नाफामात्र होइन समाजसेवा पनि हो लघुवित्त भनेको भनेर बुझाउन जरुरी छ (अन्तर्वार्ता)

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ– मीनबहादुर बोहरा । लामो समयदेखि लघुवित्तको क्षेत्रमा कार्य गरेर गरिब जनताको सेवामा समर्पित हुनुभएका बोहरा लघुवित्तले सेवा दिने भनेको नाफाका लागि मात्र होइन, समाज सेवाका लागि समेत हो भन्नुहुुन्छ । नेपालको लघुवित्तको शुरुवाती अवस्था, जनताको जीवनस्तर उकास्नमा खेलेको भूमिका, व्याजदरको अवस्था, सरकारले लघुवित्तप्रतिको क्षेत्रमा गरेको काम, मर्जर तथा एक्विजिशनको अवस्थालगायत विविध विषयमा क्रसचेक मासिकका प्रतिनिधिले प्रमुख कार्यकारी अधिकृत बोहरासँग गरेको कुराकानी ।
० नेपालको माइक्रोफाइनान्सको बारेमा बताइदिनुस् न ?
जतिबेला नेपालमा माइक्रोफाइनान्सको शुरुवात गरियो, नेपाल सरकार, सेन्ट्रल बैंकद्वारा शुरुवात गरिएको थियो । त्यो एउटा कठित परिस्थिति थियो । कस्तो किसिमको कठिन थियो भन्दाखेरी मान्छेलाई विनाधितो, कुनै किसिमको जमानी नराखेर पैसा चुक्ता हुन्छ त ? भन्ने कुरा थियो । बैंकहरूमा त धेरै मूल्यांकन भएको जग्गा धितो राखेर थोरै पैसा दिंदा त असुली नभएको अवस्था थियो भने त्यस्तो अवस्थामा विना धितो दिएको पैसा उठ्छ भन्नेचाहिं कन्फ्युज थियो । त्यसप्रकार राष्ट्र बैंकको पहलमा, खासगरी डा.हरिदेव पन्तको नाम आउनैपर्छ, खासगरेर उहाँको निरन्तर प्रयासबाट नेपालमा पनि माइक्रोफाइनान्सलाई स्थापित गराउनुभयो । यो कार्यक्रमलाई आज घर–घरमा पु¥याउन सकिएको छ । देशभरि पुगेको छ । आज ७७ वटै जिल्लामा यो कार्यक्रम छ । एकताका जुन मान्छेहरू, तप्काका व्यक्तिहरू माइक्रोफाइनान्सको काम छैन, माइक्रोफाइनान्सलाई लञ्च गर्नु हुँदैन, यसले गरिबलाई अप्ठ्यारो पार्छ, दुःख दिन्छ भन्ने खालको जुन समूह थियो, तीतो सत्य के हो भने आज माइक्रोफाइनान्स तिनीहरूकै हातमा गएको छ । किन गयो त उनीहरूको हातमा भन्दाखेरी माइक्रोफाइनान्सको शुरुवात भएको भनेको कुनै नाफा कमाउनका लागि होइन ।
० तर आज त नाफामुखी भएका छन् नि ?
