लगानीकर्ताले आकर्षक प्रतिफल प्राप्त गर्न सक्छन् : सिइओ भट्ट

काठमाडौं । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्टले विभिन्न वित्तीय स्रोतबाट प्राप्त हुने श्रोतको मिश्रणले परियोजनाको वित्तीय सम्भाव्यता बढ्नुका साथै लगानीकर्ताले आकर्षक प्रतिफल समेत प्राप्त गर्नसक्ने बताउनुभएको छ । लगानी बोर्ड नेपालको कार्यालय र स्ट्याण्डर्ड चार्टर्ड बैंकको संयुक्त आयोजना तथा नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको सहकार्यमा एक दिवसीय ‘इन्टरनेशनल कन्फरेन्श अन फाइनान्सिङ फर नेपाल’ कार्यक्रममा सो कुरा बताउनुभएको हो ।
सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहालले आर्थिक–सामाजिक विकासका लागि आवश्यक लगानीको खाडल पूर्ति गर्न यस सम्मेलनले नवीनतम वित्तीय उपकरण एवं उपायहरू प्रस्तुत गर्ने उल्लेख गर्नुहुँदै सरकारले निजी लगानी प्रवद्र्धन, सहजीकरण र प्रोत्साहनका लागि कानूनी, संस्थागत र प्रक्रियागत सुधारलाई निरन्तरता दिदैं आएको बताउनुभयो ।
नीति निर्माता, निजी क्षेत्र, विकास साझेदार, बैंक तथा वित्तीय संस्थाहरू, विज्ञलगायत विविध क्षेत्रका प्रतिनिधिहरू उपस्थिति उक्त सम्मेलनलाई अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष डा.प्रकाशशरण महत, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट, काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.अच्युत वाग्ले, स्ट्याण्डर्ड चार्टर्ड बैंक युकेका सिनियर सस्टेनेबलिटी एडभाइजर डा.जोन मुर्टन, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका सीईओ अनिर्वाण घोष दस्तिदार लगायतले सम्बोधन गर्नुभएको थियो ।
उदघाटन सत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले लगानीका अतिरिक्त स्रोत परिचालनका लागि वित्तपोषणका नयाँ उपाय र औजारहरू आवश्यक रहेको भन्दै यस्ता स्रोत विद्यमान संरचना एवं व्यवस्थाहरूमा उपलब्ध स्रोतको “रिप्याकेजिङ” मात्र नभई थप स्रोतको उपलब्धता समेत हुनुपर्ने धारणा राख्नुभयो ।
लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले विभिन्न वित्तीय स्रोतबाट प्राप्त हुने श्रोतको मिश्रणले परियोजनाको वित्तीय सम्भाव्यता बढ्नुका साथै लगानीकर्ताले आकर्षक प्रतिफल समेत प्राप्त गर्न सक्ने धारणा राख्नुभयो । त्यस्तै, प्राध्यापक डा. अच्युत वाग्लेले सार्वजनिक वित्तका आफ्नै सीमितताहरू हुने भएकाले नेपालले महत्वकांक्षी विकास लक्ष्यहरू हासिल गर्नका लागि वित्त पोषणका नयाँ औजारहरूको खोजी र उपयोगमा जोड दिनुभयो ।
सम्मेलनमा लगानीको समष्टिगत अर्थतन्त्र, लगानी सम्बन्धी कानुनी, संस्थागत र कार्यान्वयनका व्यवस्थाहरू, नेपालमा वित्त पोषणः उपकरण र दायरा तथा स्रोत परिचालन र व्यवधान निवारणसम्बन्धी प्राविधिक सत्रहरू सञ्चालन भएका थिए । सम्मेलनको समापन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गर्नुभयो । उक्त अवसरमा बोल्दै गभर्नरले यस सम्मेलन नेपालको वित्त र मौद्रिक नीतिको तर्जुमाका लागि उपयोगी हुने विचार व्यक्त गर्नुभयो ।
प्रकाशित समय २१:५७ बजे