सबैको घरमा जेष्ठ नागरिकहरुको सम्मान हुनुपर्छ (अन्तर्वार्ता)

सिराहा जिल्लाको इनरुवा भन्ने ठाउँमा वि.सं. १९८२ सालमा बुबा जनार्दनलाल दास र आमा भवानी देवीका सुपुत्र जन्मनुभएको हो डा.गौरीशंकरलाल दास । जीवनमा सधैं केही न केही गरिरहनुपर्छ, काम गर्नलाई उमेरले छेक्दैन भन्ने स्वभावका दास शताब्दी पुग्न ६ वर्षमात्रै बाँकी छ । ढल्कँदो उमेरमा समेत उत्तिकै सक्रिय दास अहिले पनि दर्जनौं संघसंस्थामा आबद्ध भएर देशकै सेवामा अहोरात्र खटिरहनुभएको छ । डा.गौरीशंकरलाल दास नयाँ पुस्ताका लागि पे्ररणाको पात्रसमेत हुनुहुन्छ । अनुकरणीय व्यक्तित्व वीपी नेत्र प्रतिष्ठानका अध्यक्ष तथा जेष्ठ नागरिकहरुका पनि अभिभावक डा.गौरीशंकरलाल दाससँग आधुनिक पुस्ताका लागि उत्पे्ररणा हुने खालका धेरै कामका अनुभवहरु छन् । उहाँको शिक्षा प्राप्ति, राष्ट्र सेवक भएर काम गर्दाको परिस्थिति, विभिन्न संवैधानिक निकाय तथा संघ–संस्थाहरुमा रहेर काम गर्दाको अनुभवका साथै जीवनका विविध विषयवस्तुहरुलाई समेटेर क्रसचेकका सम्पादक टंक कार्कीले गरेको कुराकानी ।
० तपाईंले त्यो बेलामा शिक्षा हासिल गर्दाको अवस्था कस्तो थियो ?
हाम्रो गाउँमा स्कूल थिएन । नजिकै राजनगर भन्ने ठाउँ छ, जयनगर इण्डियाबाट गरें । त्यसबेला एसएलसीलाई म्याट्रिकुलेशन भन्थ्यो । सन् १९४१ मा मैले म्याट्रिकुलेशन गरें । त्यसपछि भागलपुरबाट आइएस्सी र बिएस्सी गरें । सन् १९४५ मा बिएस्सी पास गरें । त्यतिबेला बायोलोजी थिएन । कहाँ जाने, के गर्ने भन्ने भयो । तर बिएस्सीपछि इन्जिनियरिङमा पनि जान सक्ने, मेडिकलमा पनि जान सक्ने थियो ।
० वायोलोजी विषय नभएको मान्छे डाक्टरचाहिं कसरी बन्नुभयो ?
त्यसबेला मलाई बुबाले मेडिकलमा नै जानुपर्छ भनेर भन्नुभयो । त्यसपछि मैले पटनामा प्रिन्स अफ वेल्स मेडिकल कलेजमा गएर इन्टरभ्यू दिएँ, तुरुन्तै सेलेक्सन भएँ । त्यहाँ मैले प्रिमेडिकल पढ्नुप¥यो । त्यसबेला आइएस्सी–बिएस्सीमा बायोलोजी थिएन । त्यसैले एक वर्ष मैले प्रिमेडिकलमा बायोलोजी पढें । सन् १९५१ मा मैले त्यहाँबाट एमबीबीएस गरें । त्यसपछि एक वर्षचाहिं इन्टर्नशीप गरें । हाउसम्यानसिप भन्छ, त्यसमा तलब पनि दिन्छ र कुनै डिपार्टमेन्टमा काम पनि दिन्छ । त्यहाँ मैले आँखाको डिपार्टमेन्टमा काम गरें । त्यो सिद्धिएपछि म काठमाडौंमा आएँ । मेरो एकजना साथी हुनुहुन्थ्यो शिवनारायण दास । उहाँले वीर स्पतालमा मेडिकल अफिस चाहिएको छ, दरखास्त हाल्नुस् भनेर खबर गर्नुभयो । मैले दरखास्त हालें र जागिर खान शुरु गरें ।
० सबैभन्दा पहिले कुन पदबाट जागिरे जीवन शुरु गर्नुभयो ?
