नेपाली भूमि चीनविरुद्ध प्रयोग हुँदैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूतबीच भेटवार्ता भएको छ । गृहमन्त्री श्रेष्ठ र चिनियाँ राजदूत चेन सङबीच गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको हो । भेटका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चीन–नेपालबीच ऐतिहासिक सम्बन्ध रहेको र चीनसँग नेपालको कुनै विवाद नरहेको बताउनुभयो । नेपाली भूमि चीनविरुद्ध कुनै पनि हालतमा प्रयोग हुन नदिने र नेपाल एक चीन नीतिप्रति सधैं कटिबद्ध रहेको श्रेष्ठको भनाइ छ ।चीनको तिब्बत स्वायत्त क्षेत्रले नेपाल प्रहरीलाई सहयोग गरेको २१ वटा ड्रोनका लागि मन्त्री श्रेष्ठले राजदूतलाई धन्यवाद दिनुभयो । उक्त ड्रोनहरू छिटै नेपाललाई हस्तान्तरण गर्ने व्यवस्था मिलाउने उहाँको भनाई छ । उपप्रधानमन्त्री श्रेष्ठले पारस्परिक कानूनी सहायता सम्झौता कार्यान्वयनका लागि समेत सम्बन्धित निकायसँग आग्रह गर्ने उल्लेख गर्नुभयो ।
दुई देशको सीमा जोडिएका जिल्लाहरूमा समकक्षी बैठक निरन्तर हुनुपर्ने र सीमामा कार्यरत दुई देशका पदाधिकारीहरूको सम्पर्क र समन्वय सघन बनाउनुपर्ने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ ।विगतमा सीमा क्षेत्रमा रहेका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई पास प्रदान गर्ने गरेको र उक्त व्यवस्थाले सीमा क्षेत्रका बासिन्दाहरूको दैनिक जीवन सहज बनाएको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले उक्त व्यवस्था पुनः सुचारु गर्न पहल गरिदिन आग्रह गर्नुभयो ।’
तातोपानी, रसुवा तथा हिल्सा नाका पुनः खुलेर पूर्णरूपमा सञ्चालनमा आएकोमा खुसी व्यक्त गर्नुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले थप नाकाहरू पनि चाँडै सञ्चालनमा ल्याउन पहल गरिदिन राजदूत सङलाई आग्रह गर्नुभयो । बझाङको साइपल, दार्चुलाको तिन्कर, गोर्खाको रुइला र मुगुमा व्यापार नाका खोल्नेतर्फ पहल गर्न पनि श्रेष्ठको आग्रह छ । जवाफमा चिनियाँ राजदूत सङले आफूले त्यसको पहल गर्ने विश्वास दिलाउनुभयो । सीमा क्षेत्रका पदाधिकारीहरूको सम्पर्क सघन बनाउने र समकक्षी बैठक गरिरहनुपर्ने उपप्रधानमन्त्री श्रेष्ठको रायमा आफू पनि सहमत रहेको उहाँको भनाइ छ ।
राजदूत सङले नेपालले सधैं एक चीन नीतिको समर्थन गर्दै आएकोमा धन्यवाद दिनुभयो । सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र त्यसपछि भएका उच्चस्तरीय भ्रमणहरूले नेपाल–चीन सम्बन्ध थप उचाइमा पुगेको उहाँको भनाइ छ । नेपाली भूमिलाई चीनविरोधी गतिविधिमा प्रयोग हुन नदिन र नेपालमा रहेका चिनियाँ लगानी र सम्पत्तिको सुरक्षामा नेपालको गृह प्रशासनले खेलेको भूमिकाको प्रशंसा गर्नुहुँदै राजदूत सङले यसको निरन्तरताको अपेक्षा गरेको उल्लेख गर्नुभयो । चिनियाँ राष्ट्रपति चिनफिङको नेपाल भ्रमणका क्रममा भएको पारस्परिक कानूनी सहायता सम्झौता कार्यान्वयनमा आवश्यक समन्वय गरिदिन सङले आग्रह गर्नुभयो । चीनको तिब्बत स्वायत्त क्षेत्रले नेपाल प्रहरीलाई सहयोग गरेको २१ वटा ड्रोनहरू छिटै नेपाललाई हस्तान्तरण गर्ने व्यवस्था मिलाउन सहजीकरण गरिदिन समेत उहाँले आग्रह गर्नुभयो ।
प्रकाशित समय २१:५९ बजे