कृषि विकास बैंकले दिएन ‘गुड फर पेमेन्ट’को ५० लाख रकम
प्रहरीले दर्ता नै गर्न मानेन पीडितको उजुरी
काठमाडौं । एउटा सरकारी स्तरबाट चलेको कृषि विकास बैंकको शाखा ‘म्यानेजर’बाटै ‘गुड फर पेमेन्ट’को ५० लाख पचाउने षड्यन्त्र भएको भेटिएको छ । बैंक म्यानेजरले आफ्नै छोरालाई प्रयोग गरेर रकम पचाउन ठगी र अपहरण भयो भन्दा अचम्म हुन्छ होला सबैलाई । तर यस्तै घटनाका पीडित बनेको बताइरहेका छन् काठमाडौं निवासी सूर्यबहादुर घिमिरे । उनी एक सहकारी सञ्चालक समेत हुन् । घिमिरे ‘गुड फर पेमेन्ट’को रकम लिन जाँदा बैंक शाखा प्रमुखबाटै पीडित हुन पुगे । घिमिरेले ‘गुड फर पेमेन्ट’बाट पाउनुपर्ने ५० लाख बैंकका शाखा प्रमुखको योजनामै पाउन सकेनन् । घटना हो सप्तरी जिल्लास्थित बोदेबर्साइनको ।
विभिन्न ठाउँमा मिटरव्याजीहरुबाट पीडित भएका अनेकन घटनाहरु त दिनदिनै बाहिर आएका थिए, तर अब सरकारी बैंकमै कार्यरत बैंकका शाखा प्रमुखले ५० लाख पचाउन अपहरण र शरीर बन्धक बनाएर कागजमा जबर्जस्ती ल्याप्चे र सही गर्न लगाएको घटना पनि बाहिर आएको छ । यस्तो जघन्य कसुरका विरुद्धमा जाहेरी दिंदा समेत प्रहरीले उजुरी नलिनु अर्को अचम्मको विषय बनेको छ ।
घटना कसरी भएको थियो ?
कसुरसँग सम्बन्धित घटनाको विवरणमा बारेमा सूर्यबहादुर घिमिरेले यसरी सुनाए आफ्नो पीडा– ‘म सूर्यबहादुर घिमिरे । काठमाडौं जिल्लामा सहकारी संस्था खोली आफ्नो व्यापार व्यवसाय गर्दै आइरहेको छु । व्यापार व्यवसाय गर्ने क्रममा सिराहा जिल्ला घर भई हाल काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. ३२ बस्ने ६० वर्षीय महेन्द्र साह रौनियारसँग चिनजान भयो । निजले सिराहा तथा सप्तरीमा मेरो साथी रामवचन यादवले जग्गाहरु सस्तोमा पाएको छ, उ सप्तरी जिल्ला बोदेबर्साईन शाखा रहेको कृषि विकास बैंकमा कार्यरत पनि छ । ५० लाख जति लगानी गरी दिनुहोस्, सो को व्याजसमेत दिउँला र लगानी गरिआएको फाइदा दिउँला । तपाईले दिएको रकमको ‘गुड फर पेमेन्ट’को चेक समेत काटी दिन्छन् । एक महिनापछि रकमको साँवा–व्याज समेत एकमुष्ठ पाइहाल्नु हुन्छ । सो कार्यबाट भएको फाइदा पनि पाउनु हुन्छ भन्ने कुरा भयो । त्यति भनेपछि पहिलादेखिका चिनजानको साथी भएको नाताले राम्रै कुरा भन्नु भएको होला भनी विश्वास लाग्यो । त्यसपछि हामी सिराहामा गई निज राम वचन यादवसँग कुरा गर्दा निजले पनि महेन्द्र साह रौनियारले भने जस्तै कुरा गरे ।
पीडित घिमिरेले भावविह्वल हुँदै भने– ‘मेरा अन्य साथीभाईसँग ऋण सापटी लिई २०७९ साल असोज ४ गतेका दिन ५० लाख रुपैयाँ दिएको थिएँ । उक्त रकम दिएपश्चात राम वचन यादवले मलाई निज रामवचन यादवको छोरा सुनिल कुमार यादवको खाता रहेको कृषि विकास बैंकको ‘गुड फर पेमेन्ट’को चेक दिएका थिए । यसरी निजले दिएको समयमा पटक पटक अब उक्त रकम दिनुहोस् भन्दा हुन्छ–हुन्छ भन्दै आलटालमात्रै गर्न थाले । मैले सापटी लिएका अन्य व्यक्तिहरुले समेत रकम माग्न थालिसके भनी यादवलाई भन्दा पुनः चेक काटी दिए । निजले दिएको चेकमा रकम नभएपछि मैले पहिला चिनेका मानिस महेन्द्र साह रौनियारलाई फोन गरें । उक्त चेकमा रकम नै नभएको र साथीभाइले आफूसँग पैसा माग्न थालिसकेको बताएँ । तर महेन्द्र साह रौनियारले तपाईं यहीं सिराहामा पैसा लिन आउनु भनी बोलाए । मैले पनि पैसा दिन्छन् होला भनेर एकजना साथी चित्रबहादुर पुलामीलाई लिएर माघ १४ गते सिराहा गएँ ।’