मैले लोकसेवाको परीक्षा दिएर रेजिडेन्ट मेडिकल अफिसर (आरएमओ) मा नियुक्ति पाएँ । खड्गमान मल्ल त्यस बेलामा लोकसेवा आयोगको सचिव हुनुहुन्थ्यो । त्यसबेला वीर अस्पतालमा सुपरिटेण्डेन्ट डा. मजुम्दार र म दुई जनामात्रै थियौं पूरा अस्पतालमा । त्यस बेलामा एउटा बेड फिमेल थियो, त्यसका लागि एकजना रानीसाहेब डाक्टर हुनुहुन्थ्यो । मेल बेडमा हामी दुईजनामात्र थियौं । डा. भरतराज वैद्य मलेरियाको ट्रेनिङमा जानुभएको थियो । अनि डा.भवानीभक्तको पोस्टिङ थियो, तर उहाँ पनि एनेस्थेसियाको टे«निङका लागि बाहिर जानुभएको थियो । म सम्झन्छु, एउटा हाइड्रोसिल केसमा अपरेशन गर्न डा.मजुम्दारले थाल्नुभयो । मचाहिं मेडिकल अफिसरको इमनर्जेन्सी ड्युटी सकेर केही किनमेल गर्न बाहिर गएको थिएँ । अनि उहाँले कम्पाउण्डरलाई एनेस्थेसिया दिन भन्नुभयो । दुर्भाग्यवश एनेजस्थेसियाकै कारण त्यो पेसेन्ट टेबुलमै म¥यो । हाइड्रोसिल अपरेशन मामुली घाउ काटेजस्तो हुन्छ नि, घाउ चिरेजस्तो । तर त्यो मान्छे म¥यो । त्यो बेलामा त यस्तो होहल्ला भयो कि बयान गरेर साध्यै छैन । म वीर अस्पतालमा रेजिडेन्ट मेडिकल अफिसरमा काम गर्दै थिएँ । एकदिन त्यस बेलाका स्वास्थ्य निर्देशक डा.जितसिंह मल्ल जीप लिई आएर मलाई घुम्न जाऊँ भन्नुभयो । डाइरेक्टरले भनेपछि मैले पनि हुन्छ भनें । जिप महाराजगञ्ज पास भयो, बुढानिलकण्ठ पनि पास भयो । त्यो बेलामा मलार्य भने अचम्म लागिराखेको थियो । त्यसपछि बुढानिलकण्ठबाट अलि पश्चिम तिर जिकज्याक सडक थियो । जाँदाजाँदै पहाड उक्लेर बडो रमाइलो दृश्य देखिन्थ्यो । त्यो सल्लाघारीका बीचबाट सर्पाकाररुपमा बाङ्गोटिङ्गो बाटो गइराखेका थियौं । त्यसपछि राम्रा राम्रा घरहरु देखिए । अनि उहाँले भन्नुभयो– ‘ल, हामीहरु टोखा स्यानिटोरियाम आइपुग्यौं ।’ त्यहाँको डाक्टरले अलिकति विरामीहरुको खाद्यान्नलगायत हिनामिना गर्नुभएको रहेछ । त्यहाँका क्षयरोगीहरुले ती डाक्टरलाई त्यहाँबाट हटाउनुपर्छ भनेर हड्ताल गरेका रहेछन् । अनि त्यहाँबाट फर्केपछि डा.जितसिंह मल्लले मलाई सोध्नुभयो– डा.साहब बस्न चाहनुहुन्छ टोखा स्यानिटोरियममा ? म टोखा स्यानिटोरियमको अनुपम प्राकृतिक सौन्दर्यबाट धेरै प्रभावित भइसकेको थिएँ । त्यहाँको प्राकृतिक सौन्दर्यले मलाई तान्यो अनि मैले हुन्छ भनें । त्यसपछि मलाई त्यहाँ पोस्टिङ गर्नुभयो– अफिसियल सुपरिटेन्डेन्टमा, पछि असिस्टेन्ट सुपरिटेण्डेन्टमा र पछि फेरि सुपरिटेन्डेन्ट पनि मैले खाएँ । करिब दश वर्ष म त्यहाँ बसें ।
० टोखा स्यानिटोरियमचाहिं खास के–के प्रयोजनको लागि थियो ?
टोखा स्यानिटोरियममा खासगरी क्षयरोगीका बिरामीहरुको लागि थियो । त्यहाँ पचास बेडमात्र थियो, तर बिरामी धेरै । त्यसैले पनि प्रतीक्षासूची धेरै लामो थियो । कति लामो प्रतीक्षासूची थियो भने मानिसले निवेदन दिएपछि शैया पाउनका लागि कबि दुई वर्ष पर्खनुपथ्र्यो । प्रतीक्षाको क्रममा धेरै मानिस निको पनि भइहाल्थे, कुनै–कुनै मानिसको चाहिं मृत्यु पनि भइसकेको हुन्थयो । त्यहाँ भर्ना भएकाहरु त बाँच्थे । तर पर्सेन्टेज भन्न त गाह्रो छ । भर्ना भएपछि क्रोनिकस केसमा अलि गाह्रो हुन्थ्यो । अरु उपचार खास त्यतिबेला थिएन । औषधिहरु पनि थिएन त्यसबेला । त्यसबेलाको उपचार भनेकै स्यानिटोरी पद्धतिबाट हुन्थ्यो । शुद्ध हावा र सूर्यको प्रकाश प्रशस्त पाइने खुला र अग्लो ठाउँमा स्यानिटोरियमहरु बनाइन्थ्यो मूलतः सल्लाघारीनजिक । किनकि सल्लाको हावाको फाइदाजनक हुन्छ भन्ने धारणा थियो ।
० के वैज्ञानिक कारण पनि थियो सल्लाको रुखको हावाबाट उपचार हुने कुरामा ?
वैज्ञानिकरुपले सत्य भने होइन तर अलि खुल्ला ठाउँमा बस्दाखेरी सेन्स अफ वेलबिइङ हुन्थ्यो । यो उपचारमा खासगरी रोगीलाई केही आराम केही व्यायामको उपाय अपनाइन्थ्यो । व्यायाममा हामी अली–अली डुल्न लगाउँथ्यौं अनि त्यसपछि बढाउँदै लान्थ्यौं । त्यहाँ विभिन्न मोडहरु थिए । एक नम्बरसम्म यो विरामी जाने, त्यो दिनपछि दुई नम्बर मोडसम्म जाने । त्यसै गरेर ग्य्राजुएल एक्सरसाइज गराउँथें । अनि औषधिको नाममा चाहिं गोल्डको कम्पनीहरु च्यानो क्राइसिन, मायो क्राइसिनहरु हामी दिन्थ्यौं । कर्ड लिभर आयल पनि हामी खुवाउँथ्यौं । त्यसबेलामा अरु त औषधि थिएन । खाना पनि व्यालेन्स डाइट हुनुपर्छ भन्ने हाम्रो भनाई थियो । त्यहीं हुँदाहुँदै म बेलायतमा पढ्न गएँ टिबिको बारेमा । डिटिडिए भन्छ– ट्युबरकोलोसिस डिजिज डिप्लोमा, ग्लोबल प्लान पाएर बेलायत पढ्न गएँ । त्यो पढेर आएपछि सुपरिटेण्डेन्ट बनाएर फेरि मलाई त्यहीं पठाइयो ।
० क्षयरोगको प्रभावकारी औषधिचाहिं कहिलेदेखि आयो ?
साठीको दशकमा मद्रास केमोथ्योरापिटिक सेन्टरमा धेरै प्रकारका अनुसन्धानहरु भए । त्यो अनुसन्धानले के सावित ग-यो भने यसको प्रभावकारी औषधि जुन अब निस्किसक्या छ । त्यसले गर्दाखेरी धेरै डाइटमा पनि बल दिनु पर्दैन, धेरै रेस्ट पनि लिनु आवश्यक थिएन । मजदूरले मजदूरी पनि गर्छन् र औषधि खायो भने त्यो निको हुन सक्छ । अर्थात् औषधि खायो भने निको हुने भयो र आराम गर्नु पनि कुनै जरुरी भएन । त्यसपछि स्यानिटोरियममा बस्नु पनि आवश्यक भएन । आफ्नो घरमा बसेरै उपार गर्न सकिन्छ भनेरचाहिं पत्ता लाग्यो । त्यससँगै प्रभावकारी औषधिहरु निस्के, जसबाट संक्रामकता कम हुन्थ्यो । रोगीका कफ किटाणुरहित हुन्थ्यो । स्यानिटोरियामको आवश्यकता धेरै कम हुँदै गयो ।
