ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन नाडाद्वारा उपकरणहरु हस्तान्तरण
काठमाडौं । नाडा अटोमोबाइल एसोसिएन अफ नेपालले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख मिरा चौधरीलाई राजधानीको सेण्ट्रल ट्राफिक मोनिटरिङ्गका लागि पाँच थान हाईटेक एडभान्स सिपियु तथा त्यससँग सम्बन्धित उपकरणहरु हस्तान्तरण गरेको छ । सोही अवसरमा नाडाले सय थान ट्राफिक रिफ्लेक्टर ज्याकेट पनि हस्तान्तरण गरेको छ ।
सो अवसरमा राजधानीको ट्राफिक व्यवस्थापन तथा पार्किङका सम्बन्धमा के कसरी अघि बढ्ने भन्ने विषयमा समेत छलफल गरेको छ । नाडाका अध्यक्ष ध्रुव थापाले नाडाको सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग प्रदान गरिएको बताए । अध्यक्ष थापाले नाडाले राजधानीको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन विगतको समयदेखि विभिन्न भौतिक सहयोग प्रदान गर्दै आएको र आजको यस हस्तान्तरण कार्यक्रम पनि त्यसको निरन्तरता भएको बताए । सो अवसरमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख मिरा चौधरीले नाडाको उक्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि यस कार्यालयका लागि नाडाबाट यस किसिमका सहयोग निरन्तररुपमा प्राप्त भइरहने अपेक्षा रहेको बताइन् ।
उक्त हस्तान्तरण कार्यक्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेति, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्यसमिति सदस्यद्वय प्रकाश कपुरी तथा पुष्कर ओझा समेतको उपस्थिति रहेको थियो । ट्राफिक कार्यालयका उच्चअधिकारीहरु समेतको उपस्थिति रहेको सो हस्तान्तरण कार्यक्रममा उक्त कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले नाडाका पदाधिकारी तथा सदस्यहरुलाई स्वागत गरेका थिए ।
प्रकाशित समय ०९:३९ बजे



