हिजोका जो लघुवित्तका विरोधीहरू थिए, एन्टिगु्रप थिए, उनीहरूले लघुवित्तको नाफा हेरे । हाम्रो मेहेनत, लगानीकर्ताको मेहेनत, कर्मचारीको मेहेनत यी सबै कारणले स्थापित भयो त माइक्रोफाइनान्स । सँगसँगै सोच्दै–नसोचेको कुरा नाफा पनि आयो । स्थापित बैंकहरूले १० प्रतिशत, १५ प्रतिशत र २० प्रतिशत बडा मुश्किलले लाभांश दिइरहेको अवस्थामा माइक्रोफाइनान्सले त २० प्रतिशतभन्दा मुनि त कसैले पनि लाभांश दिएका छैनन् । जसका कारणले हिजो तिनै लघुवित्तका विरोधीहरू यतातर्फ आकर्षित भए । ए यो ठाउँमा नाफा त रैछ नि त भनेर उनीहरूको पूरै समूह इन्भेष्टरको हिसाबमा, व्यापारीको हिसाबमा आएका छन् । उनीहरू लघुवित्तको माध्यमबाट गरिब जनताको हित गर्छु भन्दा पनि यो क्षेत्रबाट ‘हाई रिटर्न’ आउँदोरैछ, यो क्षेत्रमा लगानी गर्नुपर्छ भनेर उहाँहरू आउनुभएको छ । म उहाँ लगानीकर्ताहरूलाई खासगरी के अनुरोध गर्न चाहन्छु भने लघुवित्त ‘सोसियल बिजनेश’ हो, यसलाई नाफा त चाहियो–चाहियो, कर्मचारीलाई तलब खुवाउन पनि नाफा चाहियो । यी सबै कुरा छन् । तर पनि अलिकति सेवामुखीचाहिं बनौं क्या ।
० लघुवित्तहरू ग्रामीण भेगका जनता उद्यमशील बनून्, जीविकोपार्जन सहज होस् भन्ने उद्देश्यले स्थापना भएका होइनन् र ? तपाईंको अनुभव बताइदिनुहोस् त खासगरी ग्रामीण भेगका स्थानीय जनताले लघुवित्तलाई कसरी बुझेका छन् ?
वास्तवमै भन्ने हो भने लघुवित्त भनेको यस्तो उज्यालो ज्वाला हो, जुन नेपालको लागि एकदमै महत्वपूर्ण छ । जसले मानिसको जीवनस्तर उकासेको, उद्यमशील बनाएको, उनीहरूको शिक्षा, स्वास्थ्य, चेतनास्तरमा पनि ‘अपगे्रड’ भएको देखिन्छ संसारभरि नै । हाम्रोजस्तो देशमा जहाँ बाटोघाटो, बिजुली बत्ती, स्कूल, स्वास्थ्य सुुविधा छैन, त्यस्तो ठाउँमा हामी लघुवित्त गएका छौं । लघुवित्त जानुको अर्थ के हो भने हामी त्यहाँ गइसकेपछि पैसाको माध्यमबाट गाउँका गरिब, निमुखा जनताहरू छन्, उहाँहरूलाई एकठाउँमा राख्छौं । त्यहाँ पैसा त माध्यम भयो, उहाँहरूलाई एकठाउँमा राखिसकेपछि हामीले उहाँहरूका धेरै कुराहरू थाहा पाउँछौं । स्वास्थ्यको अवस्था कस्तो छ, सामाजिक अवस्था कस्तो छ, शिक्षाको अवस्था कस्तो छ, बालबच्चाहरू स्कूल जान पाएका छन् कि छैनन्, ती सबै कुराहरू हामीले लघुवित्तको माध्यमबाट थाहा पाउँछौं । त्यही भएर लघुवित्तको कर्मचारीलाई कर्मचारी नभनेर एउटा सामाजिक कार्यकर्ता भन्ने गरिन्छ विदेशमा बुझ्ने मान्छेहरू । नेपालमा पनि त्यही भन्छन् । अहिले हामी कर्मचारी–कर्मचारी भन्छौैं, तर वास्तवमा सामाजिक कार्यकर्ता नै हो, नेपाल राष्ट्र बैंकको प्रतिनिधि हो, सरकारको प्रतिनिधि हो । राष्ट्र बैंक आफैं जान नसकेको कारणले, सरकार आफैं जान नसकेको कारणले लघुवित्तको माध्यमबाट गाउँ–गाउँमा गएको छ । हामी भनेको नेपाल राष्ट्र बैंकको प्रतिनिधित्व हो, नेपाल सरकारको प्रतिनिधित्व हो । मैले आफूले कर्मचारीहरूलाई कसरी ‘मोटिभेशन’ गर्छु भने हाम्री वर्ग ‘घ’ को भनेर आत्तिनु पर्दैन । हामी भनेको सेन्ट्रल बैंक हो, नेपाल सरकारको प्रतिनिधि हो, आफैं राष्ट्र बैंक आउन नसकेर हाम्रो सञ्चालक समितिले विश्वास ग¥यो, सिइओको विश्वास ग¥यो, सिइओको माध्यमबाट गाउँ–गाउँमा जाने हो । त्यसैले हामीचाहिं केन्द्रीय बैंकको प्रतिनिधि हौं भनेर भन्ने गर्दछौं ।
० अहिले लघुवित्त बढ्ने क्रममा पनि छन्, त्यसलाई राष्ट्र बैंकले पनि स्वीकारिसकेको छ, लघुवित्तलाई सहीरुपमा कसरी व्यवस्थापन गर्न सकिन्छ ?
राष्ट्र बैंकले त्यो गरोस् वा एक्सपर्टले भनून्, अहिलेको लघुवित्तहरू भनेका ‘हाइवे’ लघुवित्तहरू हुन्, अहिले बाटाघाटा पुगेका ठाउँहरूमा बढी लघुवित्तहरू जान थालेका छन् । एउटा मान्छेलाई १० वटा लघुवित्तले ऋण दिएका छन् । त्यो एउटा व्यक्ति त १० वटा व्यक्ति देखियो नि त ।
० त्यो त लघुवित्तहरू धेरै भएर त्यस्तो भएको होला नि, होइन र ?
लघुवित्त धेरै भएर होइन, मैले भनिसकें, अहिले लघुवित्त नाफाखोरहरूको हातमा गयो । नाफा कहाँ छ त भन्दाखेरि हाइवेमा छ नि त, व्यापार कहाँ छ भन्दाखेरि हाइवेमा छ नि । त्यो गाउँमा, त्यो कालिकोटको गाउँमा, त्यो बाजुराको गाउँमा, त्यो डोटीको गाउँमा, त्यो खोटाङको गाउँमा, त्यो ताप्लेजुङको गाउँमा, काभ्रेकै कुनै दुर्गम गाउँमा तिनीहरूले त पैसा दिंदैनन्, हामीले नै दिने हो । त्यहाँ त व्यापार चल्दैन नि । त्यहाँका ग्रामीण स्तरमा अति विकट ठाउँहरूमा रहेका विपन्न परिवारहरूलाई त हामीले लहै यो गाउँमा कुखुरा पाल्नुपर्छ, गाई पाल्नुपर्छ, भैंसी पाल्नुपर्छ भनेर विभिन्न तालिमहरू दिने, सिकाउने हो र लगानी गर्ने हो नि त, हामीले त समय दिनुप-यो । तर अहिलेका सिइओलाई, बोर्डधनीहरूलाई, कर्मचारीहरूलाई सबैलाई छिटो रिटर्न चाहियो । सबैलाई धेरै तलब खानु छ, धेरै रिटर्न लिनु छ । अहिलेका माइक्रोफाइनान्सहरूलाई तपाईं नाम भन्न चाहनुहुन्छ भने ‘हाइ–वे माइक्रोफाइनान्स’ भन्दा हुन्छ ।
० अब यिनीहरूलाई हाई–वेमा मात्र नभएर वास्तविक विपन्न वर्गसम्म र गाउँ–गाउँमा पु¥याउनचाहिं के गर्नुपर्छ ?
यसका लागि धैर्यता हुनुप-यो । गाउँ–गाउँमा लगानी गरेर कम्तिमा पाँच वर्षपछि मात्र बल्ल अलिअलि नाफा हुन्छ भन्ने ढंगले सोच राखेर काम गर्नुप¥यो । जब गाउँ–गाउँमा गएर पूर्वाधारहरू बनाएर राम्रोसँग ग्रामीण जनता, गरिब जनतामाथि लगानी गरेर अलि–अलि गर्दै अगाडि बढ्ने हो भने त्यो दीगो हुन्छ । अनिमात्र आफ्नै खुट्टामा उभिन सकिन्छ भन्ने हेतुले गएमा त्यो सफल हुन्छ । डा.हरिदेव पन्तले लघुवित्तबाट नाफा हुन्छ भनेर नेपालमा माइक्रोफाइनान्सको विकास गरेका होइनन् । आफ्नै उहाँको संस्था थियो निर्धन उत्थान बैंक, त्यो पनि उहाँले नाफा हुन्छ भनेर खोलेको संस्था होइन । काम गर्दागर्दै नाफा भयो त । जुन पुरानो संंस्थाहरूको नाफा देखे, आज तपाईंले कति मान्छेलाई सेवा दिनुभयो भनेर कसैले पनि प्रश्न गर्दैन । सबैले