२०१७ सालमा पञ्चायती व्यवस्था प्रादुर्भाव भयो । पञ्चायतकालमा स्वास्थ्यमन्त्री हुुनुभयो डा.नागेश्वरप्रसाद सिंह । उहाँ र म पटनामा सँगसँगै पढेका थियौं । म उहाँको क्वाटरमा जाने गर्थें । उहाँले टोखा कति बस्नुहुन्छ ? अब म यहाँ काठमाडौंमा सारिदिन्छु भन्नुभयो । मैले हुन्छ भनें । त्यतिखेर सेन्टर चेष्ट क्लिनिक (केन्द्रीय उग्रचिकित्सालय) भन्थ्यो । त्यहाँ डा.यज्ञराज जोशी त्यसको इन्चार्ज हुनुहुन्थ्यो । मलाई त्यहाँ डुपेटी मेडिकल सुपरिटेण्डेन्ट बनाइयो । त्यहाँ काम गर्दागर्दै यज्ञराज जोशी त्यहाँ डाइरेक्टर हुनुभयो । उहाँ डाइरेक्टर हुनुभएपछि मचाहिं सुपरिटेण्डेन्ट भएँ । त्यसको केही दिनपछि विष्णुकुमार तुम्बाहाम्फे स्वास्थ्यमन्त्री हुनुभयो । उहाँको श्रीमतीलाई टिबी लागेको रहेछ, उहाँले मलाई भन्नुभयो– डा.साहब मेरो श्रीमतीलाई उपचार गर्नलाई भेल्लोर लगिदिनुस् । मैले भेल्लोर लिएर गएँ इलाज गर्नको लागि । उहाँ धेरै खुशी हुनुभयो । मन्त्रीले मलाई भन्नुभयो– तपाईं डाइरेक्टर बन्नुहोस् । यज्ञराज जोेशीलाई सेन्टर चेष्ट क्लिनिकमा पठाएर मलाई डाक्टरेक्टर बनाउनुभयो । २०२४ देखि २०२५ सम्मचाहिं डाइरेक्टर भएर काम गरें ।
० तपाईंले स्वास्थ्य मन्त्रालयमा पनि थुपै्र काम गर्नुभयो भन्ने कुरा सुनियो, के–के गर्नुभयो ?
डब्लुएचओले हरेक स्वास्थ्य मन्त्रालयमा योजना शाखा हुनुपर्छ भनेर नीतिगत व्यवस्था गरेको थियो । त्यसपछि मलाई योजना शाखामा दरबन्दी खडा गरेर लगियो । पहिलो प्रमुख योजना अधिकृत भएको थियो स्वास्थ्य मन्त्रालयअन्तर्गत । त्यसबेला मैले नै स्वास्थ्यको पाँचौं पञ्चवर्षीय योजना बनाएको थिएँ । पहिलो पटक दीर्घकालीन योजना हामीले नै बनाएका थियौं । मन्त्रालयमा स्वास्थ्य सचिव हुनुहुन्थ्यो मनमोहनलाल सिंह, उहाँसँग ठ्याक नमिलेर मैले राजीनामा गरिदिएको थिएँ । त्यो राजीनामा पत्र मन्त्रीजीकोमा पुग्यो । त्यतिखेर प्रधानमन्त्री डा.तुलसी गिरी हुनुहुन्थ्यो । उहाँसँग पनि चिनजान थियो । उहाँले ए डाक्टर साहेब राजीनामा फिर्ता लिनूस्, तपाईंले जहाँ भन्नुहुन्छ त्यहीं सारिदिन्छु भन्नुभयो । त्यसैबेला सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्को गठन भयो । त्यतिबेला विभिन्न ६ वटा समितिहरु थिए । स्वास्थ्यपट्टि चाहिं अधिराजकुमारी प्रिन्सेप शाह हुनुहुन्थ्यो । उहाँ रेडक्रसको पनि सभापति हुनुहुन्थ्यो । उहाँचाहिं तत्कालीन राजा महेन्द्रको माहिलो भाई हिमालय विक्रम शाहकी श्रीमती हुनुहुन्थ्यो । नरशमशेर राणा र हेलेन शाहकी छोरी हुनुहुन्थ्यो । हेलेन शाहले मलाई स्वास्थ्य सेवा समन्वय समितिको पहिलो मेम्बर सेक्रेटरी बनाउनुभयो । मैले करिब त्यहाँ एक वर्ष काम गरें ।
० तपाईं लोकसेवा आयोगको सदस्य पनि हुनुभयो, कति वर्ष त्यहाँ सेवा गर्नुभयो ?
