गणतान्त्रिक व्यवस्था संस्थागत हुँदै गएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको गणतान्त्रिक व्यवस्था संस्थागत हुँदै गएको बताएका छन् । सोमबार गणतन्त्र दिवसको अवसरमा बोल्दै उनले सो कुरा बताएका हुन् । त्यस्तै प्रचण्डले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताए । ठूलो संघर्ष र बलिदानबाट प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई छिट्टै अति कम विकसित राष्ट्रबाट विकासशील र विकसित राष्ट्रमा रूपान्तरण गरी मुलुक र जनताको प्रतिष्ठा अभिवृद्धि गर्न वर्तमान सरकार क्रियाशील रहेको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।
प्रधानमन्त्री प्रचण्डले भने– ‘लोकतन्त्रको विकास लोकतन्त्र भित्रैबाट सम्भव छ भन्ने कुरा पछिल्ला दिनका कतिपय घटनाक्रमले पुष्टि गरिसकेका छन् । संविधान र गणतन्त्र सर्वस्वीकार्य बन्दै जानु, मौलिक हकको कार्यान्वयनमार्फत जनताले पाउने आधारभूत सेवा सहज बन्दै जानु, सयौँ वर्षदेखि उत्पीडनमा पारिएका वर्ग, जाति, भाषा, धर्म, क्षेत्र, लिङ्ग र संस्कृतिका समुदायको अधिकार स्थापित हुँदै नेपाल राज्यप्रतिको उनीहरूको अपनत्व बलियो बन्दै जानु गणतान्त्रिक व्यवस्था संस्थागत हुँदै गएको देखिने बलिया आधार हुन् ।’
नेपाली जनताले इतिहासका विभिन्न कालखण्डमा गरेका बलिदानीपूर्ण संघर्षको जगमा वि.सं. २०६५ जेठ १५ गते संविधानसभाबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने ऐतिहासिक निर्णय भएको उनको भनाई छ ।
प्रकाशित समय १२:३८ बजे