नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रर्दशनी भृकुटीमण्डपमा शुरु

काठमाडौं । नेपाल फाइभ पी प्रर्दशनी आजदेखि शुरु भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिको संयुक्त आयोजनामा आजदेखि शुरु तेस्रो नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रर्दशनी काठमाडौंको भृकुटी मण्डपमा शुरु भएको हो । प्रर्दशनीमा उद्योेग र व्यवसायीलाई नवीनतम प्रविधिसँग अपग्रेट गराउने तथा राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका उद्योगहरु बीच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने वातावरण तयार हुने मिडिया स्पेस सोलुसन्स प्रालिका म्यानेजिङ डाइरेक्टर तथा एक्स्पोका आयोजक सृजल भट्टराईले बताए । उनले भने– ‘प्रर्दशनीको मुख्य आकर्षण पक्ष भनेकै उद्योगि जसले यो प्रविधिको उपभोग गर्नुहुन्छ,र कम्पनीहरुलाई एक आपसमा फेस टु फेस कुरा गर्ने वातावरण बनाउनु हो ।’
नेपाल अधिराज्यभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ् र प्रोसेसिङ संग सरोकार राख्ने व्यापार व्यवसायिहरुलाई एकै ठाँउमा ल्याएर ब्यापार साझेदारी गर्दै नविनतम प्रविधि प्रदर्शन र संवाद गर्न, गराउन साझा मञ्च प्रदान गर्ने हेतुले प्रर्दशनी आयोजना गर्न लागिएको उनको भनाई छ ।
प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ मसिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिङ, ईन्डक्सन मोलिङ मसिन, प्रिन्टिङ मसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मसिनरी, प्रिन्टिङ स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मसिनरी, सबै खालका कागज र स्पेर पार्टस्, प्याकेजिङ मसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका संस्थाहरुले उत्पादन गरेका सामग्रीहरु रहेका छन् ।
संसार भरिका उत्कृष्ट प्रविधि र प्रयासहरुलाई भित्र्याएर नेपालमा प्रविधिमैत्री उद्योग स्थापना र विकासका लागि यो एक्स्पो फलदायि र महत्वपूर्ण रहने आयोजकको आकलन छ । एक्पोमा स्वदेशी तथा विदेशी कम्पनीहरुका करिब डेढसय स्टल छन् । प्रर्दशनी अवलोकन गर्न चाहानेले निशुल्क प्रवेश पाउने आयोजकले जनाएको छ ।
प्रर्दशनीमा सञ्चालनमा आउने तयारीमा रहेका तथा संचालनमा रहेका उद्योग तथा उद्योगी व्यवसायीलाई हाल प्रयोगमा आएका विभिन्न नयाँ प्रविधिसंग परिचित हुने मौका मिल्ने आयोजकको दाबी छ । उद्योगी तथा व्यवसायिले सिधै एक्स्पोमै कम्पनीसंग कुरा गरेर प्रविधिसंग सम्बन्धित ज्ञान लिन सक्ने छन् । त्यस्तै आवश्यक सामान किन्ने, सिक्ने तथा आफ्ना सामाग्री विक्रिका लागि समेत प्रर्दशनी सहयोगी हुने अपेक्षा गरिएको आयोजकको भनाई छ ।
प्रकाशित समय १०:५० बजे