राजा वीरेन्द्रले मलाई लोकसेवा आयोगको सदस्यमा नियुक्त गर्नुभयो । दुई कार्यकाल गरी जम्मा १२ वर्ष मैले लोकसेवा आयोगको सदस्य भएर काम गरें । २०४७ मा नेपालको नयाँ संविधान बन्यो । त्यसमा उमेर हद राखिदियो । पहिले उमेर हद थिएन । जति पनि संवैधानिक अंगहरु थिए, सबैमा ६५ वर्षको उमेर हद राखिदियो । त्यसपछि उमेर हदका कारणले म त्यहाँबाट रिटायर्ड भएँ । रिटाडर्य भएको दश वर्षजति कुनै पनि सरकारी कार्यालयमा थिइनँ । करिब ८–१० वटा सामाजिक संस्थाहरुसँग आबद्ध भएर काम गरें । त्यसपछि त्यसै बसिराखेको थिएँ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला हुनुहुन्थ्यो, उहाँको पिएले राष्ट्रिय मानवअधिकारमा आउनुहुन्छ ? भनेर सोध्नुभयो । मैले भने– मलाई थाहा छैन, साथीहरुलाई सोधेर खबर गर्छु भनें । मैले रेडक्रसको अध्यक्षलाई पनि सोधें– मानव अधिकारमा जान सकिन्छ कि सकिंदैन ? रेडक्रस भनेको तटस्थ संस्था हो, गए हुन्छ भन्नुभयो । गिरिजाप्रसाद कोइरालाले आफैं फोन गर्नुभयो । मैले विचार गर्छु भन्दा गिरिजाप्रसाद कोइरालाले राष्ट्रिय मानवअधिकारमा आउनुप-यो, त्यसलाई ट्रयाकमा ल्याएर त्यसपछि छोडिदिए हुन्छ भन्नुभयो । २०५७ देखि २०६२ सम्म एक कार्यकाल राष्ट्रिय मानवअधिकार आयोगमा सदस्य भएँ । शुरु–शुरुकै अवस्थामा थियो राष्ट्रिय मानवअधिकार आयोग । नैनबहादुर खत्री त्यसको अध्यक्ष हुनुहुन्थ्यो । मानवअधिकार आयोगमा त्यसबेला केही पनि थिएन । आपूर्ति मन्त्रालय हरिहरभवनमा थियो त्यसबेला । त्यसैको एउटा कोठामा चाहिं हामीले राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बनायौं । चिया बनाउनेसम्म मान्छे थिएन । त्यसपछि आपूर्ति मन्त्रालय त्यहाँबाट स-यो । त्यसपछि हामीले ३–४ वटा कोठा भयो । त्यतिबेला युएनडीपीले सपोर्ट गरेको थियो बास्केट फण्डमार्फत् । त्यसपछि हामीले स्टाफहरुको पनि नियुक्ति ग-यौं । आवश्यक सबै पूर्वाधार निर्माण ग¥यौं । त्यसबेलामा माओवादीको द्वन्द्व बीचमा पुगेको थियो ।
० मानवअधिकार आयोगको सदस्य भएर चाहिं के–कस्ता कामहरु गर्नुभयो ?
माओवादी द्वन्द्वमा थुप्रै घटनाहरु भएका थिए त्यसबेला । त्यस्तैमध्येको एउटा दोरम्बा घटनामा पनि हामी पुग्यौं । आयोगले नै त्यसको इन्भेष्टिगेशन ग-यौं । हरिहरि वस्ती, कनकमणि दिक्षितलगायत त्यसमा हुनुहुन्थ्यो । आयोग त्यहाँ गएर उत्खनन् गरेर १८ जनाको लाश निकालेर पोष्टमार्टम गरेर सबै अध्ययन गरियो । त्यो बेलामा माओवादीका १९ जनाको एउटा कोठामा मिटिङ बसेको रहेछ, आर्मीले थाहा पाएपछि आक्रमण ग-यो । एकजना त्यहीं म-यो, बाँकी १८ जनालाई हात पछाडि बाँधेर पक्राउ गरेर लिएर गयो । एक घण्टासम्म हिंडाएर लगेपछि भिर रहेछ, त्यहाँ सुट गर्दै भिरबाट झार्दै गरेको रहेछ । दोरम्बा काण्ड धेरै चर्चित थियो त्यतिबेला । अरु ठाउँमा पनि हामी गयौं । रुकुमको खारा भन्ने ठाउँ थियो । त्यहाँ पनि डेकेन्द्र थापाको हत्या भएको ठाउँ, खोटाङलगायतका ठाउँहरुमा गयौं । त्यसपछि ज्ञानेन्द्र राजा भएपछि विभिन्न राजनीतिक नेताहरुलाई जेल पठाउनुभयो, कतिपयलाई घरमै नजरबन्द गराउनुभयो । वामदेव गौतमलगायतका नेताहरुलाई पुलिसको तालिम केन्द्रमा राखेको थियो । त्यहाँ पनि भेट्न गयौं । गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाललाई घरमै नजरबन्द गरिएको थियो । हामीले त्यहीं गएर भेट्यौं । खुमबहादुर खड्काको घरमा आगो लगाइदिएको थियो । त्यहाँ पनि हामी हेर्न गयौं । २०६२ सालमा त्यहाँबाट रिटायर्ड भएँ । त्यसपछि भने म धेरैजसो जेष्ठ नागरिकको लागि काम गरिरहेको छु ।
प्रकाशित समय २१:१२ बजे