V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

नेपाली जुत्ता चप्पलको प्रवर्धनमा ओली र थापाको उपस्थितिले थप्यो रौनक

काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘वृहत जुत्ता चप्पल व्यापार मेला’ स्थलमै पुगेर नेपाली उत्पादनको प्रवर्धनमा महत्वपूर्ण भूमिका खेलेका छन् । अवलोकनका क्रममा अध्यक्ष ओलीले नेपालमा जुत्ता–चप्पल उद्योगको दीगोपनाका लागि अवैधरुपमा भित्रिने जुत्ता चप्पल सरकारले नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याए । त्यसैगरी उनले नेपाली उद्योगको प्रवद्र्धनका लागि सरकारले कच्चा पदार्थको आयातलाई सहज र सस्तो बनाउनुपर्ने बताए ।

अध्यक्ष ओलीले स्वदेशी उत्पादनले अहिलेसम्म संरक्षण नपाएको बताए । ‘त्यसलाई संरक्षण दिनु पर्छ । त्यसका लागि कच्चा पदार्थको सहज र सस्तोमा पाउने अवस्था बनाउनुपर्छ’ उनले भने । अध्यक्ष ओलीले स्वदेशी वस्तुको उत्पादनमा बढावा दिन सरकारले नै उपयोग हुने खालको नीतिलाई जोड दिनुपर्ने पनि बताए । त्यसैगरी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली जुत्ता उद्योगको विस्तारमा सबै लाग्नु पर्ने बताए । महामन्त्री थापाले आम नेपालीलाई नेपालमै उत्पादित जुत्ता–चप्पल प्रयोग गर्न आग्रह गरे ।

आयोजक सविन कार्कीका अनुसार मेलामा शिखर सुज, प्राइड स्वदेशी जुत्ता, वान वर्ल्ड, बोस सुज, भेनस सुज, फुट स्टेप, रन सुज, हिमानी सुज र बाम्बो ब्राण्ड जुत्ताहरु रहेका छन् । ब्राण्डेड र बलियो जुत्ता चप्पल विशेष छुटसहित सस्तो मूल्यमा ग्राहकलाई उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गरिएको उनले बताए । कार्कीले भने– ‘एक थलोमा धेरै ब्राण्डका जुत्ताहरु ग्राहकले आफ्नो आवश्यकता अनुसार रोजी रोजी खरिद गर्ने अवसर हामीले प्रदान गरेका छौं ।’ कार्कीले भने– ‘मेलामा २ सय ५० रुपैयाँदेखिका चप्पल र ५ सय रुपैयाँदेखिका जुत्ता उपलब्ध छन् । मेलामा महिला र पुरुष दुवैका लागि हुने १ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध छन् । मेलामा पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, गम बुटलगायत सबै प्रकारका जुत्ताचप्पल छन् । ग्राहकलाई विभिन्न पसल–पसल घुम्ने झन्झटबाट मुक्त गराई रोजी–रोजी आफूलाई मन परेको सामान लैजान एउटै थलो उपलब्ध गराइएको हो ।’

मेला आयोजक जीवन श्रेष्ठले भने– ‘नेपाली उत्पादनलाई माया गर्नुपर्छ, प्रवद्र्धन गर्नुपर्छ भन्ने कुरामा पूर्वप्रधानमन्त्री ओलीले देखाउनुभएको तदारुकता र मेला अवलोकनले पुष्टि गरेको छ । हामी देशका सबै क्षेत्रका व्यक्तित्वहरुले यहाँ आएर हौसला बढाइदिनुहुनेछ, नेपाली उत्पादनलाई माया गरिदिनु हुनेछ भन्ने अपेक्षा गर्दछौं ।’ ओली र थापाको अवलोकनपछि मेलामा दैनिकरुपमा हजारौं ग्राहकहरुको अवलोकन तथा खरिदका लागि आगमन भइरहेको श्रेष्ठको भनाई छ ।

प्रकाशित समय ०९:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010