नेपालको संस्कृति विश्वसामु चिनाउनका लागि फाउण्डेशनले अझै थप काम गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्व सामु प्रकृति र संस्कृतिले चिनाएको बताएका छन् । इन्टरनेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अमेरिकाले गरिरहेको ‘मेरो भ्वाइस इनिभर्स र मेरो डान्स इनिभर्स’ प्रतियोगिताका सहभागी कलाकारहरुलाई शनिबार राष्ट्रपति भवन शीतल निवासमा सम्बोधन गर्दै उनले नेपाल बहुजातीय तथा बहुसाँकृतिक मुलुक भएको बताए ।
राष्ट्रपति पौडेलले नेपालमा जात धर्ममामात्र विविधता नभई प्रकृति र संस्कृतिमा पनि विविधता भएको विचार व्यक्त गरे । उनले नेपालमा आर्य, मंगोल र अन्य परिवारका समुदायको समिश्रित संस्कृति रहेको चर्चा गर्दै यी सबैलाई मिलाउन सकेमा नेपाली–नेपालीबीचको एकता बलियो हुने धारणा व्यक्त गरे । राष्ट्रपति पौडेलले नेपालीहरु विश्वका कुना–कुनामा पुगेको बताउँंदै विदेशमा रहेर पनि नेपालीले आफ्नो पहिचान र संस्कृति जोगाउने अभियानमा लागेकोमा इन्टरनेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशनको प्रशंसा गरे । नेपालको संस्कृति विश्व सामु चिनाउनका लागि फाउण्डेशनले अझै थप काम गर्नुपर्ने राष्ट्रपति पौडेलको सुझाव थियो ।
फाउण्डेशनले अफ्रिकाभन्दा बाहेकका ६ महादेशका विभिन्न देशबाट र नेपालबाट मेरो भ्वाइस इनिभर्स र मेरो डान्स इनिभर्समा नेपाली संस्कृति र पहिचान झल्कने नृत्य र गायन प्रतियोगिता गरिरहेको छ । गायनतर्फ १ सय २० जना र नृत्यतर्फ १ सय २० जना कलाकार सहभागी रहेको फाउण्डेशनले जनाएको छ ।
प्रकाशित समय १८:२५ बजे