मेगा बैंकले शेयरधनीलाई ११.७५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना शेयरधनीलाई ११ दशमलव ७५ प्रतिशत नगद लाभांश दिने भएको छ । काठमाडौंमा आज सम्पन्न मेगा बैंकको नवौं बार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई ११.७५ प्रतिशत नगद लाभांश पारित गरेको हो । आर्थिक बर्ष २०७५/०७६ सम्मको सञ्चित मुनाफा तथा वितरणयोग्य अन्य कोषबाट हाल कायम चुक्ता पूँजी १० अर्ब ३८ करोड ८६ लाख २१ हजार ४ सय ५४ रुपैयाँको ११ दशमलव ७५ प्रतिशतले हुन आउने १ अर्ब २२ करोड ६ लाख ६३ हजार २० रुपैयाँ ८१ पैसालाई नगद लाभांश स्वरुप शेयरधनीलाई वितरणका लागि पारित गरेको अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए । साधारण सभामा अध्यक्ष शाहले प्रचलित ऐन तथा कानूनको अधिनमा रही वैदेशिक रणनीतिक साझेदारको पहिचान गर्ने सम्बन्धमा आवश्यक कार्य गर्नका लागि प्रस्ताव पेश गरेका थिए । सो सम्बन्धी प्रस्तावलाई पारित गर्दै साधारण सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । अध्यक्ष शाहले मेगा बैंकलाई देशकै अग्रणी र अलगै पहिचानसहितको बैंक बनाउने उद्देश्यले मर्जर तथा एक्विजिशनलाई पनि प्राथमिकता दिएको साधारण सभालाई जानकारी दिए ।
अध्यक्ष शाहले भने– ‘आफ्नो पूँजी तथा व्यवसायको आकारमा वृद्धि गर्दै उत्कृष्ट वाणिज्य बैंकको रुपमा स्थापित गर्ने उद्देश्यलाई बढावा दिन पोखरामा केन्द्रीय कार्यालय रही राष्ट्रियस्तरको ‘ख’ वर्गको वित्तीय संस्थाको रुपमा सञ्चालित गण्डकी विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्न असोज ८ गते समझदारीपत्रमा हस्ताक्षर गरी सैद्दान्तिक सहमति समेत गरिसकेका छौं । उक्त प्राप्ति प्रक्रियासम्बन्धी कार्यहरु सम्पन्न भएपश्चात स्वीकृतिको लागि साधारणसभामा प्रस्ताव पेश गरिनेछ ।’ अध्यक्ष शाहले थपे– ‘गण्डकी विकास बैंक प्राप्तिपश्चात मेगा बैंकको शाखा सञ्जाल देशव्यापीरुपमा २१० वटाभन्दा बढी हुन गई व्यवसायको आकारको आधारमा हालको १० ठूला वाणिज्य बैंक मध्येको बैंकको रुपमा मेगा बैंक स्थापित हुन सफल हुनेछ ।’ स्थापनाको एक दशक नबित्दै समकालिन बैंकहरुमा उत्कृष्ट बन्न सफल भएकोमा गौरवान्वित भएको अध्यक्ष शाहले बताए ।
साधारण सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले ग्राहकहरुको विश्वास जित्दै अघि बढ्न सफल भएकाले बैंकको सञ्जाल, व्यवसाय र मुनाफाको आकारमा उल्लेख्य प्रगति भएको बताइन् । स्थापनाकालदेखि नै गरिबीको रेखामुनि रहेका र मध्यमवर्गीय नेपालीहरुलाई प्राथमिकता दिंदै नवीनतम र अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आएको उनले स्पष्ट पारिन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा प्रतिष्ठित बैंकको छवि बनाउन सफल भएकै कारण बैंकले यस बर्ष साना तथा मझौला व्यवसाय र लघुवित्त कर्जा गरी दुई विधामा उत्कृष्ट बैंकको रुपमा अन्तर्राष्ट्रियस्तरको ‘एशिया मनी अवार्ड’ जित्न सफल भएको सिइओ खुञ्जेलीले बताइन् । बैंकको उपलब्धिका लागि सबै सरोकारवाला, संस्थापक, सर्वसाधारण शेयरधनी, नियमक निकाय र ग्राहकवर्गलाई उहाँले धन्यवाद दिनुभयो ।
