अनेकौं समस्या र कठिनाईलाई चिर्दै तीव्र गतिमा अगाडि बढ्यौं : सिईओ भट्टराई

काठमाडौं । जीवन बीमा क्षेत्रकै सबैभन्दा कान्छो कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्स आजबाट चार वर्ष पूरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ । २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको महालक्ष्मीले कारोबार सञ्चालनको चार वर्ष पूरा गरेको छ । बैंक तथा वित्तीय क्षेत्रमा निकै अनुभव बटुलेका, बीमाको क्षेत्रमा समेत ख्याति कमाएका महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई महालक्ष्मी लाइफ इन्स्योरेन्स स्थापनालाई सम्झँदै भन्छन्– ‘पुराना, स्थापित र पछि आएका कम्पनीहरुसँग अस्वस्थ प्रतिस्पर्धाको बीच गुणस्तरीय कारोबार गर्नु ठूलो चुनौती थियो । कम्पनी स्थापनापछिको निरन्तर दुई वर्षको कोरोनाको अवरोधले पनि शाखा सञ्जाल विस्तार र अभिकर्ता निर्माणमा कठिनाई नै भोग्नु पर्यो ।
नेपालको जीबन बीमा बजारमा देखा परेको अनेकौं समस्या र कठिनाईको बीचमा रहेर बीमा सम्बन्धी जनचेतना अभिबृद्धि गर्न तथा गुणस्तरीय व्यवसायसँगै कम्पनीको विश्वसनियता बृद्धिलाई प्राथमिकतामा राखेका थियौं । प्रत्येक घरमा एउटा जीवन बीमा, युवासँग महालक्ष्मी लाईफ र महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ जस्ता जनचेतना मूलक कार्यक्रम लिएर देशैभरी अभियान सञ्चालन गर्यौं ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत यी सबै कार्यक्रम सञ्चालन गरेको कारण कारोबारमा निरन्तर बृद्धिसँगै कम्पनीको राम्रो ब्राण्ड स्थापित गर्न सफल भएका छौं । त्यसैको फलस्वरुप प्रत्येक वर्ष मुनाफासँगै बीमितहरुलाई दिने बोनस दर पनि अन्य कम्पनीभन्दा राम्रो दिन सफल भएका छौं । कम्पनीले गत आ.व. २०७८/७९ को पौष मसान्तको तुलनामा चालु आ.व. २०७९/८० को पौष मसान्तसम्ममा चुक्ता पूँजीमा ५० प्रतिशशत, जगेडा कोषमा ६०.७ प्रतिशत, जीवन बीमा कोषमा ५६.४ प्रतिशत, महाविपत्ति कोषमा ४४.५ प्रतिशत, कर्जा लगानीमा २९.५ प्रतिशत, दाबी भुक्तानीमा ३८ प्रतिशत र मुनाफामा ३५.४ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।
नेपाल बीमा प्राधिकरणले २०७९ चैत्रभित्र अनिवार्यरुपमा पूँजी बृद्धि गर्ने निर्देशन दिएपछि प्रभु लाईफ इन्स्योरेन्ससँग मर्जरको लागि अगाडि बढेका छौं । भारतीय बीमांकीबाट सम्पत्ति दायित्वको मूल्याङ्कन प्रतिवेदन आउन निकै ढिला भएको कारण निर्धारित समयमा एकीकृत कारोबार गर्न नसकेता पनि २०७९ चैत्रभित्र मर्जर कार्य सम्पन्न गर्ने लक्ष्य लिएका छौं । एकिकृत कारोबारपछि बन्ने प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सले मितव्ययी तरिकाले गुणस्तरीय कारोबार सञ्चालन गर्दै लगानीकर्ता र बीमितहरुको हितलाई सधैं सर्वोपरि राखि काम गर्ने विश्वास दिलाउन चाहन्छौं ।’
प्रकाशित समय १०:३८ बजे