधिदिनु पर्छ । अस्तिमात्रै साढे सात वर्ष जेल बसेर सम्माननीय अदालतले हाम्रा मित्र सन्तराम चौधरीलाई रिहा गर्‍यो । उहाँ बजारमा मासु किन्न जानु भएको थियो । उहाँलाई समातियो । र, जेल हालियो ।

धेरै साथीहरु बजारमा तरकारी बेच्दै थिए । कोही रिक्सा चलाउँदै थिए । कोही घाइतेलाई आफ्नै रिक्सामा राखेर उपचार गर्न लग्दै थिए । पोलिएकै भरमा कसैले, भनेकै भरमा यो दुर्भाग्यपूर्ण घटनाको फैसला गरिनु दुःखदायी विषय हो । अहिले पनि म भन्छु धरातलमा गएर उच्चस्तरीय छानविन कमिटी बनाइनुपर्छ । टिकापुर घटना कुनै बन्द कोठामा गरिएको होइन । टिकापुर घटनालाई हजारौै खाले साक्षातरुपमा देखेका छन् । कसले कसलाई मार्‍यो ? कसले कसलाई भाला रोप्यो ? कसले कसलाई खुकुरीले छप्कायो ? त्यो स्थानीय साक्षी र नाङ्गा आँखाले देख्नेहरु बोल्लान् ।

मलाई रिहा गरेकोमा सरकारलाई धन्यवाद छ । सरकारले गर्ने काम सरकारले गर्‍यो । सम्मानित अदालतले गर्ने काम अदालतले गर्‍यो । तर, म तपाईहरुले सोधेको प्रश्नमा भन्छु भने टिकापुर घटनाको कथा अर्कैै थियो । पटकथा अर्कै लेखियो । र, फिल्म अर्कै बन्यो । यो पटक कथा सार्वजनिक गर्नुपर्छ । तर, कतिपय यस्ता भित्रि पाटो हुन्छन् जसको भित्रि पाटो देखाइन्न । जस्तै, टिकापुर घटना भइरहँदा मेरो घरमा आगो लगाउनेहरुको, मेरो एफएम जलाउनेहरुको, मेरो रिसोर्टमा धुवाँ फुक्नेहरुको, मेरो लत्ताकपाडा, पुरातात्विक बस्तु जलाउनेहरुको करिब साढे तीन सय फोटो मसँग छन् ।

त्यसमध्ये, सय जना जति म चिन्दछु । के म अब उनीहरुको घर–घर गएर मेरो सामाग्री फिर्ता गर, नत्र जे पनि गर्छु भनेर थर्काउँ ? अब यसो हुँदैन । हामी जनप्रतिनिधि हौं । स्थानीय नागरिकको समस्या समाधान गर्ने हाम्रो दायित्व हो । तर, यहाँ भनिए जस्तो कथा कोरिनु पर्छ । फिल्म बनिनुपर्छ । अलिकति भए पनि दर्शकलाई यसको आभास दिलाउनै पर्छ ।

घटनाका पीडितसँग पक्कै पनि पीडा होला । तीन वर्ष रेशम चौधरीले भारतीय बजारमा टेम्पो चलाउँदा, आफ्नो नाङ्गो टाउकोमा दारुको पेटी बोक्दा, होस्टेलको वार्डेन बन्दा मलाई पनि पीडा नै भयो होला । जेलमा म बिरामी भएर उपचार गर्न जाँदा मेरो खुट्टामा लगाइएको २१ किलोको नेलले पनि भन्छ होला रेशम तँलाई जरुर पीडा भयो । पीडा उहाँहरुलाई पनि छ । पीडा हामीलाई पनि छ । पीडा हजारौै चेलीहरुलाई छ । टिकापुर घटनाको बारेमा मान्छेले कतिको नियालेको छ ? सयौं चेली हिंसामा पर्नु भएको छ । ७०/८० वर्षको बुबाआमाले पिटाई खानु भएको छ । सयौं घरहरुमा आगो लगाइएको छ । हजारौंको श्रीसम्पत्ति लुटिएको छ । यो घटनाको छानविन गर्दा दुवै पक्षका पीडितलाई जरुर मलमपट्टि लागेको महसुस भएको होला ।

सहादत प्राप्त गर्ने शहीदप्रति नागरिक उन्मुक्ति पार्टी र थरुहट आन्दोलनको पक्षबाट भावपूर्ण श्रद्धाञ्जली छ । उहाँहरुले न्याय पाउनुपर्छ । उहाँहरु र हामीबीच अन्तरक्रिया गरिनुपर्छ । उहाँहरुले हामीलाई दोषी देख्दै हुनुहुन्छ । हामी भन्दैछौं, जो दोषी छ, उसले त सजाय पाउँदै पाएन । जो दोषी थियो, ऊ त मन्त्री बन्यो । जो दोषी थियो, उसलाई त राज्य उपहार दियो । पुरस्कार दियो । यस्तो दूर्भाग्यपूर्ण घटना नहोस् । उहाँहरुले जो समक्ष न्यायको याचना गरिरहनु भएको छ । उहाँहरुले कतै पीडा दिनेहरुको घरको ढोका त ढक्ढकाइरहनु भएको छैन ? यो गम्भीर विषय हो ।

लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्छ । हामीले सम्मानित अदालतको फैसलालाई स्वीकार गरेर जेलमा जीवन बितायौं । सम्मानित अदालतले गरेको फैसलालाई सरकारले मान्ने की नमान्ने ? आखिर त्यस्तो रहस्य के छ ? जसलाई सार्वजनिक गर्न सकिंदैन । किन लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिँदैन ? रहस्यमय घटना त छ नि ? आयोगको प्रतिवेदन सार्वजनिक गरिनै पर्छ । त्यो नै उन्मुक्तिको फैसलाको पाटो हो ।

प्रकाशित समय १३:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010