गत आर्थिक बर्षमा २३ दशमलव ७१ प्रतिशत मुनाफा बृद्धि गर्न सफल भएको जानकारी दिंदै सिइओ खुञ्जेलीले मुनाफासँगै संस्थागत सामाजिक उत्तरदायित्वलाई पनि बैंकले उत्तिकै प्राथमिकता दिएको बताइन् । सोहीबमोजिम देशभरका प्रत्येक शाखाबाट एक–एक जना गरी १ सय २ जना असहाय छात्राहरु लगायत डोल्पा जिल्लास्थित उत्पीडित जनजाति समुदायको तर्फबाट एसईई परीक्षामा एक प्लस ग्रेड हासिल गर्न सफल विद्यार्थी छिरिङ दावा बुढामगरलाई उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गरी कक्षा १ देखि १२ सम्मको पठनपाठनका लागि शैक्षिक सामाग्री लगायत छात्रवृत्तिको व्यवस्था गरेको उनले जानकारी दिइन् । ‘छात्रवृत्ति अभियानबाट आर्थिक अभावमा बालिकाहरुले बीचमै पढाई छाड्नुपर्ने बाध्यताको अन्त्य हुने हामीले विश्वास लिएका छौँ । गरिब, असहाय बालिकाहरुको उज्जवल भविष्यका लागि यो छात्रवृत्ति महत्वपूर्ण सावित हुनेछ’ सिइओ खुञ्जेलीले भनिन् ।
मेगा बैंकका अहिले १११ वटा शाखा कार्यालय, २१ वटा एक्सटेन्सन काउण्टर, १११ वटा एटिएम मेसिन तथा ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु रहेका छन् । बैंकको आफ्नै विप्रेषण प्रविधि ‘मेगारेमिट’ को देशभर लगभग २५ सयभन्दा अधिक प्रतिनिधिहरु रहेका छन् भने अन्य आन्तरिक तथा अन्तर्राष्ट्रिय विपे्रषण सेवा सहकार्यको संख्या २१ पुगेको छ । बैंकले आप्mनो व्यावसायिक दायरा वृद्धि गर्न मर्चेन्ट बैंकिङ्ग व्यवसायको लागि बैंकको सहायक कम्पनी ‘मेगा क्यापिटल मार्केट्स् लिमिटेड’ले सञ्चालन अनुमति प्राप्त गरी २०७६ बैशाखबाट कारोबार सञ्चालन गरिसकेको छ । यसका अलवा धितोपत्र व्यवसायी÷शेयर दलालको कार्य गर्न बैंकको शत प्रतिशत स्वामित्व रहने गरी ‘मेगा स्टक मार्केटस् लिमिटेड’ को नाममा सहायक कम्पनी दर्ता भई सञ्चालन अनुमतिको प्रक्रियामा रहेको छ ।
मेगा बैंकले बैंकको आन्तरिक जीवनलाई मजबुत एवं सहयोगात्मक र भरपर्दो बनाउन मेगा बैंकका कर्मचारीका लागि आफ्नै ‘मेगा लर्निङ, रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर’ सुरुवात गरेको छ । यसका साथै, ग्राहकको चाहना र आधुनिक प्रविधिलाई मध्यनजर राख्दै अत्याधुनिक डिजिटल सूचना प्रविधि प्रणाली संचालनमा ल्याएको मेगा बैंकले जनाएको छ । जसले कारोबार सुरक्षित हुनुका साथै ग्राहकमैत्री सेवा विस्तार गर्न मद्दत पुग्ने बैंकको विश्वास छ ।
प्रकाशित समय १८:४१ बजे