1100×100 Nabil Advert

सवारी साधनहरुमा लाग्ने भन्सार तथा अन्तःशुल्क महशुल घटाउन आग्रह गर्दछु : नाडा अध्यक्ष थापा

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएशनका अध्यक्ष ध्रुव थापाले सार्वजनिक महत्वका सवारी साधनहरुमा लाग्ने भन्सार तथा अन्तःशुल्क महशुल घटाउन माग गर्नुभएको छ । थापाको नेतृत्वमा गएको नाडाको टोलीले अर्थमन्त्रीसँग सो कुराको माग गरेको हो । आज नाडाको टोलीले अर्थमन्त्री प्रकाशशरण महतसँग भेट गरी अटोमोवाइल क्षेत्रका समसामयिक समस्याहरुका विषयमा छलफल गर्ने क्रममा सवारी साधनलाई विलाशिताको वस्तुको वर्गीकरणबाट हटाउनसमेत माग गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

 

सो छलफलको क्रममा अध्यक्ष थापाले सवारी साधनहरुलाई सरकारले विलाशीताको वस्तुमा वर्गीकरण गरी सोही अनुरुप नीतिहरुको निर्माण भइरहेको गुनासो गर्दै सवारी साधनहरुलाई सो वर्गीकरणबाट हटाउन आग्रह गर्नु भयो । सोही क्रममा अध्यक्ष थापाले अटो लोन, हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात् ७५ प्रतिशत नै कायम गरिनु पर्ने भन्दै भाडामा चल्ने सार्वजनिक महत्वका सवारी साधनहरु आम सर्वसाधारण जनताले प्रयोग गर्ने र त्यसले उसको दैनिक जीवनमा समेत प्रभाव पार्ने भएकोले त्यस किसिमका भाडामा चल्ने सार्वजनिक महत्वका सवारी साधनहरुमा लाग्ने भन्सार तथा अन्तःशुल्क महशुल घटाउनु आग्रह गर्नु भयो । सो अवरमा अध्यक्ष थापाले अहिले अटोमोइल स्पेयर पार्टसको चोरी–पैठारी निकै बढेको सन्दर्भमा त्यसको रोकथाम गर्न सकिएमा राजश्व पनि बढ्ने सुझाव दिनु भयो ।सो छलफलको क्रममा मन्त्री महतले आफू धेरै अप्ठ्यारो परिस्थितिमा आएको बताउनुहुँदै अटोमोबाइल व्यवसायीहरुको समस्याको सम्बोधनका लागि नेपाल राष्ट्र बैंकसँग सल्लाह गर्ने, कुन–कुन विषयहरुमा अटोमोवाइल व्यवसायीहरुलाई समस्या परेको छ, त्यसबारे आउँदो बजेट सुझावमा समावेश गरी पठाइदिन आग्रह गर्दै त्यसको समुचित समाधानका लागि प्रयास गरिने आश्वासन दिनु भयो ।

 

सो भेटघाटको क्रममा मन्त्री महतले अब अटोमोबाइल व्यवसायीहरुले विद्युतीय सवारी साधनहरुको उत्पादन र बिक्रीमा यथोचित ध्यान दिनका लागि आग्रहसमेत गर्नु भएको सन्दर्भमा अध्यक्ष थापाले विद्युतीय सवारी साधनहरुको प्रयोगलाई प्रोत्साहित गर्न त्यसमा लाग्ने भन्सार तथा अन्तःशुल्क महशुलमा थप छुट दिन अनुरोध गर्नुभयो । त्यसैगरी सो छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले सार्वजनिक महत्वका सवारी तथा ढुवानीका सवारी साधनहरु डिजेलबाट चल्ने र हाल डिजेलको भाउ उच्च विन्दुमा पुगेको कारण त्यसको प्रत्यक्ष नकारात्मक प्रभाव बजारमा परेकोले डिजेलबाट चल्ने सवारी तथा ढुवानीका साधनहरुमा लाग्ने महशुल घटाउन आग्रह गर्नुभयो । उक्त भेटघाट तथा छलफलमा नाडाका सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल, सुदूरपश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशनका अध्यक्ष तथा नाडाका केन्द्रीय कार्यसमिति सदस्य पुष्कर ओझा, केन्द्रीय कार्यसमिति सदस्य तथा राजश्व समितिका सभापति आकाश गोल्छा समेतको उपस्थिति रहेको थियो ।

 

प्रकाशित समय १८:४३ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु