1100×100 Nabil Advert

मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

म्याग्दी । मार्ग खुलेको १५ वर्षपछि म्याग्दीको मङ्गला गाउँपालिका-५ छिसवाङमा सडक स्तरोन्नति भएको छ । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी-दरबाङ सडकको बाबियाचौर-दरबाङ खण्डको वैकल्पिक मानिएको पोक-सेराफाँट-पीपलबोट-छिसवाङ-खोप्टी-छ्यारछ्यारे-दरबाङअन्तर्गत छिसवाङ खण्डमा स्तरोन्नति भएको हो ।

 

सङ्घीय सरकारले चालु आर्थिक वर्षमा रु तीन करोड बजेट विनियोजन गरेको योजना निर्माणका लागि सडक डिभिजन कार्यालय बागलुङसँग ठेक्का सम्झौता गरेको आचार्य-पदमदीप जेभीले लक्ष्यअघि नै काम सम्पन्न गरेको छ । निर्माण कम्पनीका प्रतिनिधि महेन्द्र आचार्यले गत माघ महिनादेखि सुरु भएको सडक स्तरोन्नति योजनाको म्याद आगामी असारसम्म भए पनि तीन महिनाअघि नै सम्पन्न गरेको बताउनुभयो । रु दुई करोड पाँच लाख ५५ हजारमा ठेक्का सम्झौता भएको थियो । खहरेदेखि छिसवाङ हँदै ओखोलासम्म एक किलोमिटर ५०० मिटर सडकलाई पक्की नालासहित नौ मिटर फराकिलो बनाएर ग्राभेल गरिएको छ ।

 

वि.सं= २०६७ मा मार्ग खुलेको सडक स्तरोन्नति भएपछि आवतजावतमा सहज भएको छिसवाङका दुर्गाबहादुर खत्रीले बताउनुभयो । मार्ग खुलेदेखि हालसम्म सामान्य मर्मतको भरमा तीनदेखि चार मिटर फराकिलो सडकमा एकतर्फी मात्र गाडी चल्ने गरेका थिए । सडक फराकिलो पार्न स्थानीयवासीले स्वःफूर्त रुपमा जग्गामा संरचना बनाउन दिएर सहयोग गरेका छन् ।

 

सडकबाट मङ्गलाको वडा नं ५ का साथै मालिकाको १ र २ का बासिन्दा लाभान्वित हुनुका साथै बेनी-दरबाङ सडकको बाबियाचौर-दरवाङ खण्डमा पहिरो लगायतका कारणले अवरुद्ध हुँदा वैकल्पिक रुपमा प्रयोग गर्न सकिने भएकाले रणनीतिक महत्व रहेको छ ।

 

यसअघिका दुई आर्थिक वर्षमा मङ्गला गाउँपालिकाले सेराफाँट क्षेत्रमा, गण्डकी प्रदेश सरकारले पीपलबोट खण्डमा र सङ्घीय सरकारले हिलवाङ-खहरेखोला क्षेत्रमा स्तरोन्नति गरेका छन् । जिल्लाको रणनीतिक महत्वको सडकको विकल्प भएकाले यो सडकलाई महत्व र प्राथमिकता दिइएको छ ।

 

हिलवाङ, ओखोला र अर्मनखोलामा मोटरेबल पुल निर्माण गरेमा यो सडकमा बाह्रै महिना नियमित यातायात सञ्चालन गर्न सकिने छिसवाङका बासिन्दा किशोर मल्लले बताउनुभयो । यसअघि सङ्घीय सरकारले खहरेखोलामा ‘कल्भर्ट’ बनाएको छ ।

प्रकाशित समय १२:२१ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु