सम्पदालाई विश्वको नजरमा माथि उठाउन सकियो भने मात्रै देशमा आर्थिक विकास सम्भव छ : मन्त्री किराँती
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले धर्मको सम्मानमा कोही काखा र कोही पाखा हुँदैन भन्दै सम्पदालाई विश्वको नजरमा माथि उठाउन सकियो भने मात्रै देशमा आर्थिक विकास हुने बताएका छन् । उनले नराम्रो काम गरेर राम्रो कामको अपेक्षा गर्नु मूर्खता भएको टिप्पणी समेत गरे । शनिबार अनामनगरमा आयोजित नेपाल थामी समुदायको छैठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री किराँतीले नेपालीले चिलाउनेको विरुवा रोपेर सुन्तलाको आशा गरिरहेको टिप्पणी गरे । सुन्तला खानु छ भने चिलाउनेको विरुवा नरोपौं, उनले भने ।
कार्यक्रमलाई सम्बोधन गर्दै किराँतीले भने– ‘गणतन्त्र आयो, नेता नेतृत्व फेरियो, राजाको ठाउँमा जनताका छोराछोरी आए, तर संरचना फेरिएन । थामीको छोरा या थामीको छोरी सांसद् भएर भित्र पस्यो भने कसैलाई नमस्कार गर्ने मन हुँदैन । आज दलितको छोरा मन्त्री, सांसद हुँदा नमस्कार गर्ने मजा लागेको छैन, हाम्रो अधिकार नखोसिए कसको अधिकार खोसिन्छ त ?’
मन्त्री किराँतीले संस्कृति मन्त्री भएपछि पशुपति सरसफाईमा लागेको भन्दै पशुपति आफैंमा गौरब भएको पनि बताए । त्यहाँ जति फोहोरमैला, गुट कहीं हँुदैन भन्दै सम्पूर्ण विसङ्गत जति सफा गर्नको लागि आफूहरु ३ महिने अभियानमा लागेको उनको भनाई छ ।
पशुपतिमा बेच्न राखिएको मालामा, लासको दाउरामा घुस खाइएको भन्दै उनले चिन्ता व्यक्त गरे । उनले पशुपति मन्दिर हामी सबैको ठूलो आस्थाको केन्द्र, साँस्कृतिक धरोहर भएको भन्दै लाश पोल्ने दाउरामाथि लुछाचुँडी गरेको देख्दा आफूलाई चिन्ता लागेको बताए । धर्मको सम्मानमा कोही काखा र कोही पाखा हुँदैन भन्दै उनले सम्पदालाई विश्वको नजरमा माथि उठाउन सकियो भने मात्रै देशमा आर्थिक विकास हुने बताए ।
प्रकाशित समय १९:२५ बजे




