सोध्छन्– कति नाफा भयो, यो वर्ष कति नाफा हुन्छ भनेर मात्रै कुरा हुन्छ । मार्केटमा जानुभयो भने शेयर मार्केटमा जानुहोला कहिलेकाहीं, त्यहाँ बुझ्नुहोस्, त्यहाँ कसैले फलानो लघुवित्तले यति मान्छेलाई सेवा दियो, त्योमध्ये पनि सबैभन्दा अति विपन्नलाई यति दियो, त्यो भन्दा माथिल्लोलाई यति दियो र उनीहरूको जीवनस्तरमा एउटा नयाँ सुधार आयो भनेर कसैले सोध्दैन । अबचाहिं लघुवित्तले नेपाल राष्ट्र बैंकले खोलेको, एउटा विशेष ‘इम्प्याक्ट स्टडी’ गर्न जरुरी छ । यो नेपाल सरकार केन्द्रीय बैंकले गर्ने कुरा हो, अरुले गर्ने होइन । किनभने सेन्ट्रल बैैंकले गर्ने, निकाल्ने जुन एउटा डाटा हुन्छ, त्यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाले विश्वास गर्छ । त्यसो हुनाले हजुरहरूको माध्यमबाट म के भन्न चाहन्छु भने एउटा राम्रो ‘एक्सपर्ट टीम’ मिलाएर नेपालको कुना कुनामा पाँचौं–दशौं घण्टा उकाली–ओराली हिंडेर पनि त लगानी गरेका छन् नि लघुवित्तहरूले, त्यस्ता गरेका मानिसहरूको एउटा डाटा आओस्, उनीहरूले जीवनमा गरेका कुराहरूको कहानी आओस्, ‘सक्सेसफुल स्टोरी’ आओस् । एउटा त्यस्तो खालका ‘इम्प्याक्ट स्टडी’ हुन जरुरी छ । यो काम सबैले गर्न सक्दैन, नेपाल सरकार र नेपाल राष्ट्र बैंकले गर्ने हो । यदि यस्तो भइदियो भने हामीले के ग-यौं, के गरेनौं भनेर खुशी लाग्ने कुरा हुन सक्छ ।
० लघुवित्तको व्याज तिर्न नसकेर मानिसहरू समस्यामा परेको सुनिन्छ, वास्तवमा लघुवित्तको व्याज अलिक बढी नै हो ?
सरकारले, जुन राष्ट्र बैंकले प्लान गरेर बनाएको छ । अरु देशको तुलनामा यो महँगो होइन । जस्तो इण्डिया, बंगलादेश, भियतनाम, इण्डोनेशियाको दाँजोमा व्याज महँगो हुँदै होइन, तर हाम्रो देशको स्थितिलाई हेर्ने हो भने व्याज महँगो हो । किन भनेर भन्दाखेरी म त राष्ट्र बैंकलाई नै भन्छु, खासगरेर नेपाल सरकारले लघुवित्त खोल्ने भन्ने कुराको पोलिसी आयो । यसलाई जन्मायो । त्यसपछिको जिम्माचाहिं राष्ट्र बैंकले फण्ड दिनुप-यो नि त । हामीले कति काम गरेका छौं । त्यसकारण मैले इम्प्याक्ट स्टडी र सक्सेस स्टोरीहरूको कुरा गरेको हो । राष्ट्र बैंकले लगानी कसरी गर्ने त ? त्यसको आधार, डाटा त चाहियो नि सरकारको । सरकारलाई लघुवित्तले राम्रो ग¥यो कि गरेन भन्ने एउटा डाटा त चाहियो । तर नेपाल सरकारसँग यत्ति पैसा छ, नागरिक लगानी