पाँचथर जिल्लामा बीमा सचेतनामूलक कार्यक्रम

काठमाडौं । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा पाँचथर जिल्लाको याङवरक गाउँपालिकामा यही वैशाख २० गते बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि याङवरक गाउँपालिकाका अध्यक्ष भीम बहादुर योङ्याले गाउँपालिकाको आगामी बजेटमा बीमालाई समावेश गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेयाङवोले बीमासम्बन्धी जानकारीमूलक कार्यक्रम आयोजना गरी बीमाको महत्वका बारेमा जानकारी दिएकोमा प्राधिकरणप्रति आभार प्रकट गर्नुभयो ।
नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख कुन्दन सापकोटाले बीमासम्बन्धी समग्र विषयमा जानकारी दिनुहुँदै बीमा सम्बन्धी कुनै गुनासा भए प्राधिकरणलाई जानकारी दिन आग्रह गर्नुभयो । कार्यक्रममा सहभागीहरुले बीमा कम्पनीका कार्यालय नहुँदा कृषिबीमा गर्न नपाएको, बीमा दाबी भुक्तानीमा समस्या रहेको, बीमा कम्पनीहरु गाउँमा नआएको लगायत धारणा राख्नुभएको थियो । कार्यक्रममा याङवरक गाउँपालिकाका वडा अध्यक्ष, कार्यकारी सदस्य तथा कर्मचारीहरु, बीमा कम्पनीका शाखा कार्यालयका प्रतिनिधि, अगुवा कृषकहरुलगायतको सहभागिता रहेको थियो ।
प्रकाशित समय १६:४९ बजे