V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

नेपाल टेलिकमको कूल आम्दानी २.०६ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल टेलिकमले तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आ.व. को नौ महिनाको अवधि (२०७८ चैत्र मसान्त) सम्मको कुल आय रु. ३२ अर्ब ५३ करोड ६७ लाख २९ हजार रहेकोमा चालु आ.व. को सोही अवधि (२०७९ चैत्र मसान्त) सम्ममा कुल आय रु. ६७ करोड १८ लाख ३५ हजार (अर्थात् २.०६ प्रतिशत) ले वृद्धि भई रु. ३३ अर्ब २० करोड ८५ लाख ६५ हजार रहेको छ । चालू आर्थिक वर्षको चैत्र मसान्तसम्ममा कम्पनीको कूल सञ्चालन आम्दानी गत आर्थिक वर्षभन्दा ३.०९ प्रतिशतले कमी आएको छ ।

 

नेपाल टेलिकमको आ.व. २०७९/८० को तेस्रो त्रैमासिकको वित्तीय विवरणअनुसा गत आर्थिक वर्षको नौ महिनाको अवधि (२०७८ चैत्र मसान्त) सम्ममा कम्पनीको कुल सञ्चालन आय रु २८ अर्व २१ करोड ९६ लाख १२ हजार रहेकोमा चालु आ.व. को सोही अवधि (२०७९ चैत्र मसान्त) सम्ममा रु ८७ करोड २९ लाख ६४ हजार (अर्थात, ३.०९ प्रतिशत) ले कमी भई रु २७ अर्व ३४ करोड ६६ लाख ४७ हजार रहेको छ । गत आ.व. को नौ महिनाको अवधि (२०७८ चैत्र मसान्त) सम्मको खुद मुनाफा रु ५ अर्ब ४३ करोड ५३ लाख ४६ हजार रहेकोमा चालु आ.व. को सोही अवधि (२०७९ चैत्र मसान्त) सम्म रु. २ करोड ३३ लाख ७१ हजार (अर्थात् ०.४३ प्रतिशत) ले कमी भई रु ५ अर्व ४१ करोड १९ लाख ७४ हजार रहेको नेपाल टेलिकमले जनाएको छ । टेलिकमका अनुसार गत आवको नौ महिनाको अवधिको तुलनामा चालु आवमा खुद मुनाफा घट्नुमा कार्य संचालन आयमा वृद्धि हुनुलाई मानेको छ । डाटा सेवाको प्रयोगमा वृद्धि भएका कारण जिएसएम डाटातर्फ करिब रु. ७७ करोड ५० लाख २६ हजार वृद्धि भएको, अन्तरआवद्धतासम्बन्धी निर्देशिका अनुसार डोमेस्टिक अन्तरआवद्धता शुल्कमा कमी आएको र सो सँग सम्बन्धित खर्चमा समेत कमी आएकोले भएको नेपाल टेलिकमले जनाएको छ ।

 

त्यस्तै कार्य संचालन आयमा कमीलाई पनि अर्को कारण मानेको छ । अन्तरआवद्धता सम्वन्धी निर्देशिका अनुसार डोमेस्टिक अन्तरआवद्धता शुल्कमा कमी आएको र ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तरआवद्धता आयमा करिब ५७ करोड ५८ लाखले कमी भएको जनाएको छ । त्यसैगरी विभिन्न जनसरोकारका निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडा कार्यालयले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा कम्पनीले सेवा प्रवाह गर्न निर्माण गरेका कतिपय संरचनामा क्षति पुग्ने गरेको, आर्थिक ऐन, २०७९ बाट दूरसंचार सेवा दस्तुरमा भएको परिवर्तनको कारण राजस्वमा असर पर्न गएको, कम्पनीको लेखा नीति तथा एनएफआरएसबमोजिम गणना गर्दा इम्पेयरमेन्टमा गत आर्थिक वर्षमा भन्दा बढी खर्च आएकोले पनि टेलिकमलको आयमा कमी आएको हो ।

 

बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब रु.१ अर्ब ७३ करोड ९९ लाखले वृद्धि भएको छ । बिदेशी विनिमय दरमा भएको परिवर्तनका करिब रु.५ करोड ४६ लाख फरेन एक्सचेन्ज प्राप्त भएको भएको नेपाल टेलिकमले उल्लेख गरेको छ ।

प्रकाशित समय ०८:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010