नेपालगञ्जबाट पूर्वराजाले दिए दलहरुलाई झापड
नेपालगञ्ज । नेपालगञ्जबाट पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहले राजनीतिक दलहरुलाई दह्रो झापड दिएका छन् । उनले अहिलेको राजनीतिक परिस्थितिप्रति चिन्ता र चासो व्यक्त गर्दै भनेका छन्, ‘हाम्रो राजनीति तथा हाम्रो राज्य व्यवस्था नेताद्वारा नेताका निम्ति, दलद्वारा दलका निम्ति भइरहेको छ ।’
उनले घुमाउरो भाषामा दलहरुले अहिले कुनै पनि विकास गर्न नसकेको आरोपसमेत लगाएका छन् । जे जति नेपालमा विकास भयो, त्यो सबै दुई हजार दशको दशकदेखि चालिसको दशकसम्म भएको भन्दै ती अधिकांश कार्यको प्रशंसासमेत गरेका छन् । उनले दलहरुलाई सम्झाउँदै भनेका छन्– ‘विक्रम सम्वत्को दुई हजार दशको दशकदेखि चालीसको दशकसम्म नेपालमा पूर्वाधारको निर्माण, उद्योगहरूको स्थापना, औद्योगिक क्षेत्रको निर्माण र भविश्य सुधारका धेरै निर्माण संरचना तथा विधि प्रकृयाका कामहरू भए । महेन्द्र राजमार्ग, कोदारी राजमार्ग, पृथ्वी राजमार्ग, तराई पहाडमा शहरी विकास, शिक्षा तथा स्वास्थ्य केन्द्रको स्थापना, मूलुकी ऐन, भूमि सुधार, ग्रामीण उत्थान, नेपाल राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग, त्रिभूवन विश्वविद्यालय, महेन्द्र संस्कृत विश्वविद्यालय, नेपाल राजकीय प्रज्ञा प्रतिस्थानको स्थापना, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोष, महेन्द्र प्रकृति संरक्षण कोषका साथै धेरै कार्यकलाप त्यस अवधिका उल्लेख्य उपलब्धि हुन् ।’
नेपालगञ्जमा उनले सम्बोधन गर्दै भने– आज नेपालको यो ऐतिहासिक, औद्योगिक र व्यापारिक महत्वको नेपालगञ्ज नगरमा आएर तपाईहरू सामु दुईचार कुरा बोल्न पाउँदा मलाई खुसी लागेको छ । यो अवसर दिनुहुने आयोजक तथा उपस्थित यस क्षेत्रका जनसमूहप्रति आभार व्यक्त गर्दछु ।
बाँकेको यो नेपालगञ्ज हाम्रो यस क्षेत्रको केन्द्रवर्ती स्थल हो । बाँके, बर्दिया, कैलाली, कञ्चनपुरको यो भूभाग परिवन्दले हामीबाट केही समय गुमे पनि कालान्तरमा त्यो हामीभित्रै समाहित भयो । त्यो हाम्रो गौरवको विषय हो । हामी नेपाली, हाम्रो माटो र हाम्रो भूखण्डमा हाम्रो अपनत्व राख्दछौं र त्यसमा गर्व गर्दछौं । यस्तो गौरवको गति हामीले सदा राख्नु पर्दछ । हाम्रो यही मान्यता हो । नेपालको यो स्थापित पुरानो शहरमा पाइला टेकेपछि स्वभावत मलाई यहाँ रहेको परम आस्थाको पवित्र मन्दिर बागेश्वरीको याद आयो । अस्ति सोमबार साँझ म देवी भगवती बागेश्वरीको सन्ध्या आरतीमा संलग्न भएँ । मलाई अन्तरआत्मादेखि नै अपार आनन्दको अनुभूति भयो । त्यहाँ तपाईहरू नेपालगञ्जवासीको समेत उत्साहपूर्ण साथ रहेकोमा मलाई हर्षको पनि अनुभूति भयो ।
आजभन्दा चौसठ्ठी वर्षअघि यही भूमिमा उभिएर हाम्रा स्वर्गवासी बुबाज्यूले नेपालको तत्कालीन राज्य विधिका बारे नेपालका तत्कालीन राजनीतिक दलहरूलाई केही सचेतनामूलक सम्बोधन भएको हो । लामो अन्तरालपछि फेरि पनि उभिएर म आज देशको दशाका विषयमा त्यही र त्यस्तै कुरा गर्न विवश छु । मलाई दुःख लाग्छ– यो लामो अवधिसम्म पनि हाम्रो अवस्था त्यही र त्यस्तै परिस्थितिमा छ । देश बनाऊँ, देशवासीको अवस्था सुधारौं, व्यवस्था र पद्धति बसालौं, जनतालाई शान्ति, सुख समृद्धि दिउँ, हाम्रो भावना, धारणा र नारा आज पनि यही छ । नीतिहरू मध्येको सर्वश्रेष्ठ नीति राजनीति हो । तर अहिले पनि त्यसप्रकारको प्रजातान्त्रिक, त्यस प्रकारको राष्ट्रमुखी, जनमुखी र जनहितकारी हुन सकिरहेको देखिंदैन । हाम्रो कतिपय नीति, पद्धति देश र जनताका निम्ति हुनुपर्ने हो । तर बिडम्बना भन्नुपर्छ, हाम्रो राजनीति तथा हाम्रो राज्य व्यवस्था नेताद्वारा नेताका निम्ति, दलद्वारा दलका निम्ति भइरहेको छ ।
