बर्दघाट र आसपासका बासिन्दाहरुलाई अत्याधुनिक र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दछौं : सिइओ खालिङ्ग

नवलपरासी (पश्चिम) । एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले बर्दघाट र सो आसपासका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैकिङ्ग सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बर्दघाटमा एभरेष्ट बैंकको १२५ औं शाखाको उद्घाटन गर्दै सिइओ खालिङ्गले सो कुरा प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
उक्त शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा नवलपरासी पश्चिमका जिल्ल्ला सभापति केशवप्रसाद भण्डारी र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्तरुपमा गरेका छन् । उक्त उद्घाटन समारोहमा सशस्त्र प्रहरी बल नवलपरासी पश्चिमका प्रहरी वरिष्ठ उपरिक्षक किरण बस्नेत, बर्दघाट नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष वेधविना तिवारी, इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक विरेन्द्र केसी, बैंकका लुम्बिनी प्रदेशका प्रादेशिक प्रबन्धक लवप्रसाद कुईकेल साथै बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
सो उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा नवलपरासी पश्चिमका जिल्ल्ला सभापति केशवप्रसाद भण्डारीले बर्दघाटमा एभरेष्ट बैंकको आगमनले सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताउनुभयो । साथै बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले बर्दघाट र सो आसपासका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैकिङ्ग सेवा प्रदान गराउने प्रतिवद्धता व्यक्त गर्नुका साथै पञ्जाव नेशनल बैंक भारतसँगको साझेदारीले गर्दा स्थानीय बासिन्दा र पूर्व भारतीय गोर्खा सैनिकले पेन्सन तथा अन्य बैकिङ्ग सेवा तथा सुविधा उपभोग गर्न अझ सहज हुने विश्वास व्यक्त गर्नुभयो । यो सँगै लुम्बिनी प्रदेशमा बैंकको शाखा संख्या २२ पुगेको छ ।
पञ्जाव नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको तथा स्थापनाकालदेखि नै ग्राहकहरुको पहिलो रोजाइमा परेको एभरेष्ट बैंकमा हालसम्म करिब १३ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् । त्यस्तै देशैभरी छरिएर रहेको १२५ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६० एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिंदै आइरहेको छ ।
प्रकाशित समय २०:५२ बजे