घटना यसरी अगाडि बढिरहेको थियो । हामी रातको १० बजे सिराहाको लहानमा पुग्यौं । राति त्यहींको गोधुली होटलमा बस्यौं । त्यसपश्चात भोलिपल्ट निज राम वचन यादव कार्यरत सप्तरी जिल्ला बोदेबर्साइन शाखा रहेको कृषि विकास बैंकमा पुग्यौं र पैसा लिन आएको कुरा गर्यौं । उनले ‘अहिले म अफिसमा बिजी छु, भरे ५ बजे म तपाईं बस्ने होटलमा नै अफिस छुट्टी भएपश्चात् आउँछु’ भने । त्यसपछि हामी होटलमै फर्कियौं । तर उनी ५ बजे आएनन् । अबेर राती ८:३० बजेतिर होटलमा आए । उनीहरुले रक्सी पिए र उल्टै हामीसँग झगडा गर्न थाले ।
हामी त दुईजनामात्रै थियौं । आफ्नो चिनेजानेको कोही थिएनन् । मसँग कुनै उपाय नै थिएन उनीहरुबाट बच्ने । केही बेरपछि नै ५ वटा मोटरसाइकलमा निज राम वचन यादवका छोरा सुनिलकुमार यादव र भतिजो भन्ने मनोजकुमार यादव, अनिल कुमार यादवसमेत र मैले नचिनेका ९/१० जना मानिसहरु हामी बसेको होटलमै आए । म र साथी चित्रबहादुर पुलामीको मोबाईल मनोज कुमार यादव भन्नेले खोसे । मोबाइल खोसेर हामीलाई धम्क्याउँदै भने– ‘खुरुक्क हामीसँग जान्छस् कि तँलाई यहीं हात खुट्टा भाँची छाड्छौं, ज्यानको माया भए कुनै हल्ला नगरी हामीसँग हिंड’ भन्दै राति १०:३० बजे मोटरसाइकलमा बीचमा राखेर हतियार समेत देखाई अज्ञात स्थलतिर लगे ।
बिरानो ठाउँ । करिव एक घण्टासम्म उनीहरुले मोटरसाइकलमै घुमाए कता–कता । पछि एउटा घरमा पुर्याएर भित्र कोठामा लगे । त्यो घर सम्भवतः निज राम वचन यादवको हुनुपर्छ । उक्त घरभित्र लगेर पेस्तोल समेत देखाई केही बोल्नसमेत नदिई लेखेर ल्याएको ४ वटा कागजमा र ५/६ वटा खाली कागजमा जबरजस्ती तवरले हस्ताक्षर गराए । ल्याप्चे लगाए । कराएमा यहीं सिध्याइदिन्छौं भनी डरत्रास देखाए । राम वचन यादवसँग कुनै पनि पैसा लिनुपर्ने छैन भनी बोल्न लगाई भिडियोसमेत खिचे ।
भिडियो खिचिसकेपछि सो घरबाट बाहिर निकाली गोरेटो बाटो हुँदै सिराहाको मिर्चैयास्थित न्यू एभरेष्ट होटल नजिक लगेर हामीलाई उनीहरुले छाडेर फर्किए । त्यतिबेलासम्म रातको करिब ३ बजिसकेको थियो । मैले सोही ठाउँको प्रहरीलाई त्यो सबै घटनाका बारेमा बताएँ । प्रहरीले मलाई जहाँबाट त्यस्तो कार्य गरेको हो त्यहीं जाहेरी दिनु भनियो । म फेरि तत्काल ट्रकमा चढेर लहानस्थित प्रहरी कार्यालयमा गएँ । लहानस्थित प्रहरी कार्यालयले ‘निवेदन लेखी छाड्नूस्’ भनेपछि मैले निवेदन दिएर काठमाडौं फर्किएँ ।
त्यहाँको प्रहरीले पछि मलाई फोन गरेर भन्यो– ‘अपहरणकारीको तीनपुस्ते लिई आउनु अनिमात्र निवेदन दर्ता हुन्छ ।’