कोषसँग पैसा छ, नेपाल आर्मीसँग पैसा छ, कर्मचारी सञ्चय कोषसँग पैसा छ, नेपाल प्रहरीसँग पैसा छ । थुपै्र पैसा छ । खर्बाैं पैसा छ । उहाँहरूको देख्छौं हामी ठूल्ठूलो बैंकले टेण्डर गर्छ, त्यसैमा हाल्नुहुन्छ पैसा । वार्षिक ८–१० प्रतिशतमा बोलकबोल बढाबढ हुन्छ । त्यसको केही प्रतिशत दिनुहोस् न माइक्रोफाइनान्सलाई पैसा । १०–१२ प्रतिशत भन्दा बढी किन लिनु ? यदि गरिब मान्छेकै लागि नेपाल राष्ट्र बैंकले आत्मादेखि नै लागेको हो भने किन महँगो पार्ने ? यत्रो पैसा छ, पैसा आइडल बसिराखेको छ । न त उद्योगधन्दामा लगानी भएको छ, अलिअलि हाइड्रोपावरमा लगानी भइराखेको छ भन्नेचाहिं सुनिन्छ पत्रपत्रिकाबाट, अन्त कहीं लगानी भएको छ ? त्यो पैसा नेपाल सरकारले सिधै सेन्ट्रल बैंकलाई दिए के हुन्छ ? यो चाहिं १ खर्ब पैसा विशेषगरी माइक्रोफाइनान्सका लागि भनेर । त्यो पैसा यस्तो ठाउँमा लगानी हुनुप-यो, जसलाई पिछडिएको वर्ग भन्छौं, पीडित भन्छौं त्यहाँँ लगानी हुनुप-यो । अहिले भर्खरै ७ नम्बर प्रदेशको अर्थमन्त्रीले एक अर्बको एउटा प्रोजेक्ट शुरु गर्नुभएको छ । उहाँले त्यो प्रोजेक्ट ७ नम्बर प्रदेशका सम्पूर्ण लघुवित्त संस्थाहरूलाई त्यो पैसा दिने, त्यो एउटा लिमिट ३–४ प्रतिशत व्याजमा दिने कुरा गर्नुभएको छ, तर अहिलेसम्म औपचारिकरुपमा कार्यान्वयनमा त आइसकेको छैन, हामीले चाहिं ४–५ प्रतिशत स्पे्रडदरभन्दा बढी राख्न नपाइने भन्ने कुरा छ । यदि त्यो सफल भयो भने नेपाल सरकारलाई पनि पक्कै राम्रो हुन्छ होला जस्तो लाग्छ । नेपाल सरकारले आफूले जन्माएका छोराछोरीलाई साँच्चै बराबर माया गर्ने हो भने यत्रो ठूलो पैसा आइडल बसिराखेको छ, त्यो पैसालाई सिधै लघुवित्तलाई लोन दिने । अहिले हामीले बजारबाट उठाइरहेका छौं १२–१३ प्रतिशतमा, हाम्रो कर्मचारी खर्च आउँछ ४–५ प्रतिशत, अहिले हाम्रो लघुवित्तले बिजनेशमात्र गरेका छौं । नाफा केही पनि छैन । पुराना संस्थाहरू जुन छन्, तिनीहरूमा रिजर्भ कोष आदि कारणले नाफा अलि धेरैजस्तो देखिन्छ, अहिले लघुवित्त संस्थाले व्यापारमात्र गरेका छन् । एसोसिएसनहरू यत्रो छन्, तर लघुवित्तका कुरा तिनीहरूले नेपाल राष्ट्र बैंकसमक्ष पु¥याउन नसकेको पनि मैले अनुभूति गरेको छु । उनीहरूले केही पनि गर्न सकेनन् । सकेका भए त यस्तो हुने नै थिएन ।
० अहिले लघुवित्तहरूका लागि वास्तविक समस्याचाहिं के हो ?
