भ्रष्टाचार जघन्य अपराधमात्रै नभएर देशद्रोही काम हो

काठमाडौं । प्रतिनिधिसभाका सांसद्हरुले नक्कली भुटानी शरणार्थी प्रकरणका संलग्न सबैलाई कडा कारबाही गर्न सरकारसँग माग गर्नु भएको छ । प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का सांसद् ठाकुरप्रसाद गैरेले सो प्रकरणमा संलग्न सांसद्हरु सदनमा बोलिरहेको उल्लेख गर्दै उनीहरुलाई किन पक्राऊ नगरिएको भनि सरकारलाई प्रश्न समेत गर्नुभयो । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उहाँले पक्राऊ पूर्जी जारी गरिएका सो प्रकरणमा आशंका गरिएकाहरुमाथि छिटोभन्दा छिटो छानविन गरी कारबाहीको प्रक्रियामा ल्याउन सरकारलाई सचेत गराउनुभयो ।
सांसद् गैरेले यो प्रकरण जघन्य अपराध, देशद्रोही काम भएकाले दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताउनुभयो । उहाँले भन्नु भयो, ‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेशमा पठाउने र त्यसबापत करोडौं असुल गर्ने, भ्रष्टाचार गर्ने काम जघन्य अपराध हो । यो भ्रष्टाचारजन्य जघन्य अपराध मात्रै नभएर यो राष्ट्रघात हो । देशद्रोही काम हो । त्यसकारणले यस्तो काममा संलग्न मानिसहरुलाई छिटो भन्दा छिटो कारबाहीको प्रक्रियामा ल्याइनु पर्दछ । कारबाही गरिनु पर्दछ । यतिमात्रै होइन । हामीले सुनिरहेका छौं कि विभिन्न समाचार माध्यमहरुमा केही व्यक्तिहरु पक्राऊ परेका छन । केही सांसद्हरुलाई वारेन्ट गरिएको छ । भागी राख्नु भएको छ । केही सांसद् जो नोटिसमा हुनुहुन्छ । उहाँ सदनमै हुनुहुन्छ । सदनमा बोलिराख्नु भएको छ । यो के भएको हो ? म यो सदनमार्फत, सभामुखमार्फत् सरकारलाई यो विषयमा जाँचबुझ के भइरहेको छ ? छानवीन के भईरहेको छ ? यसमा संलग्न को हुन ? यसमा सरकारले के गरिरहेको छ ?’
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद् तेजुलाल चौंधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न गिरोहलाई बचाउनका लागि चलखेल भइरहेको उल्लेख गर्दै उनीहरुमाथि पनि कडा कारबाही गर्न सरकारसँग माग गर्नुभयो । उहाँले यो प्रकरणको निष्पक्ष छानविन गरी सबै दोषीलाई कारबाहीको दायरामा ल्याउन पनि सरकारलाई दवाव दिनुभयो । सांसद् चौधरीले भन्नु भयो, ‘गृह मन्त्रालय, जसले देशमा शान्ति सुरक्षा राख्दछ । त्यसको अस्तित्व हेर्दाखेरी भुटानी शरणार्थी बनाएर सो प्रकरणको ठूलो काण्ड भएको छ । त्यही मन्त्रालय अन्तरगत ठूल्ठूला काण्ड हुँदाहुँदै यो काण्ड पनि आएको छ । हिजो, आज पत्रपत्रिकामा, सामाजिक सञ्जालहरुमा व्यापकरुपमा सदनदेखि सडकसम्म शरणार्थी अमेरिका पठाउने सन्दर्भमा अगाडि बढिराखेको छ । म के आग्रह गर्न चाहन्छु भने यो ठगी प्रकरणलाई, यो गिरोहलाई बचाउनका लागि जुन किसिमको अहिले चलखेल चलिराखेको छ । त्यसलाई पनि कडाभन्दा कडा कारबाही गर्न माग गर्न चाहन्छु । यसमा यो वा त्यो, यो समय र त्यो समय नभनिकन निष्पक्ष रुपमा छानविन गरियोस् र, दोषीलाई कारबाही गरियोस् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले सो प्रकरणमा देशका ठूल्ठूला निकाय र राजनेताहरु नै संलग्न रहेको आरोप लगाउँदै आक्रोश व्यक्त गर्नुभयो । उहाँले सबै सांसद्हरुको सम्पत्ति संसद सचिवालयको वेबसाईटमा तत्काल सार्वजनिक गरि उनीहरुको सम्पत्तिको स्रोत खोज्न पनि सभामुखलाई निर्देशन दिन माग गर्नुभयो । सांसद् कार्कीले भन्नुभयो, ‘प्रश्न छ- यो सदन देश निर्माण गर्न छलफल गर्ने ठाउँ हो कि एक भ्रष्टाचारीले अर्काे भ्रष्टाचारीलाई जोगाउने प्रहशन स्थल हो ? नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश लैजाने काममा देशका ठूलाठूला निकाय र राजनेताहरु संलग्न भएको कुरा बाहिर आइरहेको छ । प्रहरीद्धारा पक्राऊ पूर्जी जारी गर्दासमेत जोगाउन खोजिएको छ । एकले अर्कालाई जोगाईरहने, काण्डै–काण्ड गरिरहने अनि देश डुबाइरहने ? अन्तराष्ट्रिय जगतमा राष्ट्रलाई नै, राज्यलाई नै दलाल स्थापित गराउने अनि के मुखले अनुदान माग्न जाने ? सबै सांसदहरुको सम्पत्ति वेबसाईटमार्फत् सार्वजनिक गरियोस् । करसहितको स्रोत खोज्न पनि निर्देशन दिइयोस् ।’ सांसद् कार्कीले संसद भ्रष्टाचारीहरुलाई जोगाउने प्रहशन स्थलजस्तो भएको भन्दै आपत्ति समेत जनाउनुभयो ।
प्रकाशित समय १४:१९ बजे