V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

विपद् पूर्वतयारीको कामलाई व्यवस्थित गर्न गृहमन्त्रीको कडा निर्देशन

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् पूर्वतयारीको कामलाई व्यवस्थित र प्रभावकारी ढंगले गर्न निर्देशन दिनुभएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले विपद् पूर्वतयारीको कामलाई व्यवस्थित र प्रभावकारी ढंगले अगाडी बढाउन निर्देशन दिनुभएको हो । उहाँले पूर्वतयारीमा यथास्थितिवादी सोच र व्यवहार भएको भन्ने टिप्पणी आउने गरेको भन्दै उहाँले आगामी दिनमा कुनै पनि कमी हुन दिनु नहुने बताउनु भयो । उहाँले असावधानीका कारण, अकर्मण्यताका कारण वा निर्णय कार्यान्वयन गर्न नसकेका कारण पुरानै अवस्था दोहोरिएको आफूले सुन्न र हेर्न नपरोस् भनि सम्बन्धित निकायलाई सचेत गराउनु भयो ।

 

उहाँले भन्नुभयो– ‘सधैं हाम्रो यथास्थितिवादी सोच र व्यवहार भयो भनेर टिप्पणी आउने गरेको छ । यद्यपी हामीले कानून, संरचनामा केही परिवर्तनहरु गरेका छौं । तर त्यसले सकारात्मक दिशातिर अगाडी बढाएको छ । तर पनि पूर्वतयारीको कुरामा कमी भयो भन्ने कुरालाई गहिरो आत्मसात् गर्नु जरुरी छ । तयारीलाई व्यवस्थित ढंगले, प्रभावकारी ढंगले अगाडी बढाउनुपर्ने आवश्यकता छ । त्यसमा सम्बन्धित प्राधिकरण र सम्बन्धित अरु सबै निकायहरुले पनि राम्रोसँग ध्यान दिन म विशेष अनुरोध गर्न चाहन्छु । फेरि गर्नसक्ने तयारी पनि हाम्रो असावधानिका कारणले, समयमा निर्णय नगरेर अकर्मण्य बस्नाका कारणले वा निर्णयहरुलाई ठिक ढंगले कार्यान्वयन गर्ने प्रक्रियामा नलगेको कारणले उस्तै हो फेरि भन्नेकुरा हेर्न, सुन्न नपरोस् । म यसमा विशेष जोड दिन चाहन्छु ।’

 

सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले डोटी, बाजुरा, लमजुङ, खोटाङ र भोजपुर केन्द्रबिन्दु भई भूकम्पबाट क्षतिग्रस्त घरपरिवारका लागि अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । साथै आसन्न मनसुन पूर्वतयारी तथा प्रतिकार्यको ठोस कार्ययोजना आगामी बैठकमा बनाउने पनि निर्णय भएको छ । बैठकमा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले हिउँदमा शितलहर तथा वर्षा याममा बाढी, पहिरो आउने कुरा निश्चित जस्तै भएकाले विपद्का लागि प्रभावकारी पूर्वतयारी हुनुपर्ने बताउनुभयो । उहाँले नेपालको मौसम पूर्वानुमानको विषय पनि विश्वसनीय बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले विपद् जोखिमको नाममा आर्थिक अनियमितता नगर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

 

उहाँले भन्नुभयो– ‘कर्मचारी साथीहरु जो कयौं अनियमितताको कुरा जोडिन्छ । यी कुरामा सचेत हुनुपर्छ । जोखिमको नाममा दिने अनि यता दायाँबायाँ गर्ने बाहिर नआओस् ।’ स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आगलागी नियन्त्रणका लागि दह्रो कदम चाल्न आवश्यक रहेको बताउनुभयो । उहाँले वन, जङ्गलमा आगो लगाउनेहरुलाई कडा कारबाही गर्ने कानूनी व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

 

उहाँले भन्नुभयो– ‘वनमा आगलागीको असर धेरै ठूलो देखिएको हुनाले यसलाई हामीले कुनै एउटा कानून, नियम नै बनाएर अलि कडा कारबाही गर्ने हिसाबले जानुपर्ने हो कि ? सामान्य कारबाही त अहिले भएकै विद्यमान कानूनहरुमै छन् । वन उपभोक्ता समितिले आगलागीका कुरा हेर्नुपर्ने यदी बेलाबखत यो हेरिएन भने उनीहरुको अधिकार कटौति गर्छौं भन्ने कुरा सरकारले गर्ने भन्ने भयो वन उपभोक्ता समिति ५० प्रतिशत यसलाई रेखदेख गर्न तयार हुन्छ ।’ उहाँले वन संरक्षणको जिम्मेवारी उपभोक्ता समितिहरुलाई दिइनुपर्ने र समितिले संरक्षणमा ध्यान नदिएमा उनीहरुको अधिकार कटौती गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित समय १५:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010