मैले अघि नै भनिसकें ‘हाइवे लघुवित्त’, एउटै मान्छेले दशवटा संस्थाबाट ऋण लिएको छ । जसले गर्दा रिक्समा भयो–भयो, सुपरभिजन गर्दाखेरी बुटबल, पोखरा, काठमाडौं, नारायणगढजस्ता हाइवेहरूमा जाँदाखेरी एउटै मान्छेले धेरै ठाउँबाट पैसा लिएको देखिन्छ । जसले गर्दा डुप्लिकेसी भयो, सदस्यहरूलाई ओभरलोड भयो भन्ने फिलिङ गरेर नै अहिले लघुवित्तको संख्या घटाउन खोजेको होला । तर म भन्छु– हाइवेबाट ३ किलोमिटरमात्रै उकालो चढ्नुस्, त्यहाँ माइक्रोफाइनान्सको उपस्थिति छैन क्या । म स्याङ्जाकै कुरा गर्दैछु । स्याङ्जाको एउटा ठाउँ छ, जहाँ कुनै पनि माइक्रोफाइनान्सको उपस्थिति छैन, त्यो त सुगमै जिल्ला हो नि त । त्यहाँ त छैन भने पछि अन्त हुन सक्छ ? जबकि स्याङ्जामा २० वटाभन्दा बढी लघुवित्त संस्था छन् । अर्को कुरा हामीलाई कर्मचारीको रुपमा हेरियो, हामी भनेको त अभियन्ता हो नि त । हामी भनेको त पूर्खा बन्ने हो । ओनरसिप हुनुप¥यो, लगाव हुनुप¥यो, हाम्रो हातबाट गाउँ–गाउँमा मानिसहरूलाई पैसा दिनुपर्छ, पैसा दिएपछि उनीहरूले व्यापार गर्न पाउनुपर्छ । व्यापार गरेपछि उनीहरूको जीवनस्तर माथि उठ्छ । हामी अभियानकर्ता हो, हामी सामाजिक कार्यकर्ता हो भनेर हामी कर्मचारीले सोच्नुपर्छ । अनि बल्ल हुन्छ क्या लघुवित्तको प्रगति, जनताको उन्नति । १० बजे आउने ५ बजे जाने कर्मचारीबाट लघुवित्त चल्दैन ।
० मर्जर र एक्विजिशनको विषय पनि राष्ट्र बैंकबाट उठेको छ नि !
अहिले राष्ट्र बैंकको पोलिसी खासगरेर घटाउने, कम गर्ने भन्ने कुराहरू आएको छ । धेरै क, ख, ग र घ वर्गका वित्तीय संस्थाहरू धमाधम मर्जरको प्रक्रियामा जाने भएका छन् । यसमा खासगरी नेपाल राष्ट्र बैंकलाई नै सहज हुन्छ । किनभने राष्ट्र बैंकको सीमित जनशक्तिबाट थोरैवटा संस्थालाई सुपरभिजन गर्न पाउने हुन्छ । मैले देखेको एउटा पोजेटिभ कुराचाहिं त्यही हो । अहिले संस्था धेरै भयो, मोनिटरिङमा पनि समस्या हुनसक्छ । जनशक्ति धेरै लाग्छ मोनिटरिङमा । यदि पोजेटिभरुपमा हामी गयौं भने मर्जपछि क्यापिटलबेस ठूलो हुन्छ, काम गर्ने क्षमता ठूलो हुन्छ, लगानी गर्ने स्थिति मजबुत हुन्छ । सबै कुरामा राम्रो नै हुन्छ । हामीले परसम्म सोच्नुप¥यो । हामीले देश विकासको लागि गर्ने हो, मुलुकको लागि गर्ने हो, समृद्धिको लागि गर्ने हो भन्ने भावनाले मर्ज भयो भने राम्रो । म सिइओ हुन्छु कि, म सानो हुन्छु कि, फलानो चेयरम्यान हुन्छ कि भनेर सानोचित्त राख्ने हो भने मिल्नुभन्दा नमिल्नु राम्रो । तर मर्जमा गइसकेपछि एक विशेष खालको परिस्थिति आउँछ, फरक कल्चर हुनसक्छ, त्यसबाट सिक्न र सिकाउन सकिन्छ । त्यसो भएमा मर्ज भएकै राम्रो हुन्छ । तर मर्जको उद्देश्य नाफा कमाउनमात्रै हुनुभएन, समाजसेवाको भावना पनि हुनुप¥यो । तर अहिले धेरैजसो लघुवित्तहरू नाफाखोरको हातमा गएका छन् । तपाईंहरूले सर्भे गर्नुभयो भने ठ्याक्कै पत्ता लगाउन सक्नुहुन्छ । तर उहाँहरूलाई पनि हामीले बुझाउन सकेका छैनौं । उहाँहरूले नाफा–नाफामात्रै भनिरहनुभएको छ । नाफामात्र होइन, समाजसेवा पनि हो लघुवित्त भनेको भनेर बुझाउन जरुरी छ ।
प्रकाशित समय २१:२६ बजे