नबिल बैंकद्वारा कार्यस्थलमा हुने हिंसा तथा उत्पीडनको सुरक्षा तालिम प्रदान

काठमाडौं । नबिल बैंकले आफ्ना कर्मचारीका लागि कार्यस्थल हिंसा तथा उत्पीडन विषयक कार्यशाला सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गरिएको कार्यशालाको उद्देश्य कार्यस्थलमा हुन सक्ने हिंसा तथा त्यसप्रति सचेतना भएको बैंकले जनाएको छ । ७० जना कर्मचारीहरूका लागि फाइट–ब्याक नामक संस्थाको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको थियो । उपत्यकाभित्रका शाखाहरूका लागि स्थलगत र बाहिरका सबै प्रदेशका शाखाहरू अनलाइनमार्फत सहभागी रहेको यस कार्यक्रममा बैंकका महिला तथा पुरुष कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रमबाट कर्मचारीहरूले कार्यस्थल हिंसा तथा उत्पीडन भनेको के हो ? कार्यालयमा यस किसिमका गतिविधिहरू कुन तरीकाबाट हुन सक्छ ? यस्ता गतिविधिहरू हुन नदिन कसरी सजग सहनुपर्छ र यदि यस्ता गतिविधिहरू कार्यस्थलमा भइहाले आत्मरक्षा कसरी गर्न सकिन्छ भन्ने विषयमा विस्तृतरूपमा व्यवहारिक तथा प्रयोगात्मक तरीका प्रदर्शन गरी जानकारी दिइएको थियो ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले आफ्ना कर्मचारीहरूको मनोबल वृद्धि गर्न र समाजमा घट्नसक्ने गतिविधिहरूको सामना गर्न यस प्रकारको जानकारी मूलक कार्यक्रम उपयोगी रहेको बताए । नबिल बैंकले आफ्ना कर्मचारीहरूको मनोबल बढाउन यस्ता कार्यक्रमहरूलाई भविष्यमा पनि निरन्तरता दिने उनले बताए । कार्यक्रममा नेपालको कानूनी व्यवस्था, हिंसा हुँदा प्रतिकार र आत्मरक्षा गर्ने तरिका तथा आफूसँग भएको सरसामानलाई औजारको रूपमा कसरी प्रयोग गर्ने भन्ने जानकारी उपयोगी भएको एक सहभागी रिया बस्नेतले बताइन् । ‘मैले यो कक्षामा आत्मरक्षा सम्बन्धी तरिकामात्र सिक्छु सोचेको थिएँ तर मैले धेरै उपयोगी सीपहरू सिक्न पाएँ । जस्तै कसरी यौन हिंसा अथवा कुनै दुव्र्यवहार हुँदा प्रस्तुत हुने, कसरी आफूलाई सुरक्षित राख्ने, आफ्नो आवाजलाई कसरी औजार बनाउने जस्ता धेरै कुरा सिक्न पाएँ । जसले मेरो आत्मबल बढेको छ’ उनले भनिन् ।
आफ्नो कार्यालयस्थल तथा हाम्रो समाजमा दैनिक जीवनमा घट्नसक्ने हिंसालाई ध्यानमा राखेर नारी दिवसको दिनमा बैंकका कर्मचारीहरूलाई यो एक दिने तालिम सञ्चालन गरेको नबिल बैंकका मानव संशाधन प्रमुख दिवस कार्कीले बताए । कार्यक्रम सोचेकोभन्दा उपयोगी भएको प्रतिक्रिया सहभागीहरूबाट आएकोले आगामी दिनमा यस्ता कार्यक्रम गर्न हौसला मिलेको प्रतिक्रिया उनको छ । कर्मचारीहरूको सुरक्षा पहिलो प्राथमिकता भएको बताउँदै उनले यस्ता कार्यक्रमले सहभागीहरूमा हिंसाका घटनाहरू घट्न नदिन कस्तो किसिमको सतर्कताहरू अपनाउने र कथम्कदाचित आफूमा यस्ता गतिविधिहरू हुन गएमा आत्मरक्षाको लागि कस्ता विधिहरू अपनाउनुपर्छ भन्ने ज्ञानले सहभागीहरूमा आत्मबल बढेको बताए ।
प्रकाशित समय ०६:३४ बजे