विक्रम सम्वत्को दुई हजार दशको दशकदेखि चालीसको दशकसम्म नेपालमा पूर्वाधारको निर्माण, उद्योगहरूको स्थापना, औद्योगिक क्षेत्रको निर्माण र भविश्य सुधारका धेरै निर्माण संरचना तथा विधि प्रकृयाका कामहरू भए । महेन्द्र राजमार्ग, कोदारी राजमार्ग, पृथ्वी राजमार्ग, तराई पहाडमा शहरी विकास, शिक्षा तथा स्वास्थ्य केन्द्रको स्थापना, मूलुकी ऐन, भूमि सुधार, ग्रामीण उत्थान, नेपाल राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग, त्रिभूवन विश्वविद्यालय, महेन्द्र संस्कृत विश्वविद्यालय, नेपाल राजकीय प्रज्ञा प्रतिस्थानको स्थापना, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोष, महेन्द्र प्रकृति संरक्षण कोषका साथै धेरै कार्यकलाप त्यस अवधिका उल्लेख्य उपलब्धि हुन् । सबैसँग मित्रता, सबैसँग शान्ति, सहयोग, साझेदारीको विकास र संयुक्त राष्ट्रसंघको सदस्यतादेखि लिएर असंलग्न आन्दोलनको सक्रिय भूमिका र शान्ति क्षेत्रको घोषणासम्म पनि यसै अवधिमा भएको हो । तर यता आएर ती पूर्वाधार, ती औद्योगिक आधार, ती सबै खाले चेतना लहरले निश्चित आकार लिन सकेको छैन । भए गरेका संरचना भत्काउँदै जाने, रुपान्तरणका नाममा विकार खडा गर्ने र परनिर्भतातिर बेतोडले दौडने काम नै अहिले चलिरहेछ । त्यसैले चौसठ्ठी वर्ष पूर्वको चेतनाको त्यो झिल्को कता कता अहिलेको खाँचोझैं झल्किरहेको छ ।
हाम्रो प्रकृति, हाम्रो श्रमशक्ति र हाम्रो बुद्धि गरिब छैन । गरिबी हाम्रो नियती बनेको छ । दुईछाक खान र एक धरो लाउन हामी धेरैलाई धौ–धौ छ । हाम्रा विकसित शहरहरू, गाउँहरू आज उजाड छन् । हाम्रो उद्योगधन्दा, कलकारखाना र उत्पादनकारी गतिविधि आज निस्प्रभावी बनेका छन् । त्यसैले त हाम्रो होनहार जनशक्ति बेरोजगारीका कारण विदेशीन बाध्य छन् । त्यसै भएर त नेपालगञ्ज जस्तो पुरानो उन्नत आर्थिक केन्द्रस्थलमा उभिएर हामी आजको कटु यथार्थता देख्न, भोग्न र भन्न बाध्य छौं । अब म भन्छु, अब हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि उठौं र हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौं । यसको निम्ति के पुरुष, के महिला, के आजका जाँगरिलो युवा, के अनुभवी बुढाबुढी सबै अब जुट्नु पर्दछ ।
अन्त्यमा बाँके, बर्दिया, दाङ्ग जस्ता उर्वर भूभाग भएको र सुर्खेत, कालीकोट, जुम्ला, हुम्ला, धनगढी र भैरहवासम्मको पहुँच केन्द्र रहेको नेपालगञ्ज ठूलो व्यापारिक, उत्पादक, वितरक र प्रेरक केन्द्र मानिन्छ । तर पनि जुन रफ्तारमा यसको चौतर्फी प्रभावकारिता हुनुपर्ने हो, त्यो भइरहेको छैन । आपस–आपसमा मिलेर बस्ने नेपाली समाजको विशेषतालाई ध्यानमा राखेर यस क्षेत्रको सर्वाङ्गीण विकासमा राज्यले खेल्नुपर्ने भूमिका गहन छ । विभिन्न धर्म, वर्ण र समूह मिलेर हातेमालो गर्दै नेपाली सभ्यताको परिचय थलो नेपालगञ्जको आगामी अवधिमा धेरै प्रकारले फड्को मार्नुपर्ने खाँचो देखिन्छ । नेपालको वृहत्त सम्पदाको उपयोग गरेर यो भेगका सबै अविकसित भूभागको विकास गरेर त्यहाँको विपन्नतालाई हटाउन नेपालगञ्जले अग्रणी स्थान राख्न सक्दछ, त्यसतर्फ कदम बढोस् भन्ने हाम्रो आकांक्षा हो ।
प्रकाशित समय २०:१३ बजे





