सो अपहरण तथा जबर्जस्ती कागजमा सही छाप गर्न लगाउने राम वचन यादव, मनोज कुमार यादव, अनिल कुमार यादव, सुनिल कुमार यादव, महेन्द्र साह रौनियार र अन्य नचिनेका ९–१० जना व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ को दफा २११ र २१२ बमोजिम कसुर गरेका हुँदा कसुरमा संलग्न निजहरुलाई तत्काल पक्राउ गरी आवश्यक अनुसन्धान र छानविनसमेत गरी सोही मुलुकी अपराध संहिता, २०७४ को दफा २१३ बमोजिम हदैसम्मको सजाय गरी उक्त म जाहेरवालालाई जबर्जस्ती थिचाएको कागज र खाली कागजमा सही गराएको कागजहरु समेत सम्पूर्ण झिकाई दाखिला गर्न लगाई मेरो जिउज्यान समेतको शान्ति सुरक्षा समेत गरी पाउँ भनी यो जाहेरी दरखास्त लिई उपस्थित भएको छु भन्ने व्यहोरासमेत लेखेर लगेको थिएँ । तर पनि प्रहरीले जाहेरी दर्ता गरेन । उल्टै हामीमाथि नै प्रहरीले केरकार ग¥यो । कसुर गर्नेहरु अहिलेसम्म पक्राउ परेका छैनन् । हामीले त गोधुली होटेलको क्यामेराको फुटेजसमेत हेर्न प्रहरीलाई भनेका थियौं । तर हाम्रो कुरै सुनिएन, पीडित सूर्यबहादुर घिमिरेले भने ।
प्रहरी के भन्छ ?
पीडित सूर्यबहादुर घिमिरेले प्रहरीले जाहेरी लिन नमानेको विषयमा बुझ्दा इलाका प्रहरी कार्यालय लाहानका निमित्त प्रमुख प्रहरी निरीक्षक कोमल ठाकुरले कुनै व्यक्तिको नाममा जाहेरी आएको र उनको विषयमा विस्तृत विवरण नआएकाले दर्ता नभएको बताए । उही नामको व्यक्ति धेरै हुने भएकाले उनको बुबा र बाजेको नामसहित भएमा प्रहरीले जाहेरी दर्ता गर्ने उनको भनाइ छ ।
‘मैले यो जाहेरी पूरा छैन भनेर पठाएको हो, यदि उहाँ तपाईंको सम्पर्कमा हुनुहुन्छ भने यहाँ पठाइदिनुहोस् । पद खुलाएर जाहेरी दिएको खण्डमा प्रहरी आरोपितलाई पक्राउ गर्न तयार छ,’ उनले भने ।
काठमाडौंबाट सिराह बोलाएर पैसा दिनुको साटो होटलबाट अपहरण गरेर खाली कागजमा सही छाप गर्न लगाएको विषयमा इलाका प्रहरी कार्यालय लहानमा जाहेरी दिए पनि प्रहरीले दर्ता नगरेको पीडित घिमिरेको आरोप छ । आफूलाई लहानको होटल गोधुलीबाट राति १० बजे अपहरण गरिएको र त्यसमा कृषि विकास बैंकको सप्तरीको बोदेबर्साइन शाखाका प्रमुख राम वचन यादव पनि सँगै रहेको उनको भनाइ छ ।
यता कृषि विकास बैंकका बोदेबर्साइन शाखा प्रमुख राम वचन यादवले भने आफूले पैसा लिएको र चेक पनि दिएको, पैसाको व्यवस्था गर्न आफू तयार रहेको स्वीकारे । यादवले आफूले ‘गुड फर पेमेन्ट’ को रकम दिनुपर्ने, तर गल्ती भएको स्वीकारे । उनले भने– ‘मेरो छोराले नक्कली चेक र छाप किर्ते गरी रकम झिकेछ । मैले उसलाई मुद्दा हालिसकेको छु ।’
तपाईं सरकारी बैंकको शाखा म्यानेजरजस्तो मान्छे, तपाईंको मिलेमतोविना कसरी तपाईंकै शाखाबाट तपाईंकै छोराले रकम झिक्न सक्छ ? भन्ने हाम्रो प्रश्नमा उनले भने– मेरो छोरा र उसका साथीहरु मिलेर नक्कली छाप बनाएर रकम झिकेको हो । मैले उसलाई कारवाहीको लागि मुद्दा दिइसकेको छु । रकम केही दिनभित्रै मिलाउँछु । गल्ती भएकै हो । केही समय दिनुस् भनेको छु ।’
शाखा म्यानेजर यादवले आफूबाट पनि गल्ती भएको स्वीकार्दै भने– ‘घिमिरेजीले मलाई होटलमा गाली गर्नुभयो, मैले पनि रिसको झोकमा परें । अलिकति लफडा भएको हो ।’
प्रकाशित समय ०९:५४ बजे




















